मुलुकमा गणतन्त्र स्थापनाको दुइ दशकमा पहिलो पटक निर्वाचन भएपछि एउटै पार्टीले स्पष्ट बहुमत ल्याएको हुनाले राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दिन तोकेर दलहरुलाई सरकार गठनका लागिबश आव्हान गर्न परेन । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जित्न सफल भयो । उक्त पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको छ ।नेपालको संविधान २०७२ मा व्यवस्था भएको निर्वाचन प्रणाली अनुसार बहुमत प्राप्त गर्न कठिन हुने चर्चा परिचर्चा हुने गर्दथ्यो, तर पछिल्लो चुनावले बहुमत ल्याउनका लागि संविधान बाधक होइन रहेछ भन्ने पुष्टी गरिदियो । राजनीतिमा एजेण्डा प्रमुख हो भन्ने कुरा सबै राजनीतिक दललाई यति बेला प्रष्ट भएको हुनुपर्छ ।
सामान्य बहुमत ल्याउनका लागि चुनाव अगावै गठबन्धन गर्ने निकट पूर्वका गतिविधिले जनता व्याकुल थिए । सत्तामा जानकै लागि विचार नमिल्ने, भावना नमिल्ने, चाहना नमिल्ने, हिजो प्रमुख दुश्मन भएका शक्तिहरुबीच गठबन्धन गरेर तलका नेता कार्यकर्ता र समर्थक शुभेच्छुकहरुलाई मत फेर्न लगाउने पुराना दलहरुका गतिविधिबाट रुष्ट भएका मतदाताले यसपटकको निर्वाचनमा सर्लक्कै मत फेरेर सुध्रनका लागि कडा चेतावनी दिएका छन् ।
पछिल्लो दशकमा नेपालको राजनीति ‘तीन दलका तीन नेता’ को वरिपरी घुम्यो । सबै पार्टीमा प्रमुख नेताको आड भएपछि अवसर पाइने भएका कारण वरिपरीको झुण्डले जनता, कार्यकर्ता र मुलुकको बारेमा चिन्ता गरेनन् । तीन नेताको सिण्डीकेट जस्तै भएको पछिल्लो एक दशकको राजनीतिको केन्द्र यतिबेला फेरिएको छ । राजनीतिमा सधै एउटै शक्ति र एउटै व्यक्तिको वर्चस्व रहदैन, आवधिक निर्वाचनमार्फत र आन्दोलनको बलमा राजनीतिक शक्तिहरु परिवर्तन हुने गर्दछन्, यसपटक जेनजी आन्दोलनका कारण २ वर्ष पहिला नै भएको निर्वाचनमा जनताले दिएको अभिमतबाट रवि लामिछाने र बालेन्द्र शाह (बालेन) को कोर्टमा राजनीतिको कोर्ष पुगेको छ । २०१५ सालपछि पहिलो पटक दुइ तिहाइको नजिकको जनमत एउटै पार्टीलाई प्राप्त भएको छ । यो जनमतका लागि अगुवाई रास्वपाका संस्थापक सभापति रवि लामिछाने र काठमाडौं महानगरका निवर्तमान नगर प्रमुख बालेन शाहले गरेका छन् ।
एउटा पार्टी सभापति र अर्को प्रधानमन्त्री भएर देश चलाउने प्रतिवद्धताका साथ चुनावमा होमिएको रास्वपालाई नेपाली जनताले उत्पातै विश्वास गरेका छन, भरोशा गरेका छन् । विगतका कमी कमजोरीबाट पाठ सिकेर अब साच्चिकै नयाँ युगको शुरुवात हुन्छ भन्नेमा कम्तिमा रास्वपालाई मत दिने ५१ लाख मतदाता ढुक्क छन् । काम हेरेर थप मतदाता र आम जनताले नै विश्वास गर्ने वातावरण बनाउने जिम्मेवारी रवि–बालेनको काँधमा आएको छ । रास्वपाले आज पाएको भन्दा केही कम जनमतको सरकार २०७४ मंसिरमा भएको निर्वाचनमा चुनावी तालमेल गरेका नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रले पनि पाएका थिए । प्रचण्डको समर्थनमा १७७ सिट सहित २०७४ फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री भएका थिए । ओली र प्रचण्डले सरकारको नेतृत्व आधा आधा गर्ने, दुवै जना अध्यक्ष रहने, पार्टी निर्णयमा दुवै अध्यक्षले प्रमाणित गरेपछि मात्रै कार्यान्वयन हुने लगायतको सहमति गर्दै २०७५ जेठ ३ गते मदन–आश्रीत स्मृति दिवसका दिन पार्टी नै एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाए । दुइ तिहाइ नजिकको जनमत भएको सरकारको नेतृत्व गरेका ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डले आफुहरुलाई जहाजको होइन, ‘जेटका दुइ पाइलट’ को संज्ञा दिए । हामीले हाँकेको सामान्य जहाज होइन, यो जेट विमान हो, यसलाई एकजना पाइलटले अवतरण गर्न सक्दैन, उनीहरुले भाषणका क्रममा भन्ने गर्थे ।
उनीहरु यति धेरै उत्साहित थिए कि ? अबको २० वर्ष नेपालमा बामपन्थीको सरकार बन्छ, नेकपाको नेतृत्व रहन्छ भन्ने दावी गर्थे । नेता कार्यकर्तामा यस्तो उत्साह थियो कि अबको २ दशक राज्यसत्तामा हामी नै हुन्छौ भन्ने देखिन्थ्यो । ओली प्रचण्डको आड लिन पाए नेता भइहालिन्छन, अवसर पाइहालिन्छ भन्ने मनोविज्ञान तलसम्म बनेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेर बहादुर देउवा हुने भए, अब नेपाली कांग्रेस फर्केर सत्तामा कहिल्यै आउदैन भन्ने उद्घोष गरे, नेकपाको विकल्प छदै छैन, हुनै सक्दैन जस्ता भाषण गर्दै हिडे । देउवा नै कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भए, अब कांग्रेसबाट प्रधानमन्त्री हुने अवस्था रहदैन भन्ने उद्घोष गरेका ओली–प्रचण्डबीचको विवाद यसरी बढ्यो कि ? २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विटघन गर्न पुगे । कहिले कुर्सी ठुलो र सानो भएको विषयमा झगडा, कहिले आलो पालो प्रधानमन्त्रीको विषयमा झगडा, कहिले एउटाले अध्यक्ष र अर्कोले प्रधानमन्त्री चलाउने विषयमा झगडा । ओली प्रधानमन्त्री भएको २ वर्षसम्म त ठिक ठिकै थियो, त्यसपछि दुइ नेता र ति नेताका आसेपासेहरुबीच शुरु भएको विवादले अन्तत नेकपालाई विभाजित मात्रै गरेन् सिंगो बामपन्थी शक्तिलाई अन्यौलमा पारिदियो । बामपन्थी राजनीतिमा आफ्नो भविष्य देखेर सारा अवसरलाई वास्ता नगरेर राजनीतिमा होमिएका लाखौ कार्यकर्तालाई दुइ नेताले सनकका भरमा, आफ्नो पद जोगाउने र हत्याउने नाममा तहस नहस बनाइदिए ।
पार्टीको आन्तरिक विवाद बढ्दै गएपछि आफ्नो सत्ता जोगाउन, पार्टी आफ्नो नियन्त्रणमा राख्नका लागि ओलीले संसद विघटन गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन गलत भएको निर्णय सुनायो, ओली कर्नरमा परे, ओली राज सकिने भयो भन्दै खुशीयाली मनाएका, अझै भनौ केक नै काटेर खाएका प्रचण्ड–माधवको खुशी धेरै दिन टिक्न सकेन, फागुन २३ गते सर्वोच्चले नेकपाको विवाद सम्बन्धी सुनुवाईमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदियो । त्यसपछि एमाले र माओवादी दुइ पार्टी भए, एमालेको एउटा पक्ष खुशी भयो एमालेको एउटा पक्ष र माओवादीले आन्दोलन गरे, २०७८ साउन २८ गते सर्वोच्चले शेर बहादुर देउवालाई प्रधानमन्त्री चयन गर्न निर्देशन दियो । एमाले विभाजन भयो, माधव नेपाल, झलनाथ खनालहरुले नेकपा एकीकृत