कास्की । गण्डकी प्रदेशका युवाहरुका लागि माघ ३ गतेदेखि पोखरामा सुरु भएको ६ दिने युवा संस्कार तथा आवासीय योग शिविर सम्पन्न भएको छ । शिविरमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ८० जनाभन्दा बढी युवाको सहभागिता रहेको थियो ।
शिविरको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष तथा परोपकार वैद्धिक गुरुकुल आश्रमका संरक्षक भागवत् भास्कर कमलनयन गौतमले ज्ञान सीप व्यक्तिमा सिमित राख्न नहुने भन्दै परिवार, समाज र राष्ट्रको हितका लागि पनि सबैमा बाड्नु पर्ने बताउनु भएको थियो । उहाँले ज्ञान जत्ति बाड्यो तेतीनै बढ्ने भन्दै ज्ञान ६ दिनको शिविरबाट सिकेका ज्ञान सीप आफूमा सिमित नराख्न सहभागीलाई अनुरोध गर्नु भएको थियो । शिविरमा सीकेको ज्ञान सीपले जीवन रुपान्तरण गर्दै समाजलाई समेत परिर्वतन गर्ने सक्ने अभिप्रेरित कर्ता बन्ने लक्ष्यका साथ अगाडी बढनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा युवा नेपाल समितिका मुख्य प्रभारी साध्वी देवविजयाले आफूमा विश्वास राखेर जीवनको लक्ष्य निर्धाण गर्दै निरन्तर प्रयास जारी राख्नुपर्ने बताउनु भएको थियो । आफूले चाहेको कुरा प्र्राप्त गर्न दृढ संकल्प राखेर कर्म गर्न छोड्न नहुने बताउनु भएको थियो । देशको भविश्य युवाहरुको चिन्तन, विचार र कर्मले निर्धारण गर्ने भन्दै उहाँले हरेक युवा सकारात्मक सोच राखेर देशलाई समन्त बनाउन तर्फ लाग्नु पर्ने बताउनु भएको थियो ।
समापन कार्यक्रममा पतञ्जलि योग समिति गण्डकी प्रदेशका संरक्षक लोकदर्शन कोइराला, सहभागिको तर्फबाट सिर्जना पन्त र शिव श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो । ६ दिनसम्म सञ्चालन भएको तालिममा युवा नेपाल समितिका मुख्य प्रभारी साध्वी देवविजया,राष्ट्रिय प्रशिक्षक अजिता बास्ताकोटी, नमराज खत्री र कुमार श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

योगको परिचय सहित अष्टाङ्ग योगको बारेमा जानाकारी, प्राचिन ध्यान विधिद्वारा मनलाई शान्त बनाउने तरिका, एकाग्रता तथा स्मरण शक्ति बढाउने विधिहरू, आयुर्वेद तथा जडिबुटीको बारेमा जानकारी, वैदिक संस्कृति र वैदिक जिवनशैलीको बारेमा जानकारी, हवन (देव यज्ञ) गर्ने विधि, फाइदा, सामाग्रीको जानाकारी, आत्मा रक्षाका प्रारम्भिक योगाभ्यासहरु, सुर्य नमस्कार, भूमि नमस्कार, सर्वाङ्ग सुन्दर व्यायाम, मास पि टि र तालिबादनका विभिन्न अभ्यासहरुको बारेमा प्रशिक्षण गरिएको थियो ।

युवा नेपाल समितिको आयोजनामा सञ्चालन भएको शिविर राष्ट्रिय परोपकार महासंघ नेपालको सहआयोजना तथा व्यवस्थापनमा सम्पन्न भएको हो । शिविरलाई पोखरा महानगरपालिका, पतञ्जलि योग समिति गण्डकी प्रदेश, जिल्ला समिति कास्की, महिला समिति कास्कीले सहयोग गरेको युवा नेपाल समिति गण्डकी प्रदेशका रेणुका गुुरुङले जानकारी दिनुभयो । कार्यक्रम युवा नेपाल समितिका सुलोचना मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।
समापन समारोहमा शिविरका सहभागी तथा श्री सिद्ध परोपकार वैद्धिक गुरुकुल आश्रमका बटुकहरुले विभिन्न योगका आशन प्रदर्शन गरेका थिए ।
