• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

नेपाल मावि ताराखोलाको ‘१२ घण्टे विद्यालय’ कार्यक्रम

पुस्तान्तरण नहुँदा हाम्रो स्थानीय सीप र संस्कृतिक सबै लोप हुने अवस्थामा पुगेका छन्,त्यसका लागि बालबालिकालाई खेल्दै त्यसलाई अनुभव र अनुसरण गर्ने वाताबरण सिर्जना नगरी यसको पुस्तान्तरण हुँदैन भन्ने हामीलाई लाग्यो,त्यसकारणले पनि हामीले साना बालबालिकालाई बढि फोकस गरेर यो कार्यक्रम अगाडि सारेका छौं”अध्यक्ष खत्री

बागलुङ । जिल्लाको ताराखोला गाउँपालिका–४मा रहेको नेपाल माध्यमिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारसँगै पशु प्राविधिक शिक्षामार्फत सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । प्राविधिक शिक्षा,आधारभुत तहमा अग्रेजी अध्यापनसँगै आफुलाई अब्बल सावित गरेको विद्यालयले पछिल्लो समय बालबालिकालाई आचरण सिकाउने भएको छ ।

जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँमा रहेको विद्यालयलले आउदो शैक्षिक सत्रबाट बालबालिकालाई आचरण सिकाउनकालागि ‘१२ घण्टे विद्यालय’ कार्यक्रम बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमा राख्ने निर्णय गरेको हो । पछिल्लो समय साना उमेरका बालबालिकाहरु मोबाईलको लतमा पर्ने र अन्य आनीबानी र व्यवहारपनि सामाजिक हुन नसकेको देखिएकाले यो कार्य गर्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रकाश रोकाले बताउनु भयो । “अहिले साना बालबालिकाहरु मोबाइलको लतमा फस्ने, पढाईमा ध्यान नदिने, सामाजिक आचरण र बानी व्यवहार पनि अनुसरण नगर्ने देखिएको छ,” उहाँले भन्नु भयो ।

कुल चार सय ११ जना विद्यार्थी संख्या रहेकोमा पशु विज्ञापन तर्फ ३९ विद्यार्थी अध्यापनरत रहेका छन् । विद्यालयले आधारभुत तहकोलागि अग्रेजी माध्यममा अध्यपन गराउदै आएको छ । कक्षा १–५ मा अध्यायन गर्ने बालबालिकालाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमा राखेर बानी व्यवहार र आचरण सिकाउने उहाँको भनाई छ । “अभिभावकले आफ्ना बालबालिकालाई बिहान ६ बजे विद्यालय ल्याएर छोड्नुहुन्छ, साँझ ६ बजे लिन आउनुहन्छ ,हामीले त्यो बीचमा विद्यार्थीलाई नियमित पठन पाठनसंगै सामाजिक आहार विहार र चालचलन पनि सिकाउँछौं,हरेक दिन दुई चरणमा बालबालिकालाई सामाजिक आनीबानी र व्यवहार आचरणका कुरा सिकाउँछौं”उहाले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्री(दिवस)का अनुसार बालबालिकालाई रैथाने संस्कृति र सीपहरु समेत सिकाउनकालागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

“पुस्तान्तरण नहुँदा हाम्रो स्थानीय सीप र संस्कृतिक सबै लोप हुने अवस्थामा पुगेका छन्,त्यसका लागि बालबालिकालाई खेल्दै त्यसलाई अनुभव र अनुसरण गर्ने वाताबरण सिर्जना नगरी यसको पुस्तान्तरण हुँदैन भन्ने हामीलाई लाग्यो,त्यसकारणले पनि हामीले साना बालबालिकालाई बढि फोकस गरेर यो कार्यक्रम अगाडि सारेका छौं”अध्यक्ष खत्रीले भन्नुभयो ।
सीपलाई बानी व्यवहारकै रुपमा सिकाउन सकिए जगेर्ना गर्न सकिने उहाँको विश्वास छ । वि.सं२०२६ सालमा स्थापना भएको विद्यालयले नमुना विद्यालय अन्तर्गत २०७७ सालबाट पशु विज्ञान कार्यक्रम सञ्चालन गरिरहेको छ । ताराखोला गाउँपालिकामा अधिकांस नागरिक कृषि र पशुपालनका क्षेत्रमा लागेकाले स्थानीय समुदायसंगको छलफलको आधारमा पशुविज्ञान कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विगतका वर्षहरुमा प्राविधिक धारतर्फ न्यून विद्यार्थीको सहभागिता भएपनि यस वर्षबाट झण्डै तीन गुणा वृद्धि भएको विद्यालयले जनाएको छ । पशु विज्ञापन अध्यायन गर्ने विद्यार्थीलाई अभ्यास गर्नका लागि विद्यालयले आफ्नै पशु फार्म सञ्चालन गरेर भैंसी र बाख्रापालन गरेको छ । विद्यालयमा विद्यार्थी आकर्षण गर्नका लागि स्वैच्छिक छात्राबास सञ्चालन गर्ने, विद्यालय बस सञ्चाल गर्ने योजना अगाडि सारेको छ । विगतमा कक्षा १० र कक्षा ८ का विद्यार्थीका लागि मात्रै सञ्चालन गरिएको छात्राबास आउने शैक्षिक शत्रदेखि कक्षा ८ देखि माथि सबैका लागि सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

विद्यालयको भौतिक निर्माणको काम लगभग सकिएकाले अब शैक्षिक विकासमा विद्यालय केन्द्रित हुने अध्यक्ष खत्रीको भनाई छ ।