बागलुङ । कालिका मन्दिरको इतिहाससंग जोडिएको चैते दशैं मेला मंगलबारदेखि शुरु भएको छ । नेपालकै पुरानो मेलाको रुपमा रहेको चैते दशैंमा स्थानीय उत्पानको बजारीकरण हुने गर्दछ ।
चैते दशैंको अवसरमा बागलुङ कालिकामा सबैभन्दा बढी धार्मिक पर्यटक भित्रिदै आएका छन् । मन्दिरको किम्दन्तीसंग जोडिएको मेला वार्षिक रुपमा लगाइने गरिएको छ । मंगलबार चैते दशैं मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गनुएभएको थियो । उद्घाटनपछि बोल्दै पोखरेलले मेलाले स्थानीय उत्पादनको बजारीकरण र धार्मिक पर्यटक भित्राउन सघाएको बताउनुभयो । मेला उद्घाटन समारोहमा झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, गुठीका सल्लाहकार मन कुमारी केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काको अध्यक्षता तथा पत्रकारद्वय सृजना पन्त र तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
कालिका मन्दिरको ऐतिहासकितासंग जोडिएको चैते दशैं मेला झण्डै तीन सय वर्ष भन्दा पुरानो मेलाको रुपमा लिइएको छ । परम्पराकालमा कालिका मन्दिर आउने भक्तजनहरुले कुटो, कोदालो, डाला, नाङ्ला र ठेका ठेकी खरिद बिक्री गर्नेभएकाले मेलाको रुपमा लिइएको थियो । यस वर्ष चैत दशैं मेला चैतको १४ गते सम्म सञ्चालन हुनेछ ।
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले हरेक वर्ष चैते दशैंको अवसरमा मेला आयोजना गर्दै आएको छ । बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा लाग्ने ठूलो मेला भर्न नेपालका मुख्य–मुख्य ठाउँबाट समेत आउने गरेका छन् । चैते दशैंमा मन्दिर दर्शनका लागि समेत आउने भक्तजनहरुको उल्लेखय भीड रहेको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले परम्परा धान्दै मेलालाई निरन्तरता दिएको बताउनुभयो । कालिका मन्दिर स्थापनाको डेढ÷दुईसय वर्षपछि मेला आयोजना गरिदै आइरहेको छ । ३०० वर्ष भन्दा पुरानो बागलुङको चैते दशैं मेलालाई परम्पराको निरन्तरता दिन गरिदै आइएको खड्काले जानकारी दिनुभयो ।
मेलाको परम्परा धान्दै कालिका मन्दिरको प्रचार–प्रसारमा सघाउन मेलाको ठूलो महत्व रहेको छ । मन्दिर परिसरमा स्थानीय तथा आयातित बस्तुको खरिद बिक्रका लागि स्टलहरु राखिनेछ भने लोक दोहोरी गीत, भलिबल लगायत विभिन्न सास्कृतिक आयोजना गरिएको छ ।

बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्दा मनोकाँक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौं खसी बोका, राँगा तथा हाँस र कुखुराको बलि दिने गरिन्छ ।
चैते दशैलाई वर्षभरी रकम जम्मा गरेर घरायसी सामाग्री खरिद गर्ने प्रचलन रहेपनि अहिले आधुनिक खेलौना र रमाइलो मेला समेत रही आएको छ । मेलामा डाली, नाङ्ला, ठेका ठेकी, आसी र बाउसा खरिद बिक्री हुने गरेको छ । चैते दशैँ मेलामा तीन लाख पुरस्कार राशिको कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, एक लाख पुरस्कार राशीको खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।