• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

सदस्यसँग अन्तरक्रिया गरेर महिला हितले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था बागलुङले १ सय १६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक, जेष्ठ शेयर सदस्य, विभिन्न समहुका संयोजक, उपसतिकिा संयोजक तथा सदस्यका बिचमा अन्तरक्रिया सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले महिलालाई आर्थिक मात्र नभएर भावनात्मक रुपमा समेत आत्मनिर्भर बनाउन महिला हित सहकारीले भूमिका निर्वाह गर्दै आएको बताउनु भएको थियो ।

पन्तले महिलाको शिक्षा, सक्षमता र आत्मनिर्भरतासँग समाजको विकास जोडिने भन्दै महिलामा गरिएको लगानी सिंगो परिवार, समुदाय र राष्ट्रको भविष्यमा गरिने लगानी हुने बताउनु भएको थियो ।

उहाँले स्वास्थ्य, शिक्षा, आर्थिक अवसर र नेतृत्वमा महिलाको पहुँच बढाउनु सभ्य समाजको आधार हुने भन्दै महिला हित सहकारीले आफ्ना शेयर सदस्य महिलाको सीप, ज्ञान र क्षमताको वृद्धिमा अतुलनिय योगदान पु¥याएको बताउनु भएको थियो ।

कार्यक्रममा सहकारीले निर्माण गरेको वृत्तचित्र प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष लिलादेवी खड्काले २५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल १ हजार ३ सय ४६ जना महिलाहरु सदस्य रहेको बताउनु भएको थियो । सहकारीमा २ करोड ९० लाख ३२ हजार शेयर पुँजी, १० करोड ५४ लाख ७८ हजार बचत, ७८ लाख ११ हजार २ सय ३४ कोष, २६ लाद ३६ हजार शेयर पुँजी र १४ करोड ४२ लाख ७४ हजार कुल सम्पत्ती रहेको बताउनु भयो ।

अध्यक्ष खड्काले आगामी दिनमा सदस्य महिलाको शारिरीक र मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेर अगाडी बढ्ने तयारी गरिएको बताउनु भयो । उहाँले सहकारीले आर्थिक मात्र नभएर सामाजिक र सेवाका कार्यमा पनि सक्रिय रहेको भन्दै सदस्यको मनोवल उच्च बनाउने, आत्मनिर्भर र स्वावलम्बी बनाउनका लागि योग, ध्यान र प्रणायमका कार्यक्रम समेतसँगै जोडेर जाने तयारी गरेको बताउनु भएको थियो ।

कार्यक्रममा संस्थाका प्रबन्धक निशा कुँवरले संस्थाले सञ्चालन गर्दै गतिबिधी र आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता र उपाध्यक्ष विद्यालक्ष्मी खड्काको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।