• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

ढोरपाटन जाने पर्यटकलाई हिलाम्मे सडकले सास्ती

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नु परेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको एक दशक बिति सक्दा पनि स्तरोन्नति हुन नसक्दा पर्यटक र स्थानीयले सास्ती खेप्नु परेको हो । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ ।

साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न हम्मेहम्मे हुने गरेको छ । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेका छन् । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन भएको छ ।

तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहज रुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेकबेसी गर्न सकस पर्ने गरेको छ । ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताउनुभयो । पछिल्लो समय ढोरपाटन आउने पर्यटकको संख्या बढ्दै गएको भन्दै सडकको दुरावस्थाका कारण सास्ती खेप्नु परेको उहाँको भनाइ छ ।

अध्यक्ष घर्ती मगरले भन्नुभयो – “यो सडकका कारण यस क्षेत्रका हजारौँ नागरिक र आगन्तुकले दुःख पाउनु परेकोछ, निर्माण कम्पनीले समयमै काम गरि दिएको भए अहिलेसम्म सकिने थियो, हामीहरुले बारम्बार काम गर्नका लागि आग्रह ग¥यौँ तर कार्यान्वन गरेन, अहिले नयाँ ठेकेदारले काम गर्ने भन्ने छ, सरासर काम भयो भने सडक राम्रो बन्ने छ ।”

स्थानीय धिरबहादुर विकले दैनिक जसो ढोरपाटन र बोबाङ आउजाउ गर्ने भन्दै सडकका कारण यात्रा निकै कष्टकर हुने गरेको बताउनुभयो । धेरै पर्यटकहरु गाडी लिएर आउने तर बीच सडकमै हिलोमा भासिदा अलपत्र पर्ने गरेको उहाँको भनाइ छ । हिउँदमा जासोतसो गाडी गुड्ने भए पनि बर्खाको समयमा धेरै गाह्रो हुने उहाँको भनाइ छ ।

नवलपुरबाट ढोरपाटन घुम्न आउनु भएका तुफान सापकोटाले फल्लेघरभन्दा तल पट्टीको सडकमा गाडी बिग्रिदा दुई दिन अलपत्र परेको गुनासो पोख्नुभयो । समाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्बिर र भिडियो देखेर घुम्न आएको सुनाउँदै सडकका कारण दुःख पाएको उहाँको भनाइ छ ।

“ढोरपाटन यति सुन्दर छ, तर यहाँसम्म आउने सडकको अवस्था निकै खबरा रहेछ, हामीहरु यहाँको सुन्दरता देखेर आएका थियौँ, यस्तो सडक छ भन्ने थाहा पाएको भए आउने थिएनौँ,” उहाँले भन्नुभयो – “राज्यकै उदासिनताका कारण त होला यो सडकको हालत यस्तो भएको, पर्यटकहरु धेरै आउँदा रहेछन्, सायद उनीहरुले पनि यस्तो सडक छ भन्ने थाहा नपाएर होला ।”

वि.सं. २०७१ सालमा बागलुङ खण्डमा यस सडकको ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलो मिटर सडक पर्छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । वि.सं. २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि चार वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो ।