• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

योगेशको प्रस्तावित ‘अप्रिय’ निर्णयमाथि ओलीको चिसो पानी

  • २०८२ फाल्गुन ३०, शनिबार

राम बहादुर जि.सी.

फागुन २१ गते निर्वाचन परिणाम सार्वजनिक भएको केही दिनमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराइले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरण नगरे, ‘अप्रिय’ निर्णय लिने चेतावनी दिए ।
भट्टराईको चेतावनी पछि यतिबेला एमालेमा नेतृत्व हस्तान्तरणको विषयले व्यापकता पाएको छ । के उनले भनेकै जस्तो ओलीले सहज रुपमा राजिनामा दिन्छन् वा एमालेजनहरुले ‘अप्रिय’ निर्णय गर्छन ? यतिबेला आम चासोको विषय बनेको छ ।
भट्टराईले ‘अप्रिय’ निर्णय लिने कुरा सार्वजनिक रुपमा भनेपछि यतिबेला नेकपा एमालेको संस्थापन पक्ष थप सक्रियताका साथ प्रतिवादमा जुटेको छ ।

ओलीले सामाजिक सञ्जालमा सन्देश लेख्दै जनताको मतलाई सम्मान गर्ने बताए । ओलीले राजिनामा दिन्छन् भन्ने मनस्थितिमा बसेका धेरै कार्यकर्ताहरु यतिबेला ओली अब राजिनामा नदिने मुडमा पुगेको निष्कर्ष निकाल्न थालेका छन् ।
जनताप्रतिको प्रतिवद्धता र सेवाभाव कत्ति पनि कमजोर नहुने भन्दै ओलीले हामी जनताकै बीचमा रहनेछौ, जनताकै लागि काम गरिरहनेछौ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउदै अगाडि बढ्नेछौ भनेका छन् । ओलीले स्पष्ट रुपमा राजिनामा नदिने, थप सक्रियताका साथ जनताका बीचमा जाने निष्कर्ष सुनाइदिएपछि योगेशको ‘अप्रिय’ निर्णय थला पर्ने संभावना बढेर गएको छ ।

३ महिना अगाडि भएको ११ औं महाधिवेशनमा ओली ७५ प्रतिशत मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए, ओली इतर समुहबाट प्रतिस्पर्धा गरेका १९ मध्ये २ जना पदाधिकारी (गोकर्ण विष्ट र योगेश भट्टराई) बाहेक १७ जना ओली समुहका पदाधिकारी र ९५ प्रतिशत केन्द्रीय कमिटि सदस्य ओलीकै समुहका छन् ।

मुलुकको सबै भन्दा सवल र चलायमान संगठन भएको, विगतको विरासत लोभलाग्दो, लक्ष्य, उद्देश्य र कार्ययोजना तथा कार्यान्वयनको अवस्था हेर्दा तुलनात्मक रुपमा अग्रभागमा रहेको नेकपा एमालेमा योगेशले जस्तै धेरै कार्यकर्ताले यतिबेला नेतृत्व परिवर्तनको माग उठाएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तेस्रोमा खुम्चिएको एमालेमा निर्वाचनको कमजोर परिणाम आउनुको मुख्य कारक अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र व्यवहार रहेको चर्चा हुने गरेको छ । गत भदौ २३ गतेसम्म करिव दुइ तिहाइको सरकारको नेतृत्व गरेका ओलीको अहमताका कारण जेन्जी आन्दोलन भड्कन गई सत्ता गुम्नुका साथै आन्दोलनको बारेमा ओलीले दिएका अभिव्यक्ति, मृतकहरुप्रति दुख सम्म व्यक्त गर्न नसकेको जस्ता विषयले एमालेलाई क्षति गरेको अधिकांश एमाले कार्यकर्ताहरुको निष्कर्ष छ ।

एमाले यस्तो पार्टी भएछ कि ? ठिक भएको छैन, भन्दै अध्यक्षको गुणगान गाइरहने ? आलोचनात्मक चेत हराएपछि यस्तो हुन्छ, एमालेकै पुराना कार्यकर्ताहरु बताउछन् । बाहिर अध्यक्षले ठिक गरेनन् भन्ने तर अध्यक्षका अगाडि बोल्न नसक्ने, ‘सब ठिक छ हजुर’ भन्ने पञ्चायती शैली एमालेमा भित्रिएको छ, एमालेका एक उम्मेदवारले बताएका छन् । अध्यक्षका अगाडि सत्य कुरा बोल्न नसक्ने मात्र होइन, जेन्जी आन्दोलनबाट एमाले नेतृत्वको सरकार विस्थापित भएको ३ महिना पछि सम्पन्न ११ औं महाधिवेशनमा उनै ओलीलाई ७५ प्रतिशत मत सहित अध्यक्षमा विजयी गराए ।

ओलीले ठिक गरेनन् भन्ने तर महाधिवेशनबाट ओलीलाई नै अध्यक्ष निर्वाचित गर्ने अवस्था आएकै कारण महाधिवेशन भएको ३ महिनापछि सम्पन्न निर्वाचनमा एमालेको लज्जास्पद हार भएको छ । एमालेले चुनाव मात्रै हारेको छैन, पार्टीका अध्यक्ष ओलीले २०४८ सालदेखि जित्दै आएको (२०६४ बाहेक) निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाहले करिव ५० हजार मतको फरकमा पराजित गरेका छन् । भावी प्रधानमन्त्री प्रस्तावित ओलीको मात्रै हार भएको छैन, प्रत्यक्ष निर्वाचनमा सहभागी पार्टीका उपाध्यक्षहरु, महासचिव सहितका पदाधिकारीहरु र प्रभावशाली नेताहरु सबैको पराजय भएको छ ।

अध्यक्ष ओलीलाई ‘ब्राण्ड’ बनाएर निर्वाचनमा जादा हार बेहोरिन्छ भन्ने कुरा आम पार्टी पंक्तिलाई थाहा थियो, पार्टीका केही नेताहरुले यो विषय उठाएका पनि थिए, तर ओलीले यस्तो विषय उठाउनेहरुलाई उम्मेदवारका लागि टिकट नै दिएनन् । बरु उल्टै हार्ने भएकाले उनीहरुलाई टिकट नदिएको अभिव्यक्ति दिए । ११ औं महाधिवेशनमा ओलीलाई मतदान गर्ने, ओलीको आड लागेर पदाधिकारी र केन्द्रीय सदस्य हुने, समानुपातिक र प्रत्यक्षतर्फ टिकटको लोभमा अध्यक्षप्रतिको नकरात्मक अवस्थाका बारेमा मौन रहने प्रवृति देखियो ।

३ महिना अघि आफैले मत दिएर अध्यक्ष बनाए तर तिनै पदाधिकारी, केन्द्रीय सदस्य र उम्मेदवारहरुले चुनावमा ओलीको नाम लिदा हारिन्छ भन्ने अवस्थामा पुगे । एक त ओलीलाई बालेनले आफ्नै क्षेत्र झापा–५ मा नजरबन्द जस्तो गराइदिए, अर्को ओलीलाई एमालेजनहरुले देश दौडाहा गराउनै सकेनन्, गराउनै मानेनन्, गराउनै चाहेनन् ।

चुनावको परिणाम आइसक्यो, एमाले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी जम्मा २५ जना सांसद सहित प्रतिनिधिसभामा सहभागी हुन पाउने अवस्थामा पुग्यो । २०७९ मा ७९, २०७४ मा १२१ सिट भएको एमालेले पछिल्लो ८ वर्षमा २ पटक करिव करिव दुइ तिहाइ नजिकको सरकारको नेतृत्व गर्न पाएको छ र त्यो सरकारको प्रमुख एमालेकै अध्यक्ष केपी शर्मा ओली थिए ।

सरकारको नेतृत्व गर्ने अवसर आउदा आफ्नै पार्टी भित्रकालाई तह लगाउने, गुट जमाउने, विपक्षीलाई गाली मात्रै गर्ने, तोप पड्काउदा पनि सरकार ढल्दैन भन्ने लगायत जनतालाई इरिटेट हुने गरी सार्वजनिक अभिव्यक्ति दिने, आन्दोलनरत पक्षलाई वेवास्ता गर्ने, आएका समस्या समाधानमा ध्यान नदिने, शिक्षक, कर्मचारी, वित्तीय तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नुको सट्टा आफ्नैलाई अप्ठेरो पर्ने गरी अभियान सञ्चालन गर्ने लगायतका कारण आज एमाले कमजोर भएको छ र एमाले कमजोर हुनुको मुख्य कारण एमालेकै मुल नेतृत्व हो भन्ने कुरामा आम जनता, समर्थक, शुभेच्छुकहरु सहमत छन् । मतदाताले यही कुरा बुझेर मत परिवर्तन गरेका हुन् भन्ने चेत अझै एमाले नेतृत्वमा घुसेको देखिदैन ।
११ औं महाधिवेशनमा ओली इतर समुहबाट प्रतिस्पर्धा गरेका योगेश लगायतका नेताहरु यतिबेला ओलीलाई अध्यक्षबाट हटाउने अभियानमा छन्, इतर पक्ष मात्रै होइन महाधिवेशनमा ओलीलाई साथ दिएका उपाध्यक्ष विष्णु प्रसाद पौडेलहरु पनि ओलीको विकल्प खोज्ने तयारीमा देखिन्छन् ।

ओलीलाई महाधिवेशनबाट फाल्न नसकिने भएपछि विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङहरु उनीसंगै सहकार्य गरेर उपाध्यक्ष बनेका हुन्, त्यतिबेला सकिदैन भन्ने निष्कर्षमा पुगेका पौडेल र गुरुङ लगायतका नेताहरु पार्टी कमजोर भएको अवसर उपयोग गरेर ओलीलाई हटाउने र पार्टी सत्तामा आफु जाने तयारीमा देखिन्छन् । ओलीको विकल्प विष्णु वा पृथ्वी हो त ? एमाले भित्रै यस्ता विषयमा छलफल हुन थालेको छ । ओलीको वरिपरी बसेर मुलुक र पार्टीको समस्यामा नजर अन्दाज गर्ने यिनै पात्रबाट मुलुक र पार्टी चल्दैन भन्नेमा एमालेका कार्यकर्ता चाही प्रष्ट छन् ।

ओलीलाई अध्यक्षबाट हटाउन त्यति सहज भने छैन । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तेस्रो दल भएपछि तत्कालिन पार्टी प्रमुख माधव कुमार नेपालले पदबाट राजिनामा दिएका थिए । यतिबेला धेरै नेता कार्यकर्ताले ओलीले पनि सहज रुपमा राजिनामा दिन्छन् भन्ने अनुमान गरेका थिए, तर कार्यकर्ताहरुको भावना, चाहना र आंकलन भन्दा फरक देखिन्छ, ओलीले राजिनामा दिने मुड बनाएको देखिदैन ।

ओलीले नवौ महाधिवेशन भन्दा पहिला ‘म माधव नेपाल जस्तो हुँ, पदमा पुगेपछि छोड्नै नमान्ने’ भन्ने गर्थे तर यतिबेला उनी माधव नेपाल भन्दा पनि पदलोलुप मात्रै होइन, पार्टी नै कोमामा पु¥याउने पात्र बनेका छन् । यद्यपी अब बस्ने सचिवालय वा केन्द्रीय कमिटि वैठकमा ओलीले राजिनामा दिन पनि सक्छन् । राजिनामा दिएर आफु अनुकूलको नेतालाई अगाडि बढाए भने इतर पक्ष पनि सहमत हुन सक्ने भएकाले ओलीले शुरुमा नछाड्ने अडान राख्ने र अन्तिममा मार्ग प्रशस्त गर्न सक्छन् भन्नेहरु पनि छन् ।

एमालेको विधानको धारा ६७ मा पद रिक्तता सम्बन्धी व्यवस्था गरिएको छ । अध्यक्षले उपाध्यक्ष समक्ष राजिनामा दिन सक्ने व्यवस्था छ । अध्यक्ष ओलीले सहज रुपमा राजिनामा दिएको खण्डमा अर्को व्यवस्था नहुने समयसम्म उपाध्यक्षले कार्यवाहकको जिम्मेवारी पाउन सक्छन् ।

एमालेको विधानको धारा ६८ को (२) मा अध्यक्षको पद रिक्त भएमा सम्बन्धित कमिटिको वैठकबाट कार्यवाहक अध्यक्ष चयन नहुदासम्म उपाध्यक्षले कार्यवाहक भई काम गर्नेछ भन्ने व्यवस्था गरिएको छ । ओलीले सहज रुपमा राजिनामा दिएर केन्द्रीय कमिटिबाट अर्को कुनै व्यक्तिलाई कार्यवाहक अध्यक्ष चयन गर्न सक्दा मात्रै एमालेको सहज रुपान्तरण सम्भव छ ।
त्यसो गर्दा पनि अहिलेकै नेतृत्वको वरिपरी एमाले घुम्नेछ र त्यसले नवयुवाले चाहेको एमाले बन्दैन भन्ने निष्कर्षमा एमालेको तल्ला कमिटिका नेताहरु रहेका छन् । तल्ला कमिटिका कुरा सुन्ने भन्दा पनि माथिकै लाद्ने मनस्थितिमा एमाले छ भन्ने कुरा हालै गण्डकीका इन्चार्ज खगराज अधिकारीले गरेको पोष्टबाट बुझ्न सकिन्छ ।

ओलीले सहज रुपमा राजिनामा नदिएमा एमाले भित्रका नवयुवाहरुले चाहेको जस्तो पार्टी रुपान्तरण हुने अवस्था देखिदैन । अध्यक्षले राजिनामा नदिएमा विशेष महाधिवेशनबाट हटाउनु पर्ने हुन्छ । एमालेको विधान २०४९ (संशोधन २०७८) को धारा ६९ मा विशेष महाधिवेशन सम्बन्धी व्यवस्था गरिएको छ ।

विशेष महाधिवेशन बोलाउनका लागि दुइ तिहाइ जिल्ला कमिटि वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरुले लिखित रुपमा माग गरेमा, माग पत्र दर्ता गरेको मितिले ६ महिना भित्र केन्द्रीय कमिटिले विशेष महाधिवेशन आयोजना गर्नु पर्नेछ, भन्ने व्यवस्था गरिएको छ । विशेष महाधिवेशनको प्रक्रिया शुरु गर्न नै कठिन छ, किनकी एमालेका नेता कार्यकर्ता बाहिर जति ओलीको विरोध गरे पनि, ओलीलाई हटाउन पर्छ भने पनि ओलीसंग पुग्दा बोल्ने गरेको देखिएको छैन । एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरु ओलीलाई हटाउन खोज्नेहरुको व्यवस्थापनमा खटिएका छन् । ११ औं महाधिवेशनमा महासचिवको चाहना राखेका तर नपाएपछि उपाध्यक्ष पद अस्वीकार गरेका प्रदिप ज्ञवाली पनि ओलीको पक्षमा दृढताका साथ उभिएका छन् ।

कथमकदाचित विशेष महाधिवेशन बोलाउने अवस्था आइहाल्यो भने पनि ६ महिनामा ओलीले सबै व्यवस्थापन गर्छन् भन्ने आंकलन हुन थालेको छ । एमालेको वैधानिक व्यवस्थाबाट ओलीलाई हटाउने कुरा निकै कठिन देखिएको एमालेका एक केन्द्रीय सदस्यले बताए । महाधिवेशनको अवस्था हेर्दा सहजै हटाउन सकिदैन ।

जेनजीका नाममा भएको विदेशी हस्तक्षेपलाई परास्त गर्न ओलीको विकल्प छैन जस्तो लागेको थियो, हामीलाई अन्तिमसम्म पनि संसद पुनस्थापना हुन्छ, निर्वाचन हुदैन भन्ने सर्कुलर गरिएको थियो, त्यही भएर भर्खर चुनाव नहुने निष्कर्षमा थियौ, एक केन्द्रीय सदस्यले भने, तर चुनाव पनि भयो, परिणाम पनि आइसक्यो ।

चुनावी अभियानमा हामी अत्यन्तै रक्षात्मक थियौ, पार्टीको मुल नेतृत्वले टिकट वितरण, चुनावी कमाण्डर बनाउने देखि धेरै विषयमा नेता कार्यकर्ताको भावना बुझेन, ३ महिना अघि मत दिएको अध्यक्षलाई चुनावमा ‘ब्राण्ड’का रुपमा प्रचार गर्न सकिएन, यस्तो डर छेरुवा रणनीतिले चुनाव जित्ने कुरा नै भएन, उनको स्वीकारोक्ती छ ।

यसपटकको निर्वाचनमा एमालेका अध्यक्ष ओलीको प्रचार झापा क्षेत्र नं. ५ भन्दा बाहिर हुन सकेन, हुन पाएन, गर्न सकिएन, अध्यक्षको नाम लिदा युवा पुस्ता भड्किने निष्कर्ष केन्द्रीय पदाधिकारीदेखि उम्मेदवारसम्म देखियो, नाम उल्लेख गर्न नचाहने ति केन्द्रीय सदस्यले भने,–‘हार त हाम्रो त्यतिबेलै भएको थियो, जति बेला हामीले अध्यक्षको नाम लिएर प्रचार गर्न समेत सकेनौ ।’

परिवर्तित अवस्थामा अध्यक्षले सहज रुपमा पद हस्तान्तरण गरेर अगाडि बढ्दा नै पार्टीलाई रुपान्तरण गर्न सकिन्छ भन्ने आम कार्यकर्ताको सुझाव छ, तर मुल नेतृत्व र त्यो नेतृत्वको वरिपरी झुम्मिएको टिम यो विषय सुन्न समेत तयार छैन, अनि कसरी रुपान्तरण हुन्छ ? ति केन्द्रीय सदस्यले समस्या घट्ने भन्दा बढ्ने चिन्ता प्रकट गरे । ओलीले सहज रुपमा नछोड्ने, इतर पक्षले जवरजस्ती छोडाउन दवाव दिने अवस्था सिर्जना हुदा फेरी पनि एमाले सवल बन्नुको सट्टा बिग्रदै जाने विषयमा आम कार्यकर्ताले दवाव सिर्जना गर्न जरुरी छ ।

कुनै बेला ओलीले प्रचण्डलाई राष्ट्रिय समस्या हुन् भन्थे । प्रचण्ड नहुदा पनि समस्या, हुदा पनि समस्या भन्दै व्यंग्य गर्ने ओली यतिबेला एमालेका लागि आफै राष्ट्रिय समस्या बनेका छन् । उनी अध्यक्ष रहीरहदा पनि एमालेको तल्लो पंक्तिले राजिनामा दिने, अभियानमा सहभागी नहुने, पार्टीमा निष्क्रिय हुने अवस्था बनेको छ भने उनी अध्यक्ष नहुदा पनि उनले असहयोग गर्ने र पार्टीलाई गति दिन नसकिने निष्कर्षमा पुगिएको एमालेका एक जिल्ला नेताले बताए ।

