• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

शिक्षा, शिक्षक, र डिजिटल कक्षाकोठा व्यवस्थापनको आवश्यकता

  • २०८२ मंसिर २६, शुक्रबार

लाल बहादुर नेपाली
कक्षाकोठामा सिकाइलाई प्रभावकारी, व्यवस्थित र रोचक बनाउन आजको युगमा कम्प्युटर प्रयोग गरी शिक्षण सामग्री डिजाइन गर्नु अत्यन्त आवश्यक मानिन्छ । फ्रान्स र अमेरिकामा यो सन् १९६० को दशक तिर शुरु गरिएको हो । बेलायत, जापान र चीनमा यो सन् १९८० को दशक तिर शुरु गरिएको हो भने कम्प्युटर प्रयोग गरी शिक्षण गर्ने नेपालको योजना धेरै पहिला बने पनि गुरु योजना भने सन् २०१३ देखि २०१७ सम्म लाई लिइन्छ तर पनि त्यती धेरै प्रगती भएको भने पाइएको छैन् । परम्परागत शिक्षण शैलीमा शिक्षकले कापी, चार्ट, पोस्टर, नक्सा, मोडल जस्ता भौतिक सामग्री तयार गर्थे, जसले सिकाईमा केही हदसम्म सहयोग गरे पनि ती सामग्रीले विद्यार्थीको जिज्ञासा, ध्यान केन्द्रिकरण तथा दिगो सिकाईमा त्यति प्रभावकारी भूमिका खेल्न सक्दैनथे । अहिलेको समयमा विद्यार्थीहरू डिजिटल युगका प्रतिनिधि भएकाले उनीहरूको सिकाई शैली पनि डिजिटल माध्यमतर्फ केन्द्रित छ ।

यसैले कम्प्युटरको प्रयोगले कक्षाकोठामा सिकाईको स्वरूपलाई आधुनिक, अनौठो, सजीव र थप आकर्षक बनाइदिन्छ । कम्प्युटर मार्फत तयार गरिने शैक्षिक सामग्री केवल शिक्षणको साधन मात्र नभई सिकाई प्रक्रिया सहज, परिणाममुखी र इन्टरएक्टिभ बनाउने माध्यमका रूपमा स्थापित हुँदै गएको छ र बनाउनु पर्ने आवश्यकता हो यो युगमा ।

कम्प्युटरले शिक्षण–सामग्री डिजाइन गर्न निकै बहुआयामिक सुविधा उपलब्ध गराउँछ । कम्प्युटरमा उपलब्ध विभिन्न सफ्टवेयर, इन्टरनेट स्रोत, चित्र, भिडियो, सिमुलेसन, चार्ट, रेखाचित्र, सिप विकासका उपाय तथा एनिमेशन प्रयोग गरी अत्यन्त आकर्षक सामग्री तयार गर्न सकिन्छ । उदाहरणका लागि, पावरप्वाइन्ट प्रयोग गरेर प्रस्तुतीकरण स्लाइड तयार गर्न सकिन्छ जसमा चित्र, एनिमेशन, भिडियो तथा हाइलाइट गरिएको मुख्य बुँदा राख्न सकिन्छ । क्यान्भा वा यस्तै अन्य ग्राफिक डिजाइन प्लेटफर्ममार्फत चार्ट, पोस्टर, इनफोग्राफिक्स वा माइन्ड–म्याप निर्माण गर्न सकिन्छ । यस्तै माइक्रोसफ्ट वर्ड वा गुगल डक्स को प्रयोग गरेर वर्कसीट, अभ्यास प्रश्न वा सिकाइ सम्वन्धी दस्तावेज तयार गर्न सकिन्छ । कम्प्युटरमा उपलब्ध यी विविध उपकरणहरूले शिक्षण सामाग्रीलाई केवल सुन्दर मात्र बनाउँदैनन्, सामग्रीलाई विषयवस्तु अनुसार धेरै गहिरो, स्पष्ट र सरल बनाइदिन्छन् ।