समाजवादी बनाए, समय क्रममा नेकपा एस, नेकपा माओवादी केन्द्र लगायतका पार्टी मिलेर यतिबेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । २०७४ मा सम्पन्न संसदीय निर्वाचनपछिको ८ वर्षमा नेपालको राजनीति निकै उतार चढावका साथ अगाडि बढेको छ । ५ वर्षे त्यो संसदीय अवधीमा केपी ओली, शेर बहादुर देउवा, प्रचण्ड र पुनः शेर बहादुर देउवा प्रधानमन्त्री भए । २०७९ को स्थानीय निर्वाचनमा कांग्रेस, माओवादी, एस सहितका ५ दलबीच चुनावी गठबन्धन भयो । त्यही चुनावमा काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङले स्वतन्त्र उम्मेदवार बनेर नगर प्रमुख पदमा विजय प्राप्त गरे । असारमा रवि लामिछानेको नेतृत्वमा रास्वपाको स्थापना भयो । मंसिरमा भएको निर्वाचनमा कांग्रेस माओवादी सहितको ५ दलीय गठबन्धनसंग प्रतिस्पर्धा गरेको रास्वपा २१ सिट सहित संसदको चौथो दल बन्यो । रास्वपाको उदयसंगै नेपालको राजनीतिमा पुराना दल र नेताहरुप्रतिको मतदाताको धारणा फरक हुदै गएको थियो । जनताले नयाको आशा गरेका थिए । तर त्यसपछि पनि प्रमुख दलका प्रमुख नेताहरुको दल अदल बदलका कारण मुलुकवासीमा थप निरासा बढ्दै गयो, आक्रोश बढ्दै गयो ।
२०८१ असारमा संसदका दुइ प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका दुइ प्रमुख नेता ओली र देउवाले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने गरी जव सत्ता साझेदार बने त्यसपछि नेपाली कांग्रेस र एमाले भित्रका कार्यकर्ता र आम जनतामा थप आक्रोश बढ्दै गयो । रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीको आरोप लाग्यो, रास्वपाले सभापति माथि प्रतिशोध साधिएको भन्दै आन्दोलन ग¥यो । काम केही नगर्ने, सत्तामा जानका लागि मात्रै गठबन्धन गर्ने, गठबन्धन पनि कहिले यता कहिले उता गर्ने प्रवृतिका कारण विशेष गरी युवा पुस्तामा आक्रोश बढ्दै गएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु, पार्टीको आन्तरिक शक्ति संघर्ष लगायतका कारण परिस्थिति प्रतिकूल बनिरहेको थियो, ठिक त्यही समयमा सरकारले सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगायो, जेनजी समुहले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध फुकुवा र भ्रष्टाचारको अन्त्यको माग गर्दै २०८२ भदौ २३ र २४ मा आन्दोलनको आव्हान गरे । प्रधानमन्त्रीले आन्दोलनकारीहरुसंग सम्वाद गर्नुका सट्टा खिसीट्यूरी गर्ने काम गरे, कोशी प्रदेशका एक मन्त्रीको गाडीले एक किशोरीलाई ठक्कर दियो, विरोध भयो, प्रधानमन्त्रीले आफ्नो पार्टीको विधान महाधिवेशन विथोल्ने प्रयत्नका रुपमा प्रचार गरे । यि सबै कारणले स्थिति भड्कदै गयो । २३ गते १९ जना विद्यार्थीको हत्या भयो, त्यसको प्रतिवादका नाममा २४ गते ऐतिहासिक सम्पदाहरु जलाउने काम भयो । थुप्रै युवाको ज्यान गयो ।