अब, एमालेमा रुपान्तरण कि यथास्थिति ? भन्ने बहस शुरु हुन्छ, एमाले रुपान्तरण गर्छौ, गर्ने अभियान सञ्चालन गर्छौ र रुपान्तरण हुन्छौ, ति जिल्ला सदस्यले भने, अब ओली बिनाको एमाले भन्ने साथीहरु पनि ओलीलाई अध्यक्षबाट हटाउनु पर्छ भन्ने लाइनमा आउदै हुनुहुन्छ, छिटै एउटा निष्कर्षमा पुग्छौ, उनको दृढ विश्वास छ । ८ वर्ष पहिला ओलीलाई सुन्न देश ब्याकुल हुन्थ्यो, ओली हेलिकप्टरमा सयर गर्दै चुनाव प्रचारमा निस्कदा, एमाले, एमालेसंग सहकार्य गरेको तत्कालिन नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता मात्रै होइन, अन्य पार्टीका नेता कार्यकर्ता र आम नागरिकको घुइचो लाग्थ्यो ।
२०७२ मा भारतीय नाकाबन्दीको डटेर सामना गरेका ओली एमालेका मात्र होइन राष्ट्रवादीका ‘ब्राण्ड’ बनेका थिए । एमालेले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जवज) र मनमोहन अधिकारीको ‘आफ्नो गाउँ आफै बनाऔ’ ‘सामाजिक सुरक्षा भत्ता’ लाई जसरी ब्राण्ड बनाएको थियो, चुनावी नारा बनाएको थियो, त्यसैगरी ‘नाकाबन्दीको सामना’ र ‘चुच्चे नक्सा’ लाई ब्राण्ड बनाउन खोज्दै थियो । विगतमा मदन भण्डारीको ‘सिद्धान्त’ र मनमोहनको ‘कार्यक्रम’लाई ब्राण्ड बनाएको एमालेले पछिल्लो समय ओलीका कार्यक्रम भन्दा पनि ओलीलाई ‘ब्राण्ड” बनाउन खोज्दा समस्या देखिएको हो ।

‘आज होइन भोलीलाई, दश वर्ष ओलीलाई’ जस्ता नारा लगाउने, ओलीका वरिपरी बस्नेहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखेरल, विष्णु रिमाल, खगराज अधिकारी, महेश बस्नेत लगायतले १० वर्ष ओलीको विकल्प छैन भन्दै आएका थिए । मदनको सिद्धान्त र मनमोहनको कार्यक्रमलाई ब्राण्ड बनाएर ३ दशक राजनीति गरेको एमालेले ओलीलाई व्यक्तिगत ब्राण्डिङ गर्न शुरु गरेपछि, व्यक्ति पुजनमा सक्रिय भएपछि नै ओली विरोधी अभियान तिब्र बन्यो, कार्यक्रम, योजना, नीति सिद्धान्त भन्दा बढी ओलीलाई ब्राण्ड गराउन खोज्दा आज त्यही ब्राण्ड निल्नु न ओकल्नु हुने अवस्थामा पुगेको छ ।
ओलीलाई ब्राण्ड बनाउन खोज्दा आज एमाले अस्पतालको बेडमा पुगेको छ, अझै पनि नसच्चिए ओली मात्रै होेइन, सिंगो एमाले कोमामा जाने निश्चित छ ?

तर, ओली एण्ड कम्पनीले जसरी योगेशहरुको प्रतिवाद शुरु गरेका छन्, त्यसबाट बुझ्न सकिन्छ, ओलीले सहजै छोड्नु पर्छ,, छोडेनन् भने अप्रिय निर्णय लिन्छौ भनेको योगेशको अभिव्यक्ति उनकै लागि गलपासो बन्ने त होइन ? योगेशको प्रस्तावित ‘अप्रिय’ निर्णयमाथि ओलीले आजै चिसो पानी खन्याइदिएको चर्चा बजारमा शुरु भएको छ ।

 

 

  • २०८२ फाल्गुन ३०, शनिबार