• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

च्याङ्ग्रा व्यापारीको दुःख : दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

बागलुङ । अघि अघि एक सय संख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प झिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिड्दै गर्नु भएका लोकबहादुर रोकाया सोमबार साँझा मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको बडिगाडमा भेटिनुभयो । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट तीन सय च्याङ्ग्रा लिएर आउनु भएको थियो ।

२०० च्याङ्ग्रा बडिगाड आउँदासम्म विक्री भइसकेका थिए भने बाँकी एक सय सस्तो मूल्यमा दिने ‘मूड’मा रोकाया हुनुहुन्थ्यो । मंगलबारसम्म सबै च्याङ्ग्रा विक्री गरेर घर फर्किने योजनामा उहाँ हुनुहुन्थ्यो । तर विक्री नहुँदा उहाँ निरा हुनुहुन्थ्यो । रोकायाले दसैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन । उहाँ १५ वर्षदेखि यही पेसा गर्दै आउनु भएको हो । तर बागलुङमा भने उहाँको पहिलो यात्रा हो ।

डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आउनु भएका रोकाया पहिले दाङ तिर जाने गरेको बताउनुभयो । यसपाली पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाको भनाइ छ । विक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उहाँ बताउनुहुन्छ । बजार झर्न केही ढिला हुँदा घर खर्कन हतार भई सकेको रोकायाले सुनाउनभयो ।

“दसैँको बेला सहर बजारमा बस्ने मान्छेहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको विक्री भएपछि बालबच्चाहरुलाई एक जोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु प¥यो, अरु के गर्ने ?” उहाँले भन्नुभयो – “डोल्पाबाट यहाँ आउँन सजिलो छैन, तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा विक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र ?

उहाँका साथमा अर्का एक जना तिलमबहादुर खत्री पनि हुनुहुन्थ्यो । दुई जनाले साझेदारीमा डेढ÷डेढ सय च्याङ्ग्रा लिएर आउनु भएको हो । दसैँका बेला च्याङ्ग्रा बेचेर कमाएको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताउनुभयो । डोल्पादेखि बागलुङसम्म आउँदा कैयन चुनौती झेल्नु परेको उहाँले सुनाउनुभयो । अहिले मध्यपहाडी लोकमार्गले बागलुङसम्मको यात्रालाई सहज बनाई दिएको हुँदा पहिलो पटक यहाँ आएको उहाँको भनाइ छ ।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि रु ४५ हजार हरेको खत्री जानकारी दिनुभयो । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४० हजारमा दिने गरेको उहाँ बताउनुहुन्छ । यो मूल्य अघिल्लो वर्षको भन्दा रु चार हजारले कम भएको खत्रीले बताउनुभयो ।
कर्मा भन्नुहुन्छ – “च्याङ्ग्रा उत्पादन गर्न गाह्रो छ, विक्री गर्न पनिख उस्तै गाह्रो, बागलुङसम्म ल्याउँदा हाम्रोनै कति खर्च भएको हुन्छ, पोहोर सालको दसैँमा ४५/५० हजार भन्थे अहिले ३०/४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरुले उच्च ठाउँमै पुगेर ल्याउने गरेका छौँ, ग्राहक जति खुसी हुनुहुन्छ, हामीहरुलाई त्यति नै सन्तुष्टि मिल्छ, बाँकी रहेका च्याङ्ग्रा फर्काउने कुरा भएन, सस्तोमै दिएर फर्किनु पर्ने भयो ।”

दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । गोठमा समस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौँ, पोखरासहित देशका ठूलो सहरमा पु¥याएर हजारौँ नाफा कमाउने गर्दछन् । मुस्ताङसहित डोल्पा, मुगु, हुम्ला लागयतका ठाउँबाट दसैँका बेला बागलुङमा भेडा च्याङ्ग्रा लिएर सयौँ व्यापारीहरु आउने गर्छन् । बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरहरुमा पनि पुग्ने गरेका छन् ।