बागलुङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । पौडेल खुल्लातर्फको महाधिवेशन प्रतिनिधि भएका हुन् ।
पौडेल पछिल्लो दुई दशक कांग्रेस सभापति थापाको राजनीतिक तथा नीतिगत टिमको नेतृत्वमा रहेर काम गर्दै आएका छन् । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनका लागि गठन गरेको केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिमा पनि पौडेल सदस्य–सचिवको जिम्मेवारीमा छन् ।
लामो समयदेखि सार्वजनिक नीति विश्लेषण तथा राजनीतिक गतिविधिमा सक्रिय रहेका उनी बागलुङको कांग्रेसको स्थानीय संगठनात्मक आधारसँग पनि जोडिँदै आएका छन् । अंग्रेजी साहित्य, राजनीतिक शास्त्र र कानुनमा स्नातककोत्तर गरेका पौडेलले थापासँग विभिन्न पुस्तकको सह–लेखनसमेत गरेका छन् ।
बागलुङ नगरपालिका–१३ पैयुँपाटाका पौडलले स्कुले जीवनबाट नै राजनीति सुरु गरेका थिए । धौलागिरी बहुमुखी क्याम्पस बागलुङको नेतृत्वदायी भूमिका, नेपाल विद्यार्थी संघ बागलुङको जिल्ला सचिवदेखि त्रिभुवन विश्व विद्यालयमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए ।
पौडेल नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र पूर्णबहादुर खड्काले नीति प्रतिष्ठानको नेतृत्व लिँदा पौडेलले प्रतिष्ठानको सदस्यको जिम्मेवारीमा थिए भने हाल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रमुख राजनीतिक सल्लाहकार र १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिको सदस्य सचिवको रूपमा समेत रहेका छन् ।