जेनजी आन्दोलनका पक्ष विपक्षका विषयमा थप छलफल गर्न सकिएला तर त्यही आन्दोलनका बलमा बनेको अन्तरिम सरकारले फागुन २१ गतेका लागि आव्हान गरेको प्रतिनिधिसभा निर्वाचनले पुराना दल, तिनका प्रमुख नेता र समग्र उम्मेदवारहरुलाई झड्का दिएको छ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र एमालेका अध्यक्ष ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन लगायत वरिष्ठ नेताहरु निर्वाचनमा पराजित भए्, नेकपाका संयोजक प्रचण्ड सुरक्षित क्षेत्र खोज्दै पश्चिम रुकुम पुगेर जित निकाल्न सफल भएका छन्, यद्यपी उनको पार्टी भने धेरै कमजोर सावित भएको छ । २०४६ को परिवर्तन पछि अधिकांश समय सत्तामा बसेका कांग्रेस एमाले र गणतन्त्र स्थापना पछि अधिकांश समय सत्तामा बसेको नेकपा यतिबेला प्रतिपक्ष, त्यो पनि सारै सानो आकारमा संसदमा सहभागी हुदैछन् । पार्टीमा बहुपदीय प्रणाली भए पनि व्यवहारिक रुपमा प्रमुख नेतामा केन्द्रीत हुदै गएका पुराना प्रमुख तीन दलको विरासत यतिबेला गल्र्याम्म ढलेको छ । राजतन्त्रका विरुद्ध संघर्ष गरेर गणतन्त्र ल्याएका राजनीतिक दलहरुले राजनीतिमा बिरासतको कुरा गरे, अमुक वडालाई अमुक पार्टीको गढ, आधार इलाकाका रुपमा अथ्र्याए । तर आज ति सबै बिरासत र गढहरु भत्किएका छन्, धरमराएका छन् ।
यो अवस्था आउनुका पछाडि उनीहरुले स्वदेशी विदेशी धेरै शक्तिलाई दोष दिएका छन्, पार्टीका तल्लो तहका नेता कार्यकर्तालाई दोष दिएका छन् र अझै मतदातालाई नै कोस्ने काम समेत गरेका छन् । आज जुन अवस्था आएको छ, त्यो अवस्था आउनुमा दशकौदेखि पार्टीको मुल नेतृत्वमा रहेका नेताहरु, उनीहरुलाई सल्लाह सुझाव दिने र अवसर लिने केही किचेन क्याबिनेट लगायतको भूमिका महत्वपूर्ण रहेकोछ । तलसम्म सेटिङमा काम गर्ने, काम गरे वापत जनतासंग फाइदा खोज्ने, बजेट विनियोजन गर्दा हाकाहाकी कमिशन माग्ने, योग्यता क्षमता र सिर्जनशिलता भन्दा पनि पार्टी, गुट, भेग, क्षेत्र, लिंग, जात धर्म हेरेर जनताका काम गर्ने प्रवृति पनि यो समग्र संकटको कारक हो र यसमा माथिदेखि तलसम्मका प्राय नेता कार्यकर्ता संलग्न रहेको देखिन्छ । जे होस, जनताले दलहरुलाई यसपटक गतिलै चेतावनी दिएका छन्, दण्ड गर्न पर्ने अवस्थामा नपुग्नका लागि सचेत बनाएका छन् । अब पनि नसुध्रे अर्को पटक दण्ड नै दिने अवस्था पनि आउन सक्छ । यसपटक जनताले मन फेरेका छन्, मत फेरेका छन् र मुलुकको राज्यसत्ताको बागडोर सम्हाल्ने जिम्मेवारी रवि–बालेनको हातमा थमाइदिएका छन् । हिजो प्रश्न गर्ने, हिजो आलोचना गर्ने, पुरानाहरुले ३५ वर्ष केही गरेनन् भन्ने भाष्य सिर्जना गर्ने समुहको अगुवाई गरेका, सत्ताको विरोधमा युवा शक्तिलाई संगठित गराउने अगुवा यि दुइ जनाको जिम्मामा अब नेपालको राज्यसत्ताको जेट बिमान चलाउने जिम्मेवारीमा आएको छ । यद्यपी रास्वपाले निलो बसको अभियान सञ्चालन गरेको हुनाले यस आलेखमा ब्ल्यू बसको प्रसंग जोडेको छु ।
