• २०८३ मंसिर १४, आईतवार
  • 2026 November 29, Sunday

संविधानको स्वास्थ्य अधिकार बजेट अभावको बहानामा कुण्ठित नहोस्

  • २०८३ मंसिर १४, आईतवार

सम्पादकीय। संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरेको एक दशक बितिसकेको छ । तर संविधानमा लेखिएको अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकारले नै आर्थिक स्रोत अभाव देखाउनु विडम्बनापूर्ण छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अध्ययनले २२४ प्रकारका आधारभूत स्वास्थ्य सेवा नागरिकको पहुँचमा पु¥याउन वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने तर अहिले २२ अर्ब ४० करोड रुपैयाँ मात्रै खर्च भइरहेको देखाएको छ । यसले संविधानको व्यवस्था र नागरिकले पाइरहेको स्वास्थ्य सेवाबीच ठूलो खाडल रहेको स्पष्ट पारेको छ । स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता मात्र होइन, राज्यले सुनिश्चित गरेको मौलिक अधिकार पनि हो । नागरिकले बिरामी पर्दा उपचार पाउने कि नपाउने भन्ने कुरा उसको आर्थिक अवस्थाले निर्धारण गर्ने अवस्था अन्त्य गर्नकै लागि संविधानले निःशुल्क आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गरेको हो । तर अहिले पनि सामान्य उपचार, औषधि र परीक्षणका लागि नागरिकले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने बाध्यता छ । सरकारी अस्पतालमा औषधी अभाव, स्वास्थ्यकर्मीको कमी, उपकरणको अभाव र सेवाको कमजोर गुणस्तरका कारण विपन्न नागरिक थप समस्यामा छन् ।

सरकारले २२४ वटा आधारभूत स्वास्थ्य सेवालाई तीन प्राथमिकता समूहमा विभाजन गरी चरणबद्ध कार्यान्वयन गर्ने प्रस्ताव अघि सारेको छ । उपलब्ध स्रोतको सीमाभित्र पहिलो चरणमा १३१ सेवा लागू गर्ने, थप बजेट उपलब्ध भएपछि ८२ सेवा समेट्ने र ११ सेवा तत्कालका लागि थाती राख्ने प्रस्ताव आफैँमा स्रोत व्यवस्थापनको व्यावहारिक प्रयास हुन सक्छ । तर प्राथमिकता निर्धारण गर्ने नाममा नागरिकको संविधानप्रदत्त अधिकारलाई अनिश्चितकालसम्म पछाडि धकेल्न भने मिल्दैन । कुन सेवा तत्काल आवश्यक छ र कुन सेवा विस्तारै थप्न सकिन्छ भन्ने निर्णय गर्दा नागरिकको जीवन, स्वास्थ्य र समान पहुँचलाई केन्द्रमा राख्नुपर्छ । स्वास्थ्य क्षेत्रमा बजेट अभाव छ भन्ने सरकारको तर्कलाई पूर्णतः अस्वीकार गर्न सकिँदैन । तर बजेट छैन भन्नुअघि राज्यले आफ्नो प्राथमिकता र खर्चको संरचनामाथि पनि समीक्षा गर्नुपर्छ । अनुत्पादक खर्च नियन्त्रण, स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटको प्रभावकारी उपयोग, सुर्तीजन्य पदार्थ र मदिरामा स्वास्थ्य कर वृद्धि तथा आन्तरिक राजस्वको उचित परिचालनबाट थप स्रोत जुटाउन सकिन्छ । स्वास्थ्य बीमा, निःशुल्क स्वास्थ्य कार्यक्रम र आधारभूत स्वास्थ्य सेवाबीच देखिएको दोहोरोपन हटाएर उपलब्ध स्रोतको सदुपयोग गर्न पनि आवश्यक छ ।

स्वास्थ्य सेवाको जिम्मेवारी संघीय सरकारको मात्र होइन । प्रदेश र स्थानीय तहले पनि आफ्नो बजेटमा आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त रकम छुट्याउनुपर्छ । विशेषगरी ग्रामीण क्षेत्र, दुर्गम बस्ती र आर्थिक रूपमा कमजोर समुदायका नागरिकले सहज रूपमा सेवा पाउने व्यवस्था हुनुपर्छ । स्वास्थ्य चौकीमा आवश्यक औषधि, दक्ष जनशक्ति र उपकरण उपलब्ध नहुँदासम्म निःशुल्क सेवाको घोषणा कागजमै सीमित हुन्छ । त्यसैले बजेट विनियोजनसँगै कार्यान्वयन, अनुगमन र जवाफदेहितालाई पनि प्रभावकारी बनाउनुपर्छ । नेपालमा सडक, भवन र अन्य भौतिक पूर्वाधार निर्माणलाई विकासको प्रमुख सूचक मान्ने प्रवृत्ति छ । तर स्वस्थ नागरिकबिना समृद्ध समाज निर्माण सम्भव छैन । बिरामी हुँदा उपचारका लागि घरखेत बेच्नुपर्ने र ऋण लिनुपर्ने अवस्थाको अन्त्य गर्नु पनि विकासकै महत्वपूर्ण आधार हो । त्यसैले सरकारले स्वास्थ्यलाई खर्चको विषय होइन, मानव पुँजी निर्माण र दीर्घकालीन राष्ट्रिय लगानीका रूपमा बुझ्नुपर्छ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्न स्रोतको आवश्यकता पर्छ भन्ने सत्य हो । तर स्रोत अभावलाई अधिकार कार्यान्वयन नगर्ने स्थायी बहाना बनाउन मिल्दैन । सरकारले तत्काल उपलब्ध स्रोतबाट प्राथमिक सेवाको प्रभावकारी कार्यान्वयन गर्दै निश्चित समयसीमा र वित्तीय योजनासहित सबै आधारभूत सेवा विस्तार गर्नुपर्छ । नागरिकको स्वास्थ्य अधिकार बजेटको प्राथमिकतामा पर्नुपर्छ, बजेटको सीमिततामा हराउनु हुँदैन ।

  • २०८३ मंसिर १४, आईतवार