कम्प्युटर प्रयोग गरेर सामग्री डिजाइन गर्दा पहिलो चरणमा शिक्षकले सिकाइ उद्देश्य स्पष्ट रूपमा निर्धारण गर्नुपर्छ । कक्षाकोठाका विद्यार्थीको स्तर, उनीहरूको आवश्यकता अनुसार विषयवस्तु छनोट गर्दा कम्प्युटरमा उपलब्ध स्रोतहरू कतिसम्म प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने आँकलन गर्नुपर्छ । उदाहरणका लागि विज्ञान, गणित, सामाजिक विषय, भाषा र स्वास्थ्य शिक्षामा डिजिटल सामग्री अत्यन्त उपयोगी हुन्छन् । विज्ञानमा अङ्ग–प्रत्यङ्गको चित्र, पाचनप्रणालीको एनिमेशन, बिजुली प्रवाहको सिमुलेसन वा रासायनिक प्रतिक्रियाको भिडियो प्रयोग गर्दा विद्यार्थीहरूले जटिल विषय पनि सहज रूपमा बुझ्न सक्छदन् । गणितमा जियोजेब्रा, स्केचअप जस्ता सफ्टवेयर प्रयोग गरेर कोन, त्रिभुज, वृत्त, ग्राफ, समीकरण तथा मापनसँग सम्बन्धित मोडल प्रस्तुत गर्न सकिन्छ । सामाजिक विषयमा नक्सा, तथ्याङ्क, ऐतिहासिक चित्र, तालिका तथा तथ्य–आधारित इनफोग्राफिक्स तयार गर्न सकिन्छ । भाषा शिक्षामा तस्बिर–आधारित सामग्री, वर्ण–उच्चारणका ध्वनि सामग्री तथा कथाको डिजिटल प्रस्तुतिकरण गर्दा विद्यार्थीहरूको रुचि बढ्दछ ।

सामग्री तयार गर्ने क्रममा शिक्षकले अध्ययन सामग्री संकलन, छनोट, सम्पादन तथा पुनःव्यवस्थापनका चरणहरूदेखि सुरु गर्नु आवश्यक हुन्छ । इन्टरनेट, डिजिटल पुस्तकालय, शैक्षिक जर्नल, खुला स्रोत सामग्री, चित्र भण्डार तथा सरकारी शैक्षिक वेबसाइटबाट आवश्यक जानकारी संकलन गरिन्छ र गर्न सकिन्छ । संकलित सामग्रीमा तथ्य, अवधारणा तथा विवरणहरू प्रामाणिक र पाठ्यक्रम अनुकूल हुनुपर्छ । त्यसपछि शिक्षकले कुन प्रकारको सामग्री डिजाइन गर्ने भन्ने निर्णय गर्नुर्पदछ—प्रस्तुतीकरण, भिडियो, डिजिटल चार्ट, इन्टरएक्टिभ क्विज, एनिमेशन वा इनफोग्राफिक । डिजाइन प्रक्रियामा रंग, फन्ट, लेआउट, आइकन, चित्र, ध्वनि तथा एनिमेशनको सन्तुलित र सहज प्रयोग निकै महत्वपूर्ण हुन्छ । सामग्री अत्यन्तै चम्किलो, आँखाको ज्योती सँग मेल नमिल्ने, वा विद्यार्थीलाई असहज स्थिति उत्पन्न गर्ने खालको, जटिल वा अनावश्यक सजावटी भएमा विद्यार्थीहरूको ध्यान भंग हुन सक्छ, त्यसैले सरल, स्पष्ट र व्यवस्थित डिजाइन गर्नुपर्छ । जसका लागी शिक्षक संग रंग मनोविज्ञानको ज्ञान हुन जरुरी छ । जसले सिकाईलाई प्रतक्ष्य प्रभाव र्पादछ ।

