बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा कृषक लक्षित कार्यक्रमअन्तर्गत मिनिटेलर हलो वितरण गरेको छ । कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नगरपालिकाले आधुनिक उपकरणमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकाको कृषि शाखाका अनुसार यस वर्ष ४८ वटा मिनिटेलर हलो वितरण गरिएको छ । उक्त कार्यक्रमकालागि नगरपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको जनाएको छ । वितरण गरिएका मिनिटेलरहरूमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ भने बाँकी रकम सम्बन्धित कृषकले व्यहोरेका छन् । जसमा नगरपालिकाको तर्फबाट रु २४ हजार ८ सय र व्यक्ती तथा संस्थाले २४ हजार आठ सय लगानी गरेका छन् ।
कृषि क्षेत्रलाई प्राथमिकता दिदै विगतको वर्षमापनि वितरण गरिएको र यस वर्षपनि कृषकको आवश्यतालाई मध्यनजर गर्दै मिनिटेलर वितरण गरिएको नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायत (कल्याण)ले बताउनु भयो ।
“हामीले कृषि क्षेत्रमा विभिन्न सामग्री अनुदान स्वरुप वितरण गर्दै आएका र्छौ, अहिलेपनि कृषकलाई आधुनिकतामा जोड्नकोलागि मिनिटेलर हलो वितरण गरेका हौ, यस वर्ष छुटेका किसानकालागि आगामी वर्षको बजेटमा समावेश गरेर जाने छौ” कार्यवाहक नगर प्रमुख कायतले भन्नुभयो ।
मिनिटेलर प्रयोगले खेत जोत्न, माटो पल्टाउन तथा रोपाइँअघि तयारी गर्न सहज हुने भएकाले कृषकको श्रम लागत घट्ने र उत्पादन वृद्धि हुने अपेक्षा नगरपालिकाले गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै कृषकलाई ५० प्रतिशत अनुदानमा हलो वितरण गर्ने भन्दै सिफारिसकोलागि आह्वान गरेको थियो । सिफारिस आएका कृषक तथा फार्मको नगरपालिकाले स्थलगत अनुगमन गरी प्राथमिकताको आधारमा वितरण गरिएको कृर्षी शाखाका सुरेन्द्र यादवले जानकरी दिनुभयो ।
कार्यवाहक नगर प्रमुख कायतको नेतृत्वमा छानोट समिति गठन गरिएको थियो । कृर्षी शाखाका अनुसार समुह,कृषि सहकारी व्यक्तीगत फार्म तथा नियमित कृर्षी गर्ने कृषक समेत अनुदानमा अटाएका छन् ।
स्थानीय कृषक अमर बहादुर क्षेत्रीले आधुनिक औजार पाएपछि खेती गर्न सजिलो भएको बताउनु भएको छ । उहाँले यस्ता कार्यक्रमले कृषि पेशामा आकर्षण बढाउने विश्वास व्यक्त गर्नु भयो । नगरपालिकाले आगामी वर्षहरूमा पनि कृषक लक्षित अनुदान तथा प्रविधि विस्तार कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ ।