• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

ढोरपाटन हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने सम्भावना छ : मन्त्री रिमाल

बागलुङ । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले हाप्किडो तथा मार्सल आट्र्सको प्रशिक्षण शिबिर तथा खुल्ला प्रतियोगिताले ढोरपाटन क्षेत्रको सम्भावना उजागर गरेको बताउनुभएको छ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ पाखाथरमा आयोजित गण्डकी प्रदेश स्तरीय हाप्किडो मार्सल आट्र्स उच्च उचाइ प्रशिक्षण, खुल्ला प्रतियोगिता तथा खेल पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिमालले ढोरपाटनलाई ‘हाई अल्टिच्युड स्पोट्र्स ट्रेनिङ हब’ का रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

उहाँले उच्च उचाइमा आयोजना हुने प्रशिक्षणले खेलाडीको शारीरिक तथा मानसिक क्षमता दुवैमा उल्लेखनीय सुधार ल्याउने बताउनुभयो । “यस्तो प्रशिक्षणले खेलाडीको सहनशक्ति बढाउने, श्वासप्रश्वास प्रणाली मजबुत बनाउने, शारीरिक फिटनेस सुधार गर्ने र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने काम गर्छ,” मन्त्री रिमालले भन्नुभयो ।

ढोरपाटन आरक्ष क्षेत्र भएकाले यहाँको विकाससँगै प्राकृतिक संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रकृतिको मौलिकता जोगाउँदै पूर्वाधार विकास, सडक पहुँच विस्तार तथा प्रभावकारी प्रचार–प्रसारमार्फत क्षेत्रको समग्र विकासमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रम नेपाल हाप्किडो संघ गण्डकी प्रदेश तथा बाग्लुङ जिल्ला हाप्किडो संघको व्यवस्थापनमा सञ्चालन गरिएको हो । हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दक्षिण एसियाली हाप्किडो महासंघ तथा नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगर, केन्द्रीय उपाध्यक्ष तारामाया थापा, शिक्षक चक्रबहादुर अदै लगायतले मन्तव्य राख्दै यस्ता कार्यक्रमले खेलकुद विकाससँगै खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य सीता गुरुङ, खेम पुन लगायतको पनि उपस्थिति रहेको थियो ।

छ प्रदेशका १०० भन्दा बढी खेलाडी सहभागी रहेको उक्त कार्यक्रममा प्रशिक्षण, प्रतिस्पर्धा तथा खेल पर्यटन प्रवद्र्धनका विविध गतिविधि सञ्चालन भइरहेका छन् । वैशाख १० गतेदेखि सुरु भएको कार्यक्रम वैशाख १२ गते समापन हुने आयोजकले जनाएको छ ।

प्रमुख प्रशिक्षक प्रविण गुरुङसहित खिम पुन, राजेन्द्र मदै, कालीबहादुर घर्ती र सुदीप तामाङलगायतले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।