बागलुङ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंसिर १५ देखि थालेको विशेष अप्रेशन अन्र्तगत एक सय १८ थान बन्दुक नियन्त्रणमा लिएको छ ।
११५ भरुवा बन्दुक र ३ वटा बन्दुकको नाल प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन २१ गते हुने आम निर्वाचनको एकिकृत सुरक्षा योजना कार्यान्वयन अन्तरगत हातहतियार खोजी तथा नियन्त्रणमा प्रहरीले सक्रियता जनाएको हो । हातहतियार गाउँमा भएको खण्डमा निर्वाचनमा प्रभाव पार्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै हतियार नियन्त्रण अभियान प्रहरीले थालेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा प्रहरीले नियन्त्रणमा लिएको बन्दुक तथा नाल सार्वजनिक गरिएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाका अनुसार इजाजत नभएका र चोरी शिकारीमा प्रयोग हुन सक्ने हतियारहरु प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले स्थानीयको सुचनाका आधारमा खाली घर, रुखका टोड्का, जमिनमा गाडेको अवस्थाबाट समेत बरामद गरेको हो ।
प्रहरीले रघुगंगा गाउँपालिकाबाट एउटा नाल र ४८ भरुवा बन्दुग, मालिका गाउँपालिकाबाट २० बन्दुक, अन्नपुर्ण गाउँपालिकाबाट १६ बन्दुक, मंगला गाउँपालिकाबाट १४ बन्दुक, बेनी नगरपालिकाबाट ११ बन्दुक र धौलागिरी गाउँपालिकाबाट बन्दुग र २ वटा बन्दुगको नाल बरामद गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएको बन्दुक अधिकांश चालु अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।