• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

त्रिभुवन माविको महायज्ञ : झाँकी सहित कथा वाचन सुरु

खर्वाङ । त्रिभुवन माविको हिरक महोत्सवको अबसरमा आयोजित श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा विधिवत् झाँकी प्रदर्शन सहित कथा वाचन सुरु भएको छ ।

महायज्ञमा प्रविण पण्डित दिनबन्धु पोखरेलद्वारा कथावाचन सुरु गरिएको हो ।

पश्चिम बागलुङको खर्बाङ बजारमा आयोजना गरिएको महायज्ञमा सोमबारदेखि कथा वाचनसँगै दाताहरुलाई सम्मान गर्न सुरु गरिएको हो ।

महोत्सवका आर्थिक समिति संयोजक खगिश्वर अर्यालका अनुशार ज्ञान महायज्ञको दोस्रो दिन बडिगाड २ सिमलचौरका सुर्य बहादुर अधिकारीले सबैभन्दा धेरै ३ लाख ३ सय ३३ रकम सहयोग गर्नु भएको छ ।

अर्यालका अनुसार अहिलेसम्म विद्यालयले राखेको ‘आवासीय बहुप्राविधिक शिक्षालय’ निमार्णको लक्ष्यमा कुल एक करोड रकम उठिसकेको छ । सोमबारनै गुल्मीको मुसिकोट नगरपालिकाले पनि सहयोगको प्रतिबद्धता जनाएको छ ।

मुसिकोटका नगरप्रमुख जिवलाल खरेल जीवनले कार्यपलिका बैठकपछि महायज्ञको अन्तिम दिनसम्म सरकारी नियमानुसार मिल्ने सहयोग गर्ने बताउनु भएको थियो ।

बालि विज्ञान विषयको पठनपाठन सञ्चालन गरि रहेको विद्यालयले अब सिभिल इन्जिनियरिङ, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स लगायतका अन्य विधामा पनि अध्यापन गराउने लक्ष्य राखेको छ । त्यसका लागि विद्यालयले महायज्ञको बाटो रोजेको हो ।

विद्यालय पठन पाठनको क्षेत्रलाई फराकिलो बनाउने लक्ष्य सहित मंसिर २१ देखि २८ गतेसम्म श्रीमद भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको महायज्ञ आयोजक समितिका संयोजक विष्णुप्रसाद भुषालले जानकारी दिनुभयो ।

सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने भएको हो । २०१७ सालमा स्थापना भएको त्रिभुवन माविले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाउने तयारी छ । सोही अवसरलाई हिरक महोत्सवको रुपमा पनि मनाइने भएको हो ।