हिजो ओली–प्रचण्डले जसरी अबको २० वर्ष नेकपाको सरकार ? भन्ने उद्घोष गरेका थिए, नेपाली कांग्रेसबाट अन्तिम प्रधानमन्त्री शेर बहादुर देउवा भए, अब नहुने भए भन्दै थिए । उन्माद जस्तो थियो, काम त्यस्तो भएन, जेटका दुइ पाइलट मध्ये एक पाइलट (प्रचण्ड) ले नै देउवालाई प्रधानमन्त्री बनाउन अगुवाई गर्ने अवस्था सिर्जना भयो । जनताले दिएको अभिमत भन्दा ठुलो कुर्सी भयो, पद भयो, शक्ति भयो, गुट भयो, पैसा र अवसर भयो । विश्वका धेरै देशबाट हराउदै गएको बामपन्थी शक्तिलाई नेपाली जनताले दुइ तिहाइको नजिकको जनमत दिदा पनि यिनले चेतेनन्, चेतेनन् मात्र होइन, जनताको अभिमतको यसरी अपमान गरे कि, जनताले शान्तिपूर्ण रुपमा अस्वीकार गरिदिए, आज त्यसैको प्रतिफल भोग्दैछन् । के अब नेपालमा कम्युनिष्टहरुको भविष्य छ ? भन्ने विषयमा आज नेकपा एमाले, नेकपा र राजमो लगायतका दलहरुका गढ भनिएका ठाउँमा छलफल शुरु भएको छ । कत्तिले त यो मुलुकमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी, यो मुलुकको अन्तिम कम्युनिष्ट प्रधानमन्त्री पनि नेकपा एमाले कै अध्यक्ष केपी शर्मा ओली सम्म भन्न भ्याएका छन्, यसो भन्नेहरु अन्य दलका नेता कार्यकर्ता नभएर स्वयं एमालेकै नेता कार्यकर्ताहरुका बीचमा यो खालको चर्चा हुन थालेको छ । यि सबै कुरा कांग्रेस कम्युनिष्टले प्रत्यक्ष भागेका छन्, तर रास्वपालाई यो देखेर सजग हुने अवसर छ, जनताले यसरी विश्वास गरेका छन् कि तिमीहरुले नै देशलाई त्राण दिन सक्छौ, निरास भएको युवा पंक्तिलाई यो देशमा केही हुन्छ ? भन्ने आशा जगाउन सक्छौ । जनताले गरेको आशामा तुषारापात गर्नुको अर्थ के हुन्छ ? नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को विगत र वर्तमानलाई स्मरण गर्दा पुगि हाल्छ । आज रास्वपाले जसरी जनताको अधिकतम अभिमत पाएको छ, उत्साहजनक साथ पाएको छ, यस्तो अभिमत पुराना दलहरुले पटक पटक पाएकै थिए, अभिमत पाएर मात्र पुग्दैन, त्यसलाई जोगाउनका लागि निर्मम हुनै पर्छ ।
रास्वपालाई केही अवसरहरु छन्, नेतृत्वलाई नेता र सांसदहरुको गुनासोलाई लिएर तनाव लिन पर्ने अवस्था छैन, किनकी पार्टी निर्माण भएकै ३ वर्षको बीचमा यसले यति ठुलो जनमत पाएको छ । कार्यकर्ताका गुनासा पनि धेरै छैनन्, पार्टीमा यत्रो योगदान गरेको थिए, अवसर पाइएन भन्नेहरुलाई पनि पार्टी निर्माण भएकै ४ वर्ष पुरा भएको छैन भन्न मिल्ने ठाउँ छ । जनताले पनि पुरानाले केही गरेन भनेर साथ दिएका छन्, आखा चिम्लेका छन्, वर्षौ आफुले निर्माण गरेको पार्टीलाई समेत त्यागेर मत दिएका हुनाले उनीहरुले पनि विकास होस, परिवर्तन होस् भन्नेमा साथ दिन्छन् नै । यस्तो बेला रास्वपा हिजो दलहरुले गरेकै पारामा विचौलियाको फन्दामा पर्ने, जनताको काम गरे वापत घुस खानेहरुको जालोमा फस्ने, पैसा दिएर काम पट्याउनेहरुको चंगुलमा पर्ने जस्ता कार्य भए भने फेरी पनि मुलुक अगाडि बढ्दैन्, मुलुक मात्र अगाडि नबढ्ने होइन, स्वयम् रास्वपा पनि अगाडि बढ्दैन, रास्वपाका नेता कार्यकर्ताले जीतको उन्माद होइन, जनताको अभिमतको जिम्मेवारीको भारी बोकेको रुपमा ग्रहण गर्न जरुरी छ । ओली–प्रचण्डले जनताले दिएको जेट रुपी बिहान अवतरण गराउन नसक्दा आज माइक्रोबस व्यवस्थापन गर्नु पर्ने अवस्थामा पुगेका छन्, आज जेटका दुइ पाइलट बनेका रवि–बालेनले उनीहरुकै पदचाप पछ्याए भने नियती त्यस्तै नहोला भन्न सकिन्न । आगे जो मर्जी ।