• २०८३ मंसिर १४, आईतवार
  • 2026 November 29, Sunday

वंशजको नागरिकता निरन्तरता दिन ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अभियान बागलुङबाट शुरु

  • २०८३ मंसिर १३, शनिबार

बागलुङ । एनआरएनएको हैसियतमा विदेशमा बस्दै आएका नेपालीहरुले नेपालमा फर्कने बातावरण सृजना  गर्न सरकारलाई दवाव दिन थालेका छन् । विदेशमा रहेका नेपालीले बाध्यतावश विदेशी नागरिकता लिए पनि वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने मागसहित बागलुङ कालिका मन्दिरबाट ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अभियान सुरु गरिएको छ ।

वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न अवसरका लागि विदेश पुगेका नेपालीको नागरिकता र अधिकार सुनिश्चित गर्न देशव्यापी अभियान सञ्चालन गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । अभियानमार्फत नागरिकताको विषयमा राष्ट्रिय बहस सिर्जना गर्ने, संसद्मा आवाज उठाउने र आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिने लक्ष्य रहेको अभियन्ता उज्ज्वल खड्काले बताउनुभयो ।

बागलुङ बजार निवासी अमेरिकामा बस्दै आउनुभएका खड्काले विदेशमा रहे पनि आफूहरू नेपाली नै भएको उल्लेख गर्दै वंशजको नागरिकता निरन्तर कायम राख्नुपर्ने बताउनुभयो । राज्यले प्रदान गर्ने गैरआवासीय नेपाली नागरिकताले अधिकारको सुनिश्चितता गर्न नसकेको र विभेदको अनुभूति गराएको उहाँको भनाइ छ ।

“अध्ययन, रोजगारी र अवसरको खोजीमा विदेश पुगे पनि हामी नेपाली नै हौँ । हाम्रो ज्ञान, सीप र पुँजी नेपालमा परिचालन गर्न तयार छौँ । तर आफ्नै देशमा गैरआवासीयको परिचय पाउँदा दुःख लाग्छ”, उहाँले भन्नुभयो, “नेपाल आमाका सन्तानलाई वंशजका आधारमा प्राप्त नागरिकताको निरन्तरता हुनुपर्छ, त्यही आवाज बुलन्द गर्न पवित्र कालिका मन्दिरको आगनमा आएका छौं ।”

अभियानलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्का र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कालगायतले समर्थन जनाउनुभएको छ । सांसद खड्काले नागरिकता ऐनमा रहेका विभेदकारी व्यवस्थालाई संशोधन गर्नुपर्ने बताउँदै यस विषयलाई संसद्मा समेत उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालमा पर्याप्त अवसर नपाएर विदेशिएका र बाध्यताले विदेशी नागरिकता लिएका नेपालीलाई स्वदेश फर्केर काम गर्ने तथा सामाजिक सेवामा योगदान गर्ने वातावरण राज्यले बनाउनुपर्ने उहाँको भनाइ थियो । रास्वपाले निर्वाचन घोषणापत्रमा समेत ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणा समेटेको उहाँले बताउनुभयो ।

अभियानका क्रममा विदेशमा रहेका नेपालीका समस्या, नागरिकताको निरन्तरता र राज्यले प्रदान गर्नुपर्ने अधिकारका विषयमा सरोकारवालाबीच अन्तरक्रियासमेत गरिएको थियो । अभियानमा बेलायत तथा भारतका भूतपूर्व सैनिक र विभिन्न देशमा काम गरेर फर्किएका नेपालीलाई समेत सहभागी गराउने प्रयास गरिएको छ । बागलुङ र म्याग्दीलगायत धौलागिरि क्षेत्रबाट ठूलो सङ्ख्यामा नेपाली रोजगारी तथा अध्ययनका लागि विदेशिएका छन् । विदेशमा रहे पनि नेपालसँगको सम्बन्ध कायम राख्न र स्वदेशको विकासमा योगदान गर्न चाहने नेपालीलाई राज्यले अवसर दिनुपर्ने उनीहरूको माग छ ।

गैरआवासीय नेपाली नागरिकताले नेपाल र विदेश दुवैतर्फ अपेक्षित अधिकार तथा सहजता प्रदान गर्न नसकेको भन्दै वंशजको नागरिकता कायम राख्नुपर्ने माग उठाइएको अभियन्ता खड्काले बताउनुभयो । अभियन्ताहरूले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई मुलुकको विकासमा उपयोग गर्ने वातावरण बनाउन तथा नागरिकताको विषयमा समानता र अधिकार सुनिश्चित हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

  • २०८३ मंसिर १३, शनिबार