बागलुङ । गण्डकी प्रदेशकोे प्रमुख शक्तिपीठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा तीन महिनाको अवधीमा रु. एक करोड ३८ लाख भेटी संकलन भएको छ ।
माघ, फागुन र चैत महिनामा कालिका मन्दिरमा मुल भेटी, भाडा, तथा अन्य सहयोग मार्फत रु. एक करोड ३८ लाख ८० हजार ५२० रकम संकलन भएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार माघ महिनामा रु. २६ लाख ४७ हजार २२५, फागुन महिनामा रु. ३५ लाख ९१ हजार १२० र चैत महिनामा रु.७६ लाख ४२ हजार १७५ भेटी संकलन भएको खड्काले बताउनुभयो ।
चैते दशैंको अवधीभर बागलुङ कालिका भगवती मन्दिरमा रु. ३७ लाख भेटी संकलन भएको थियो । मन्दिरमा वर्षभरीकै सबैभन्दा बढी भक्तजन आउने चैते दशैंको नवरात्रको अवधीभर रु.३७ लाख २५ हजार ५५५ रकम संकलन भएको थियो । बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यस वर्ष आएका सात लाख भन्दा बढी दर्शनार्थीहरू आएका थिए ।
“चैते दशैंमा बढी भेटी संकलन हुन्छ, धेरै दर्शनार्थी आउने भएका कारणले, सबैभन्दा धेरै भक्तजन र धेरैै भेटी संकलन भएको छ चैतमा मात्रै ७६ लाख बढी आम्दानी भएको छ, जसमध्ये ४१ लाख रकम त चोखो भेटीमात्रै हो, त्यसपछि चामाल, बलीको भाडा, सहयोग संकलन भएको थियो” खड्काले भन्नुभयो “हाम्रो कार्यकाल आएपछि माघ, फागुन र चैतमा संकलन भएको रु. एक करोड ३८ लाख ८० हजार ५२० रकम मध्ये पूर्वाधार निर्माण, चैते दशैंको मेलाको खर्च, तलब भत्ता लगायतमा रु.५९ लाख ८५ हजार ४२० खर्च भएर रु.७८ लाख ९५ हजार १०० बचत भएको छ ।”
माघ महिनामा रु.६ लाख ६४ हजार ६००, फागुन महिनामा ५ लाख ५३ हजार ८०५ र चैतमा ४७ लाख ६६ हजार ९१५ रकम खर्च भएको छ । चैते दशैं मेला सन्चालनका लागि मन्दिरले प्रत्यक वर्ष रु. २० लाख खर्च खर्दै आएको छ ।
कालिका मन्दिरको मुल कोषमा बचत भएको रकम जम्मा गरिदै आएको र अहिले सम्म मुल कोषमा ७ करोड ९१ लाख रकम संकलन भइसकेको बताउनुभयो ।
बागलुङ कालिका मन्दिरमा वडा दशैं र चैते दशैं अनि शनिबार र मंगलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, चामाल बिक्री, मन्दिरको सडक भाडा लगायथ मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी जोडिने गरिएको खड्काले बताउनुभयो ।
विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गर्नुभएको थियो । विवाहमा राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थान सम्म ल्याइएको थियो । राजकुमारी कालिका देवि भएको अनन्य भक्त समेत हुनुहुन्थ्यो । त्यही कालिका देविको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।