बागलुङ । पश्चिम बागलुङ (क्षेत्र नं. २) मा प्रतिनिधिसभा निर्वाचन हाँक्न चार मुख्य राजनीतिक दलले चार नेतालाई संयोजनको जिम्मेवारी दिएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, बाम गठबन्धन (नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा) र राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्रीय चुनाव परिचालनका लागि चार नेतालाई संयोजनको जिम्मेवारी दिएका हुन् । बाम गठबन्धनका दुइ दलका तर्फबाट एक जना र अन्य ३ दलका एक एक जना कमाण्डर तोकिएको छ ।
निर्वाचन हाँक्नका लागि नेकपाले हाइप्रोफाइल नेतालाई चुनावी कमाण्डर बनाएको छ, नेकपा एमालेले जिल्ला उपाध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला उपसभापतिलाई तथा नेपाली कांग्रेसले क्षेत्रीय सभापतिलाई चुनावी कमाण्डर बनाएको छ । एमालेले पार्टीका जिल्ला उपाध्यक्ष तथा जिल्ला समन्वय समिति बागलुङका पूर्व उप–प्रमुख विष्णु भुषाललाई क्षेत्रीय निर्वाचन परिचालन कमिटिको संयोजनको जिम्मेवारी दिएको छ । एमालेले पश्चिम बागलुङमा पार्टीका केन्द्रीय सदस्य मञ्जु शर्मालाई उम्मेदवार बनाएको छ । शर्मालाई जिताउनका लागि जिल्ला उपाध्यक्ष भुषालको संयोजकत्वमा १ हजार १ सय २५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन भएको छ । शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ५ दलीय गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलसंग पराजित हुनु भएको थियो । क्षेत्रीय निर्वाचन परिचालन कमिटिले पश्चिम बागलुङका ६ वटै पालिकामा पालिका स्तरीय र ४८ वटै वडामा वडास्तरीय निर्वाचन परिचालन कमिटि गठन गर्दैछ ।
युवा र महिला परिचालनका लागि छुट्टै कमिटि बनाइने संयोजक भुषालले जानकारी दिनुभयो । नेपाली कांग्रेसले पश्चिम बागलुङको निर्वाचन परिचालनका लागि क्षेत्र नं. २ का क्षेत्रीय सभापति जोकलाल बुढा मगरको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. २ मा विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टेकराज पौडेललाई उम्मेदवार बनाएको छ ।
कांग्रेसका उम्मेदवार पौडेललाई जिताउनका लागि चुनाव परिचालन तथा प्रचार अभियानको नेतृत्व पार्टीका क्षेत्रीय सभापति बुढा मगरले गर्नु भएको छ । क्षेत्र नं. २ अन्तरगतका वडाका सभापतिहरु, जिल्ला र केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न क्षेत्रीय समितिको विस्तारित वैठकले सभापति जोकलाल बुढा मगरको संयोजकत्वमा निर्वाचन प्रचार समिति गठन गरेको हो । कांग्रेसले निर्वाचन परिचालनका लागि ६ वटै पालिकामा पालिका स्तरीय, वडामा वडा स्तरीय जनपरिचालन समिति गठन गर्ने तयारी गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच तालमेल गरेर बागलुङ क्षेत्र नं. २ मा नेकपाका तर्फबाट उम्मेदवार रहेका ज्ञामनाथ गैरे (अनिल) लाई विजयी बनाउनका लागि नेकपाका केन्द्रीय सदस्य फमलाल निउरेको संयोजकत्वमा १ हजार १ सय ५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । गलकोट नगरपालिकाका उपप्रमुख समेत रहेका निउरेको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको सहसंयोजकमा राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिकाका अध्यक्ष टंक केसी रहनु भएको छ ।
पश्चिम बागलुङमा नेकपाले हाइप्रोफाइल नेता (पार्टीका केन्द्रीय सदस्य) लाई निर्वाचन परिचालनको जिम्मेवारी दिएको छ । अन्य पार्टीले जिल्ला तथा क्षेत्रीय कमिटिका पदाधिकारीहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी दिएका छन् ।
दुइ दलका तर्फबाट क्षेत्रीय निर्वाचन परिचालन समितिसंगै पालिकास्तरीय निर्वाचन परिचालन समिति र वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरी पार्टी कमिटिलाई निर्वाचनमा सक्रिय बनाउने योजना बनाइएको नेकपाका नेता राजिव घिमिरेले जानकारी दिनुभयो । नयाँ राजनीतिक दलका रुपमा सक्रिय रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका जिल्ला उपसभापति ढालेन्द्र रायमाझीलाई चुनावी कमाण्डर तोकेको छ । रास्वपाले क्षेत्र नं. २ मा १ सय १० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । निर्वाचन घोषणा भए लगत्तै गलकोटमा जिल्ला कार्य समितिको विस्तारित वैठक आव्हान गरेर दुवै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको थियो । रायमाझीको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको टिमले रास्वपाका उम्मेदवार सोम शर्मा सहित घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।
पश्चिम बागलुङमा रास्वपाको संगठन निर्माणमा सक्रिय रायमाझीको संयोजनमा निर्वाचन परिचालनका लागि पालिका स्तरीय तथा वडा स्तरीय समिति गठन लगायत घरदैलो एवम् भेटघाट कार्यक्रमलाई निरन्तरता दिइएको परिचालन समितिका सदस्य दिपक घर्ति मगरले जानकारी दिनुभयो । रास्वपा पार्टी पनि दोस्रो पटक मात्र निर्वाचनमा सहभागी भएको र उम्मेदवार पनि नयाँ भएकाले जनभेटघाट तथा चुनावी कार्यक्रमलाई थप सक्रियताका साथ सञ्चालन गर्नु पर्ने दवाव निर्वाचन परिचालन समितिलाई रहेको छ । पश्चिम बागलुङमा अन्य राजनीतिक दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टीले अञ्चल शाही, नेकपा (माओवादी) ले लोकेन्द्र घिमिरे, मंगोल नेशनल अर्गनाइजेशन पार्टीले जुन बहादुर थापा मगर, नेपाल मानवतावादी पार्टीले टेक बहादुर कामी, प्रगतिशिल लोकतान्त्रिक पार्टीले पदम बहादुर कुँवर, नेशनल रिपब्लिक नेपाल पार्टीले नर बहादुर बुढा, श्रम संस्कृति पार्टीले हर्क बहादुर पुन र जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट पूर्ण बहादुर घर्ति मगरले उम्मेदवारी दर्ता गराउनु भएको छ । बागलुङको पश्चिम क्षेत्रका ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निशीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको क्षेत्र नं. २ मा निर्वाचन परिचालनमा भौगोलिक कठिनाइ रहेको छ ।