सम्पादकीय
जेनजी आन्दोलनबाट पुराना दुई मुख्य राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित शक्तिशाली सरकार दुई दिनमै बहिगर्मित भयो । आन्दोलनले कैयन वर्षदेखि सत्तामा रजगज गर्दै आएकाहरुलाई ठुलो सवक दियो । सुशासनको माग सहित सुरु भएको जेनजी आन्दोलनले विद्रोहको रुप लिँदा नयाँ पुस्ता र नेतृत्वको खोजी हुने अवस्था पैदा भयो । जसको फलस्वरुप २०८४ सालमा हुने निर्वाचन दुई वर्ष अगावै अर्थात् अहिले नै हुने भयो । तर, आन्दोलनमा घुसपैठ हुँदा भएको सरकारी, सार्वजनिक र निजी सम्पत्ति माथिको आगजनी, तोडफोडबाट भएको अर्बौको क्षति बिर्सनलायक छ । यति मात्रै होइन, आन्दोलनको भिडले देशभरका कारागारहरुमा पुगेर कैदी बन्दीलाई भगाएको विषय अत्यन्त गम्भीर छ । यो कुन योजनाबाट कसको उक्साहट र नेतृत्वमा यस्तो भयो ? अझै सम्म तथ्य बाहिर आउन सकेको छैन । तर, जे भयो, यसले समाज र देशमा सुरक्षा खतरा र भयको अवस्था विद्यमान छ नै, आसन्न निर्वाचनमा पनि सुरक्षा जोखिम बढाएको छ ।
अहिले काठमाडौं घटना र प्रहरीले चलाएको गोली र पक्राउ प्रकरणले पनि बढ्दो सुरक्षा जोखिमलाई पुष्टि गर्छ । साग बेचेर फर्केका महिलादेखि, काम परेर राति हिँड्डुल गरेका व्यक्तिको कानको सुन, मुन्द्रा, सिक्री, औंठी, नगद, मोबाइललगायत लुटपाट राजधानीमै भइरहेको थियो, जसबाट सर्वसाधारण आक्रान्त र भयभित थिए । जेनजी आन्दोलनमा प्रहरी हिरासतबाट फरार भएका तिनै कैदीले समूह बनाएर उपत्यकामा लुटपाटको आतंक नै मच्चाएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ९ घन्टा अपरेसन गोली चलाएर बिहीबार बिहानीपख १० जनालाई पक्राउ गरेको छ । पक्राउ पश्चातको अनुसन्धानका क्रममा यसका मुख्य नाइके नै जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएको रहस्य खुलेको छ । डाँका चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्ज हिरासतमा रहेका काभ्रेका २३ वर्षीय विनय तामाङ आन्दोलनको मौकामा हिरासतबाट फरार भएर समूह नै खडा गरी उपत्यकामा लुटपाट र आतंक सिर्जना गर्न सक्रिय थिए । अहिले समातिएका १० जना नै पटके अभियुक्त भएको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिएको छ । यो त प्रहरीले पीडितको सूचना र उजुरी पछि लिएको कदमले सार्वजनिक एक ताजा घटना र उदाहरण हो । जेनजी आन्दोलनको मौका छोपेर भागेका हजारौं कैदीबन्दी अहिले फरार अवस्थामा छन् । तिनीहरुले कहाँ–कहाँ के गर्दैछन् ? त्यसको अत्तोपत्तो छैन ।
निर्वाचन नजिकिँदो छ । चुनावी उत्साह देशभर छाएको छ । सौभाग्य भन्नुपर्छ, आजको दिन सम्म निर्वाचन बिथोल्ने खराब मनसायले कुनै अप्रिय घटना भएको छैन, जुन अब पनि नहोस् भन्न कामना छ । तर, जेनजी आन्दोलनमा भागेका ४ हजार बढी कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका ५ हजार ८ सय ६८ नेपाली, ५ सय ४० भारतीय र अन्य देशका १०८ गरी ६ हजार ४ सय ९६ कैदीबन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागको विवरण छ । अहिले काठमाडौंमा प्रहरीले गोली नै चलाएर लुटपाट धन्दा चलाइरहेका तिनै जेलबाट भागेकाहरुलाई जसरी पक्राउ ग¥यो, अरुलाई पनि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेर पक्राउ गर्ने अभियान पनि चलाउने बतायो । तर, यो अभियान अपेक्षाकृत रुपमा प्रभावी देखिएको छैन । यसले अबको निर्वाचन पेचिलो बन्दै गर्दा, सिंगो राज्यको ध्यान निर्वाचनमा मोडिँदै गर्दा जेलबाट भागेकाहरुबाट फेरि आपराधिक कार्य हुन्छ कि भन्ने भय व्याप्त छ । यसतर्फ सरकारले यथोचित ध्यान र पहलकदमी अघि बढाउन अपरिहार्य छ ।
