कतार । पर्वत समाज कतारले विविध सांस्कृतिक कार्यक्रम गरेर २३औं वार्षिकोत्सव तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
वार्षिकोत्सव तथा वार्षिक साधारण सभाको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष प्रताप गिरीले समाज सबैको साझा रहेको बताउनु भएको थियो । उहाँले समाजलाई फरक फरक कित्तामा उभ्याउने र बाँड्ने प्रयत्न गर्नु घातक हुने भन्दै गलत गतिविधी गर्नेहरु समाजको आजीवन सदस्य रहि रहन नसक्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा कतारको कानुन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता मोहम्मद रमजान अलि मियाले व्याख्या गर्नु भएको थियो । उहाँले कतारमा रहँदै गर्दा श्रमिकहरूले कतारको आइडी (पताका) पासपोर्ट, हेल्थ कार्ड, लेबर कन्ट्रायक र एटिएम कार्ड अनिवार्य साथमा राख्नुपर्ने बताउनु भयो । उहाँले प्रत्येक श्रमिकले आफ्नो मोबाइलमा अनिवार्य रूपमा मेट्रास २ सक्रिय बनाएर राख्नुपर्ने बताउँदै कतारमा मदिरा सेवन गरेर सवारी साधन नपाइनेतर्फ सजग गराउनु भएको थियो ।
कार्यक्रममा अतिथि कलाकार अरुण सुनार र बुद्धिराम शर्माले सागीतिक प्रस्तुति दिनु भएको थियो । सुनारले स्वः खेमराज गुरुङको वारी जमुना पारी जमुनाबाट प्रस्तुति राख्न सुरु गर्नु भएको थियो । उहाँले अल्झिँदो यो मन, कलिलो तामालाईसहित मन त नेपाली हो भन्ने गीतमार्फत आफ्नो प्रस्तुतिको बिट मार्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा स्टेज चढेका बुद्धिराम शर्माले आफ्नो रुमाल रुझाउँछुबाट सांगीतिक प्रस्तुति राख्न सुरु गर्नु भएको थियो । हावा चलोस् पात नझरोस् सहित आफ्ना पुराना हिट गीत प्रस्तुत गर्नु भएको थियो ।
सुन्तला फुल खेल्दै आयो भन्ने गीतमार्फत आफ्नो प्रस्तुतिको बिट मारेका उहाँले आफू १५ वर्षपछि दर्शकको मायाले स्टेजमा फर्किएको बताउनु भएको थियो । कार्यक्रममा कतारमा रहेका दर्जनौं कलाकारले सागितिक प्रस्तुति दिएका थिए ।
समाजले गरेका कार्यप्रगति डिजिटल्ली र भिडियोमार्फत देखाइएको थियो भने समाजका कोषाध्यक्ष महेन्द्र चालीसेले ४७ हजार ५ सय ३८ रियाल आम्दानी गर्दै ४१ हजार ८ सय ५९ रियाल खर्चँदै ५ हजार ६ सय ७९ रियाल समाजमा बचत रहेको आयव्यय पेस गर्नु भएको थियो । कार्यक्रममा उपस्थितको कुल संख्यालाई लक्की ड्र मार्फत पर्वतको कुस्मामा रहेको दि क्लिफले निःशुल्क २ जनालाई प्रदान गरेको २ वटा बन्जी हान्ने टिकट र हार्नेस कम्पनीले जिपलाईमा साइकिलिङका लागि २ जनालाई प्रदान गरेको २ वटा निःशुल्क टिकट समेत खोलिएको थियो । उनीहरूलाई टिकटसहित एकरात बसोबासको समेत व्यवस्था सोही कम्पनीले गर्ने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा समाजका ज्येष्ठ सदस्य नारायण रिमाल र सांगीतिक प्रस्तुति दिने कलाकार, प्रमुख अतिथिलाई सम्मान गरिएको थियो । पर्वतमा जन्मिएर कतारको राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने सुधा थापालाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष ओम बहादुर क्षत्री (सन्तोष)को अध्यक्षता, कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष टिकाराम भुसालको स्वागत, समाजका सचिव सेवक घताने, सहसचिव तथा सांस्कृतिक संयोजक कृष्ण दर्लामीको सहजिकरणमा सम्पन्न भएको थियो ।


