पाठ योजना अनुसारका सामाग्री छनोटको प्रक्रिया पूरा भएपछि शिक्षकले सामग्रीको परीक्षण गर्नुपर्छ—कम्प्युटर, प्रोजेक्टर वा स्मार्ट–बोर्डमा सामग्री चलाएर यसले अपेक्षित रूपमा काम गर्छ कि गर्दैन भन्ने हेर्नुपर्छ । कुनै शब्द त्रुटि, अपूरो चित्र, खराब एनिमेशन वा असंगत रंग भएमा संशोधन गर्न सकिन्छ । कक्षामा प्रस्तुत गर्नु अगाडि सामग्रीको क्रम, समय, दृश्यता र विद्यार्थीहरूको बुझाई स्तर अनुसार सामग्री उपयुक्त छ कि छैन भन्ने मूल्यांकन गर्नुपर्छ । सामग्री पूर्ण रूपमा तयार भएपछि मात्र कक्षामा यसको प्रयोग सुरु हुन्छ ।

कक्षाकोठामा कम्प्युटर–आधारित सामग्री प्रस्तुत गर्दा विद्यार्थीहरूको प्रतिक्रियाले सिकाइ प्रक्रियामा ठूलो परिवर्तन ल्याउँदछ । विद्यार्थीहरू केवल सुनेर सिक्दैनन्, हेर्छन्, बुझ्छन्, प्रश्न गर्छन्, चर्चा गछर्दन् र कहिलेकाहीँ आफूले पनि डिजिटल सामग्री बनाउने प्रयास गर्छदन् । यस्तो वातावरणले विद्यार्थीलाई आत्मसक्रिय सिकाइमा जोड्दछ । दृश्यात्मक सामग्रीले उनीहरूको स्मरण शक्ति बढाउँछ, गहिरो सिकाइलाई प्रोत्साहित गर्छ र उनीहरूलाई विश्लेषण, तुलना र निष्कर्ष निकाल्न सक्षम बनाउँदछद। कम्प्युटरमा आधारित क्विज वा इन्टरएक्टिभ गतिविधिले विद्यार्थीलाई सिकाईमा प्रत्यक्ष संलग्न गराउँछ, जसले उनीहरूको जिज्ञासा, उत्साह र आत्मविश्वास बढाउँछ ।

शिक्षकका लागि पनि कम्प्युटर–आधारित सामग्री डिजाइन सीप सिक्नु आवश्यक छ, किनकि डिजिटल सामग्रीले शिक्षणलाई समय बचत, सरल र व्यवस्थित बनाउँछ । एक पटक तयार गरिएको सामग्री वर्षौंदेखि पुनःप्रयोग गर्न सकिन्छ, साथै आवश्यक परे सजिलै अद्यावधिक गर्न सकिन्छ । सामग्रीमा कुनै त्रुटि भेटिए तुरुन्तै सुधार गर्न सकिन्छ, तर परम्परागत सामग्रीमा यस्तो सुविधा कम हुन्छ र प्राय सामाग्रीहरु बिना कुनै पूर्ण तयारीका साथ बजारमा नाफा मूलक उद्धेश्यका साथ बिक्रि वितरणमा आउने हुनाले धेरै भाषागत त्रुटीहरु पाइन्छन् । शिक्षकले कक्षामा समय बाचाएर व्याख्या, उदाहरण, अभ्यास तथा विद्यार्थी–अन्तक्र्रियामा बढी समय खर्च गर्न सक्छन् । डिजिटल सामग्रीले शिक्षकको पेशागत क्षमता, आत्मविश्वास र सशक्त सम्प्रेषण सीपलाई पनि वृद्धि गर्छ ।

नेपाली विद्यालय विशेषगरि ग्रामीण तथा शहरी क्षेत्रका कक्षाकोठाहरूमा डिजिटल सामग्रीको आवश्यकता अहिले अझै वृद्धि भइरहेको छ । धेरै विद्यालयमा कम्प्युटर, प्रोजेक्टर तथा इन्टरनेट सुविधा विस्तार भइसकेको छ । यिनको उचित प्रयोगले शिक्षाको गुणस्तर वृद्धि गर्न सकिन्छ । नेपालमा प्रायः विद्यार्थीहरू पाठ्यपुस्तकमा आधारित शिक्षामा निर्भर हुन्छन्, तर डिजिटल सामग्री जोडिँदा उनीहरूलाई जीवनसँग जोडिएको व्यावहारिक सिकाई अनुभव गर्न मद्दत पुग्छ । कथाहरू, वैज्ञानिक प्रक्रिया, भौगोलिक परिवर्तन, इतिहासका घटनाक्रम वा गणितीय रूपान्तरणलाई प्रत्यक्ष चित्र, एनिमेशन वा भिडियोमार्फत हेर्दा विद्यार्थीको सोचाइ अधिक गहिरो हुन्छ ।

कम्प्युटर–आधारित सामग्रीले विद्यार्थीको सिकाइ मात्र होइन, उनीहरूको प्राविधिक सीप पनि विकास गराउँछ । विद्यार्थीले पिपिटि बनाउने, चित्र सम्पादन गर्ने, इन्टरएक्टिभ खेलहरू बनाउने वा सामान्य कोड प्रयोग गर्ने जस्ता सीप सिक्न सक्छन् । भविष्यमा यी सबै सीप उपयोगी हुने भएकाले विद्यालय स्तरमै यसका आधार तयार हुनु महत्त्वपूर्ण हुन्छ । यसरी डिजिटल सामग्रीले विद्यार्थीको सिर्जनात्मक तथा आलोचनात्मक सोचलाई विस्तार गर्ने काम गर्छ ।
यद्यपि कम्प्युटर प्रयोग गर्दा केही सावधानी अपनाउन आवश्यक छ । अत्यधिक डिजिटल सामग्री मात्र प्रयोग गर्दा विद्यार्थीको पुस्तक पढ्ने क्षमता, लेखन सीप तथा मनन गर्ने क्षमता कमजोर हुन सक्छ । त्यसैले डिजिटल सामग्री र परम्परागत विधिबीच उचित सन्तुलन राख्नुपर्छ । सामग्री डिजाइन गर्दा इन्टरनेटमा उपलब्ध जानकारीको स्रोत विश्वसनीय छ कि छैन भन्ने जाँच्नुपर्छ । साथै, विद्यार्थीहरूलाई अत्यधिक स्क्रीन–समय नदिने, विषयवस्तु शिक्षण–सिकाईसँग सम्बन्धित राख्ने र अनावश्यक मनोरञ्जनात्मक सामग्रीबाट जोगाउने जिम्मेवारी शिक्षककै हुन्छ । कम्प्युटर तथा इन्टरनेट प्रयोग गर्दा विद्यार्थीहरूको सुरक्षा, गोपनीयता तथा भ्रामक सामग्रीबाट जोगाउने दिशामा पनि ध्यान दिनुपर्छ ।

समग्रमा मिलाएर हेर्दा कम्प्युटर प्रयोग गरेर तयार गरिने शिक्षण सामग्री आधुनिक सिकाईको मेरुदण्ड बन्दै गएको छ । यस्ता सामग्रीले कक्षाकोठालाई जीवन्त, सक्रिय र खोजमुखी वातावरणमा रूपान्तरण गर्छ । विद्यार्थीहरूको ध्यान केन्द्रित गराउने, बुझाईलाई गहिरो बनाउने र सिकाईलाई दीगो तथा अर्थपूर्ण बनाउने काम डिजिटल सामग्रीले सहजै गर्छ । शिक्षण प्रक्रियामा आउँने चुनौतीहरू समाधान गर्न, सिकाई परिणाम सुधार गर्न र शिक्षालाई विश्वस्तरीय बनाउने आधार तयार गर्न कम्प्युटर–आधारित सामग्री निर्माण अत्यन्त आवश्यक छ । शिक्षकले यस प्रविधिमा दक्षता हासिल गर्दा मात्र शिक्षण– प्रक्रिया प्रभावकारी, आधुनिक र विद्यार्थी–केन्द्रित बन्न सक्छ । यसैले आजको शिक्षा प्रणालीमा कम्प्युटर प्रयोग गरी सामग्री डिजाइन गर्नु कुनै विकल्प होइन, आगामी पुस्तालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अनिवार्य पूर्वाधार हो भन्ने मेरो अनुभव ।

जय शिक्षा । जय शिक्षक ।।

  • २०८२ मंसिर २६, शुक्रबार