• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

सम्पादकीय : नेतामा नैतिकताको खोजी र तदारुकता

  • २०८२ पुष १, मंगलवार

नैतिकता मानवीय जीवन मूल्य र आदर्शहरुको उन्नत रुप हो । यसले हाम्रो व्यवहार कायापलट गर्छ, जीवनमा आनन्द, खुशी र सन्तुष्टि ल्याउँछ । अर्को अर्थमा भन्दा नैतिकता सोचाई, भनाई र गराई बिचको तादात्म्यता हो । यो असल चरित्रबाट प्रेरित भएर व्यवहार गरिन्छ । नैतिकताको व्यवहारिकता भनेको आत्म–नियन्त्रण, सेवा भाव, पारदर्शिता, निष्पक्षता र सत्यनिष्ठामा आधारित जीवन हो । बिद्यमान कानून, संविधान, ऐन, नियम, कार्यविधि र निर्देशिकाले गर्न नहुने भनेका क्रियाकलाप नगर्ने र गर्ने भनेका क्रियाकलाप गर्नु नैतिक आचरण हो । यसको अर्काे पर्यावाची शब्द इमान्दारिता, सद्भाव, सहयोग, मानवीयता, प्रतिबद्दता, जिम्मेवार, जवाफदेहिता, उत्तरदायित्व, लगनशीलता हो । स्वःअनुशासनको रुपमा पनि यसलाई व्याख्या र आत्मसाथ गर्न सकिन्छ । जसले हाम्रो समाज र देशलाई पनि सुशासनयुक्त र समृद्ध दिशा तर्फ लैजान सघाउँछ ।

तर, आजको उन्नत भनिएको व्यवस्था र समयमा पनि नैतिकताको सर्वत्र खडेरी देखिएको छ । चाहे त्यो राजनीति होस् या कर्मचारीतन्त्र होस् या शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका अरु क्षेत्रहरु किन नहोस्, सबैतिर नैतिकताको अभाव देखिन्छ । अहिले जेनजी आन्दोलन र त्यसपछि राजनीतिक दल, तिनका नेताहरुमा नैतिकताको खोजी भइरहेको छ । पुराना नेताहरुलाई आफ्नो राजनीतिक भूमिकाको समीक्षा सहित अब विदाई हुन नयाँ पुस्ताको तर्फबाट जबरजस्त पाठ र सन्देश प्रदान गरिएको छ । र पनि त्यो यथेष्ट रुपमा देखिन सकेको छैन । गत भाद्र २३ र २४ को जेनजी आन्दोलन पश्चात अहिले नेकपा एमालेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ । एमालेको नेतृत्व गरिरहेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेनजी आन्दोलन र त्यसपश्चातको ध्वंस लगायतको नैतिक जिम्मेवारी सहित नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेकै नेता,कार्यकर्ताकै माग, चाहना व्याप्त थियो । तर, एमाले अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट सर्वसम्मत पारित ७० वर्षे उमेरहद र दुईवर्षे कार्यकालको व्यवस्था तोड्दै फेरि मैदान उत्रिएका छन् । उसो त एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोगका अध्यक्ष केशव बडालले युवालाई अवसर दिने भन्दै सक्रिय राजनीतिबाट बिदा लिएको सुखद खबर पनि सार्वजनिक छ । छिमेकी जिल्ला म्याग्दीका पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य भूपेन्द्र थापाले पनि सक्रिय राजनीतिबाट विदाई लिएको घोषणा गरेका छन् ।

जेनजी आन्दोलन किन र कसरी भयो ? नेपाली राजनीतिमा नैतिकताको चरम अभाव र बेवास्ता भएकै कारण जनताको निराशा र असन्तुष्टि जेनजी आन्दोलन मार्फत् विष्फोट भयो । सधैँभरि आकांक्षा राखिराख्ने, कार्यकारी भूमिका, कुर्सीमोह कहिल्यै नत्याग्ने गलत पात्र र प्रवृत्तिको आज पनि बोलवाला छ । हिजो जे थियो, अब त्यो स्वीकार गर्ने, सहने जमात अहिले छैन भन्दा पनि हुन्छ । अहिलेको जेनजी पुस्ता त अझ सिंगो विश्वको तीव्रतर विकास र गतिशीलतासँग अपडेट भएकाले सोही किसिमको नेतृत्व, नैतिकता अपेक्षा गर्छ । उनीहरु अब पुरानो पुस्ताले जस्तो परिवर्तन, सुशासन र समृद्धिका लागि वर्षौ पर्खन सक्दैनन्, त्यो धैर्यता राख्दैनन् । समयको माग र जेनजी आन्दोलनको स्पिरिट पनि बुझ्न नसक्ने अब नेपाल र नेपालीको नेता भइरहन सक्दैनन् । ज्ञवाली, शाक्य, बडाल र थापाले ढिलै भए पनि देखाएको नैतिकताप्रति सम्मान छ । नैतिकता प्राचीनकालदेखि नै मानव सभ्यताको मेरुदण्ड हो । यदि यसलाई छोड्यौ या बेवास्ता ग¥यौ भने त्यो गतिशील राज्य, समाज र समुदायको हित विपरित हुन जान्छ । यसकारण पनि अहिलेका राजनीतिक दल र तिनका नेताहरुले समय र जनताको माग, अपेक्षालाई सोही किसिमले सम्बोधन, समाधान गर्न जरुरी छ ।

 

  • २०८२ पुष १, मंगलवार