म्याग्दी । मंगला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तरगत शिक्षक तथा विद्यार्थीहरुको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिका स्तरीय उक्त प्रीतयोगितामा सात वटा विद्यालयबाट १३ जना शिक्षकहरु सहभागी हुनुहुन्थ्यो । शैक्षिक गुणस्तर सुधारमा शिक्षकको योगदान विषयक वक्तृत्वकला प्रतियोगितामा मंगला माध्यमिक विद्यालयका शिक्षक करन कँडेलले प्रथम स्थान हासिल गर्नुभएको छ ।
त्यसैगरी मंगला माध्यमिक विद्यालयका भीमप्रसाद शर्माले दोश्रो र दिपशिखा माध्यमिक विद्यालय कुहुँका बाबुराम खत्रीले तेश्रो स्थान हासिल गर्नुभएको थियो । विजयी प्रतियोगिलाई नगद क्रमशः १५ हजार १० हजार र ७ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी विद्यार्थीहरु तर्फको प्रतियोगितामा विद्यार्थी जीवनदेखि राष्ट्रिय जिम्मेवारी सम्म विषयक वक्तृत्वकलामा दिपशिखा माध्यमिक विद्यालय कुहुँका स्नेहा थापा प्रथम हुनुभएको मंगला गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।
कटुवालका अनुसार शारदा माध्यमिक विद्यालय छिस्वाङका युना क्षेत्री दोश्रो र त्रिभुवन मंगला माध्यमिक विद्यालयकी लक्ष्मी किसानले तेश्रो स्थान हासिल गर्नुभएको छ । वक्तीत्वकला प्रतियोगितामा ९ वटा विद्यालयबाट १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई गाउँपालिका उपाध्यक्ष पेमा अधिकारी, २ नम्बर वडा अध्यक्ष धनबहादुर खती र शिक्षा अधिकृत कटुवालले पुरस्कार वितरण गर्नुभएको थियो ।
