बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बागलुङ क्षेत्र नं. २ का उम्मेदवार सोम शर्माले चुनावी अभियानलाई विभिन्न पालिका तथा वडाहरुमा केन्द्रीत गर्नु भएको छ । रास्वपाले गठन गरेको चुनाव परिचालन समितिको योजना र निर्णय अनुसार चुनाव प्रचार अभियान सञ्चालन भैरहेको शर्माले जानकारी दिनुभयो ।
चुनावी अभियानका क्रममा शनिवार बडिगाड गाउँपालिका वडा नं. ७ मा वडा भेला तथा चुनाव परिचालन समिति गठन गर्ने कार्य सम्पन्न भएको छ । भेलाले अर्जुन थापा सभापति भएको वडा समिति र निर्वाचन परिचालन समिति गठन गरेको छ ।
कार्यक्रममा उम्मेदवार शर्माले राजनीतिक स्थापित, विकास र समृद्धिका लागि रास्वपा नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । अन्य राजनीतिक दलहरुले लामो समय एकल तथा साझेदारीमा सत्ता सञ्चालन गर्दा पनि मुलुकलाई निकास दिन नसकेकोले एक पटक रास्वपालाई बहुमत दिएर हेर्न अपिल गर्नु भयो ।
कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक ढालेन्द्र रायमाझीले निर्वाचन परिचालनको अवस्था र पार्टीका नेता कार्यकर्ताको भूमिका लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
