बागलुङ । बढ्दो शहरीकरणका कारण कुरुप बन्दै गएको बागलुङ बजारलाई क्रमश शौन्दर्यकरणको काम थालिएको छ ।
बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका घरहरुको भित्ता पलाष्टर गरेर रङ्ग रोगन गर्ने, पुरानो विद्युतका पोल हटाउने, अव्यवस्थित तारका गुजिल्टो हटाउने कार्य अहिले धमाधम भइरहेको छ । नगरपालिकाले सार्वजनिक बिदाको सदुपयोग गदै नगर प्रहरी सहितका कर्मचारीलाई बजार शौन्दर्यकरणमा खटाइएको छ ।
जिल्ला सदरमुकाम बागलुङ बजारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित अव्यवस्थित इन्टरनेट, केवल टिभी तथा विद्युतका तार र पोल हटाउने अभियान तीव्र पारिएका बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । “बिदाको समयलाई सदुपयोग गर्दै बागलुङ बजार शौन्दर्यकरण भइरहेको छ, मुख्य १० चोकमा हाइमास्ट प्रविधिको लाईट जोडियो, इटाको जंगल जस्तो देखिन बागलुङ बजारका घरको बाहिर घरधनीले आफै पलाष्टर गरेर रंग लगाउदा आर्कषण देखियो” श्रेष्ठले भन्नुभयो “शनिबार र आइतबार बिदामा नगरप्रहरी सहित केही कर्मचारीको समूह दमकल, डोजर जगायतको सहायतामा अव्यवस्थित तार र पोल हटाउदै हिडिरहेको छ ।”
अहिले बागलुङ बजारको बाघचोक र समिक्षलयचोकमा डिजिटल बोर्ड, सडक बत्ती र फुटपाथका कारण बागलुङ बजार विस्तारै शौन्दर्यकरण भइरहेको पाइएको छ ।
बागलुङ बजारको स्वरूप नै बिगार्ने गरी जथाभावी टाँगिएका तार, अनावश्यक तार, ध्वजापताका, होर्डिङ बोर्ड तथा अनावश्यक पोल हटाउने काम अहिले तीव्र रूपमा भइरहेको छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम तथा ट्राफिक प्रहरी कार्यालय बागलुङको सहकार्यमा बजार क्षेत्रको सौन्दर्यकरणसँगै सवारी आवत–जावतलाई सहज बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्युत, टेलिकम, केवल टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूको संयुक्त अनुगमनपछि चिन्ह लगाइएका पोल र तार हटाउने काम सुरु गरिएको हो । अभियानअन्तर्गत हालसम्म बजार क्षेत्रमा करिब ५० वटा विद्युतका पोल हटाइसकिएको छ । पोलको स्तरोन्नती पश्चात समेत नहटाइएको पोल काट्न थालिएको छ ।
समिक्षलय चोकदेखि हल्लनचोक, धौलागिरी चोक, जिपपार्क, अस्पताल रोड, बालमन्दिर, लालीगुराँस चोक हुँदै गोदामघर क्षेत्रसम्म तार व्यवस्थापन र पोल हटाउने काम गरिएको छ । अहिले अदालत रोडमा तार हटाउने काम भइरहेको छ । प्रयोगमा नआएको विद्युतको तार, इन्टरनेटका तारलाई हटाइए र शौनदर्यकरण गरिएको छ ।
बजारलाई थप आकर्षक बनाउन पोलमा तीन मिटर उचाइसम्म चार थरीका रङ पोत्ने र गमला छुण्डाएर फुल रोप्ने नगरको योजना छ । अहिले बाघचोकका गमलामा फुल रोपिएको छ । नगरपालिकाले बिदाको दिनलाई छोपेर शौन्दर्यकरणको काम गरिरहेको फोहोर तथा बातावरण उपशाखाका संयोजक हरिनारायण उपाध्यायले जानकारी दिनुभयो । उहाँले दुई दिने सार्वजनिक विदालाई नगरपालिकाले शौन्दर्यकरणमा सदुपयोग गरिएको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणले नयाँ पोल जडान गर्दै पुराना पोल हटाउदै केबलतार विस्तार गर्दा नगरपालिकाको मुख्य बजार खतरा मुक्त समेत भइरहेको छ । बागलुङ बजारको सौन्दर्यकरण अभियान अन्तर्गत सार्वजनिक शौचालय, फुटपात सहितको नाली निर्माण, ऐतिहासिक पार्क पुननिर्माण, र नक्सा पास गर्दा घरको बाहिर अनिवार्य पलाष्टर गर्नुपर्ने लगायतका कामले शौन्दर्यकरण बढाइरहेको छ ।