• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

सम्पादकीय : पारिवारिक विघटन र अपराधको भय

जति–जति समय र समाज गतिशील दिशा तर्फ उन्मुख भइरहेको छ, उति–उति नयाँ–नयाँ समस्या, अपराधका आयामहरु पनि देखा परिरहेको छ । पहिलेको तुलनामा सामाजिक चेतना मात्र होइन, आर्थिक समृद्धि, भौतिक विकासहरु पनि तीब्रतर गतिमा अघि बढिरहेको छ । तर, बिडम्बना भन्नुपर्छ, नेपाली समाजमा समयक्रमसँगै नयाँ खालका डरलाग्दा समस्या देखिन थालेका छन् । पछिल्ला दुई वर्षमा मात्रै आफ्नै श्रीमानबाटै १५९ महिला मारिएका छन् । उसो त श्रीमतीबाट पनि २८ पुरुषको ज्यान गएको छ । यति मात्रै होइन, निकटका आफन्तबाटै ज्यानै लिने अपराध घटनाहरु पनि थुप्रै देखिएका छन् । जसले समाजमा असुरक्षित र भयको अवस्था पैदा गराइरहेको छ ।

आपसी सम्बन्धमा निम्तिएको बेमेलबिच भएका कहाली लाग्दा हत्याका घटनाको प्रहरी तथ्यांक हेर्दा झस्काउने खालको छ । ०८०÷८१ मा आफन्तबाटै २४१ जना मारिएकामा श्रीमान्बाटै मारिने महिला ९० जना छन् । सोही वर्ष १२ पुरुष श्रीमतीबाट मारिएको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०८१÷८२ मा आफन्तबाटै २०७ जनाको हत्या हुँदा श्रीमान्बाट ६९ महिला मारिएका छन् । सोही वर्ष १६ पुरुष श्रीमतीबाट मारिएका छन् । कुटपिट, घरेलु हिंसाजस्ता घटनाबाट जोगिन तथा अन्य कारणले महिलाले छुट्टै बस्ने वा सम्बन्धविच्छेद गर्ने विकल्प रोज्ने क्रम बढ्न थालेको छ । यस्तो अवस्थामा श्रीमान्कै निसानामा महिलाहरू पर्ने गरेका छन् । गत ५ असोजमा काभ्रेको पनौती–१२ गागलकी ३० वर्षीया मनीषा घ्यावा तामाङ हराएको केही दिनमा शव भेटियो । थप अनुसन्धान गर्दा मनीषाको हत्या उनकै श्रीमान् सन्तबहादुर तामाङले गरेको रहस्य खुल्यो । सन्तबहादुर तिनै पात्र हुन्, जो गाउँकै महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा नक्खु कारागारमा कैद भुक्तान गर्दै आएका थियो । उनी जेन–जी आन्दोलनका क्रममा भागेर घर पुगेका थिए । श्रीमती परपुरुषसँग लागेको आशंकामा हत्या गरेको उनले बताएका छन् । अर्को गत २९ साउनमा २७ वर्षीया ललिता विक गोंगबुको एक होटेलको खाटमा मृत भेटिएको विषयमा अनुसन्धान गर्दा हत्या आरोपमा पर्साबाट १ भदौमा पक्राउ उनका श्रीमान् काभ्रे घर भएका ३० वर्षीय सन्तोष सेञ्चुरी पक्राउ परे । दुवैबिच सम्बन्ध नराम्रो भएकाले छुट्टाछुट्टै बस्दै आएका उनीहरु औपचारिक रूपमा सम्बन्धविच्छेद गर्ने विषयमा छलफल गर्न भन्दै बोलाएर सन्तोषले ललिताको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गत १४ जेठमा बुटवल उपमहानगरपालिका–११, मैत्रीपथमा ३३ वर्षीया दीपा बस्यालसहित दुई छोरीहरू सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भयो । हत्या आरोपमा दीपाका पूर्वश्रीमान् सुरज कोइराला जो यसअघि पनि आफ्नै दाइको हत्या अभियोगमा जेल सजाय भोगेकामा ०८१ असोजमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए । यी त प्रतिनिधि घटना भए, जसले यो समाज र देश कुन दिशा तर्फ गइरहेको छ भन्ने गम्भीर संकेत गरिरहेको छ ।

श्रीमान् श्रीमती जीवन बिताउने महत्वपूर्ण सम्बन्ध भएकोमा दुई मत छैन । पहिले–पहिले जस्तो चरम दमन सहेर पनि सम्बन्ध जोगाइराख्नु पर्छ भन्ने अहिले छैन । उसो त मन नमिल्दा श्रीमान्–श्रीमती अलग हुन पाउने अधिकार कानुनले नै दिएको छ । तर, मन नमिल्दा अलग हुने प्रक्रियामा वा अलग भइसके पछि पनि ज्यानै लिने जस्तो जघन्य अपराधका घटना नेपाली समाजमा बढ्नु दुर्भाग्यपूर्ण छ । परिवार विघटन विश्वभरि नै बढेको छ, त्यसको प्रभाव नेपाली समाजमा पनि परेको छ । श्रीमान् श्रीमतीको विवाद, पारिवारिक मनमुटाव र घरेलु हिंसाका कारण अप्रिय र असामान्य घटनाहरु बढ्ने क्रममा छ । यसलाई रोक्न मानसिक स्वास्थ्य, शिक्षा र सचेतना बताउनु पर्छ । व्यक्ति र पारिवारिक तहमै समभाव, सहकार्यको अभ्यास गर्नु गराउनु जरुरी छ ।