बागलुङ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार बजार झारी रहेका छन् । १० दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पु¥याउने गरेका छन् । मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरि बजार पु¥याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरु भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन् ।
हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधिय गुण हुने हुँदा धेरैको रोजाईमा पर्ने गरेको छ । मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्याङ्ग्राको मूल्य चितवन र बुटवलसम्म पु¥याउँदा बढी हुने गरेको व्यापारी बताउँछन् । व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले बताउनुभयो ।
तीन दिन हिँडेर बागलुङ आइपुग्नु भएका गुरुङले पोखरासम्म पुगेर फर्किने बताउनुभयो । ३०० च्याङ्ग्रा लिएर आउनु भएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाउनुभयो । आफूहरुले उत्पादन गरेको च्याङ्ग्रा खरिदका लागि पोखरा र काठमाडौँबाट व्यापारीहरु गोठमै पुगेर खरिद गर्ने उहाँको भनाइ छ । हिमाली गोठबाट खरिद गरेको च्याङ्ग्रा तराईसम्म पुग्ने गरेको गुरुङ बताउनुहुन्छ ।
“भदौ महिना मै व्यापारीहरु गोठमा पुगेर खरिद गर्छन्, कतिले त अघिल्लो वर्षनै बैना दिएर आएका हुन्छ, उनीहरुले गोठमा सस्तोमै पाउँछन्, बजार पु¥याउँदा महङ्गो पर्छ, किनकी गाडीमा ढुवानी गरेर भाडा तिर्नु पर्छ, बाटोमा हिडाउँदै लिए पनि खर्च धेरै हुन्छ,” उहाँले भन्नुभयो – “सहर बजारका मान्छेले हिमाली च्याङ्ग्रा खुब मन पराउँदा रैछन्, दसँैमा त ठूलो संख्यामा च्याङ्ग्रा बिक्री हुन्छ, पाल्न सके त राम्रो आम्दानी गर्न सकिन्छ, तर धेरै दुःख छ ।”
च्याङ्ग्राले हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाने हुँदा धेरैले महङ्गो रकम तिरेर किन्ने गर्छन् । पाँच वर्ष पुगेका च्याङ्ग्रा मासुका लागि राम्रो मानिने डोल्पाका किसान थमसिंह बुढाले बताउनुभयो । १७ दिनको यात्रा गरेर बागलुङ आइपुगेको बताउने बुढाले आफ्नो मुख्य आम्दानीको स्रोत च्याङ्ग्रा व्यापार भएको बताउनुभयो । च्याङ्ग्रा व्यापारबाट ९ जनाको परिवार चलाएको उहाँको भनाइ छ । च्याङ्ग्रा हिउँ बढी हुने क्षेत्रमा पालन हुने भन्दै हिउँ चितुवा र ब्वाँसोबाट जोगाउन मुस्किल हुने बुढा बताउनुहुन्छ ।
आफूले आठ वर्षदेखि निरन्तर दसैँमा च्याङ्ग्रा लिएर बजार झर्ने गरेको सुनाउँदै वर्षेनी मूल्य बढ्दै गएको उहाँको भनाइ छ । आफूले सुरुमा रु १२ हजारदेखि बिक्री गर्न सुरु गरेको भन्दै अहिले च्याङ्ग्राको मूल्य करिब रु ५० हजारसम्म पुगेको बुढा मगरले बताउनुभयो । चितवन र बुटवलसम्म पुग्दा मूल्य अझै बढी हुने उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “जति टाढा पु¥याइन्छ, च्याङ्ग्राको मूल्य बढ्नु स्वभाविक हो, ट्रकमा ढुवानी गर्दा भाडा तिर्नु पर्छ, हिडाउदै लैजादा पनि गाह्रो हुन्छ, अघिल्लो वर्ष बुटवल पुगेको थिए, यसपाली पोखराबाट फर्किने योजना छ, हरके वर्ष मूल्य बढेको बढेछ, बाहिरी व्यापारीले गर्दा च्याङ्ग्राको मूल्य बढेको हो, गोठालालेनै ल्याउने हो भने त्यत्ति धेरै पर्ने थिएन ।”
मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग देशका ठूला सहरमा च्याङ्ग्रा भित्रिने गरेका छन् । तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेका छन् । दसैँको खर्च जोहो गर्नका लागि यो सिजनमा बजार झरेको च्याङ्ग्रा व्यापारी मोहन लामाले बताउनुभयो । आफूले १५ वर्षदेखि चितवन, पोखरा र काठमाडौँमा च्याङ्ग्रा व्यापार गर्दै आएको सुनाउनुभयो ।
च्याङ्ग्रासँगै बागलुङका किसानले पनि भेडा बिक्री गर्न बजार झरेका छन् । जिल्लाको तमानखोला, ढोरपाटन, निसीखोलाको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडापालनमा आवद्ध छन् । उनीहरुले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पु¥याउने गर्छन् ।
