• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

प्रवासबाट मातृभूमिमा योगदान : रजत जयन्ती मनाउदै बागलुङ समाज कोरिया

  • २०८३ जेष्ठ २३, शनिबार

बागलुङ । बागलुङबाट शिक्षा, व्यवसाय तथा रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका बागलुङेहरूको साझा संस्था बागलुङ समाज दक्षिण कोरियाले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा भव्य रूपमा रजत जयन्ती मनाउदैछ ।
समाजले जुन ७ तारिख आइतबार (भोली) दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको सभाहलमा रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

“प्रवासी भूमिमा बागलुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाजको आवश्यकता” भन्ने मूल नारासहित सन् २००१ मा स्थापना भएको समाजले विगत २५ वर्षदेखि प्रवासी नेपालीहरूको हकहित, आपतकालीन सहयोग तथा गृहजिल्ला केन्द्रित सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।

समाजका अध्यक्ष राजु नेपालीका अनुसार कार्यक्रममा जापानमा कार्यरत चर्चित लोकगायक सूर्य खड्काको विशेष प्रस्तुति रहनेछ । साथै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको सांस्कृतिक कार्यक्रम, नेपाली पञ्चेबाजा, मौलिक नृत्य तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू समावेश गरिएको छ ।

रजत जयन्तीको अवसरमा समाजको २५ वर्षे इतिहास, कोरिया र गृहजिल्लामा सञ्चालन गरिएका सामाजिक गतिविधि, बागलुङ जिल्लाको परिचय, कोरियामा रहेका स्रष्टाहरूका लेख, रचना तथा विभिन्न संघसंस्थाका शुभकामना सन्देश समेटिएको विशेष स्मारिकाको समेत विमोचन गरिनेछ ।

समाजका पूर्वअध्यक्ष, वरिष्ठ सल्लाहकार तथा रजत स्मारिका प्रकाशन समितिका संयोजक याम श्रीसले प्रवासमा रहे पनि आफ्नो जन्मभूमिप्रति दायित्व निर्वाह गर्ने उद्देश्यले बागलुङको पहिचान झल्कने स्मारिका प्रकाशन गर्न लागिएको बताउनुभयो । “हामी विदेशमा भए पनि आफ्नो जिल्ला, समाज र देशका लागि सकारात्मक योगदान दिनुपर्छ भन्ने सोचका साथ काम गरिरहेका छौं,” उहाँले भन्नुभयो ।

रजत जयन्ती मूल समारोहका संयोजक सुवास लामिछानेले संस्थाको स्थापना, विकास र सामाजिक अभियानमा महत्वपूर्ण योगदान पु¥याउने संस्थापक, पूर्वअध्यक्ष, अग्रज अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई विशेष सम्मान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार समाजको २५ वर्षे यात्रामा योगदान गर्ने अग्रजहरूको सम्मानमार्फत नयाँ पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्ने उद्देश्य राखिएको छ ।

कार्यक्रम सम्पन्न गर्न दक्षिण कोरियामा रहेका बागलुङे तथा शुभेच्छुकहरूबाट आर्थिक सहयोग संकलन गरिएको समाजले जनाएको छ । कार्यक्रमबाट प्राप्त रकममध्ये आवश्यक खर्च कटाएर बाँकी रहने रकम बागलुङ जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि अक्षयकोष स्थापना गर्न प्रयोग गरिने लक्ष्य राखिएको छ ।

समाजले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सन् २०११ मा सांगीतिक कार्यक्रमबाट बचत भएको रकमबाट ५ लाख ५० हजार रुपैयाँको असहाय स्वास्थ्य सेवा अक्षयकोष स्थापना गरिएको थियो । उक्त कोषमार्फत धौलागिरी अस्पताल बागलुङमा उपचाररत विपन्न बिरामीहरूलाई सहयोग प्रदान हुँदै आएको छ । आदर्श सञ्चार सहकारीमार्फत अस्पतालका विरामीलाई सहयोग प्रदान गरिने कोषमा हाल ११ लाख रुपैयाँभन्दा बढी पुगेको र १२० जना भन्दा बढी बिरामीले प्रत्यक्ष लाभ लिएको समाजका महासचिव गीर बहादुर भण्डारीले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा मात्र होइन, बागलुङ समाज दक्षिण कोरियाले रेडक्रस बागलुङलाई भवन निर्माण तथा एम्बुलेन्स मर्मतका लागि सहयोग, गल्कोट नगर अस्पताल र कुश्मिशेरा स्वास्थ्य संस्थामा एम्बुलेन्स सञ्चालन सहयोग, विद्यालय भवन निर्माण, पुस्तकालय स्थापना तथा शैक्षिक अक्षयकोष निर्माणमा समेत महत्वपूर्ण आर्थिक योगदान पु¥याएको छ । मिर्गौला, मुटु र क्यान्सरजस्ता जटिल रोगबाट पीडित जिल्लावासीका लागि समेत सहयोग अभियान सञ्चालन गर्दै आएको छ ।

समाजले नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ । कोरियाको आरिराङ फेस्टिभलमा नेपाली नौमती पञ्चेबाजासहित सहभागी भई प्रथम स्थान हासिल गरेको समाजले प्रत्येक वर्ष सोलमा आयोजना हुने लोटस लाल्टर्न फेस्टिभलमा सहभागी हुँदै गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश प्रवाह गर्दै आएको छ ।

खेलकुद क्षेत्रमा समेत सक्रिय समाजले हालसम्म नौ पटक भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ । अन्य नेपाली संघसंस्थाले आयोजना गर्ने प्रतियोगिताहरूमा समेत सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शनमार्फत बागलुङको नाम उँचो राख्दै आएको छ ।

सन् २००१ मा ‘बागलुङ सम्पर्क समिति’का रूपमा स्थापना भएको संस्थाले हालसम्म ११ वटा अधिवेशन सम्पन्न गरिसकेको छ । संस्थापक अध्यक्ष लक्ष्मण पुनदेखि वर्तमान अध्यक्ष राजु नेपालीसम्म आइपुग्दा समाजले प्रवासी नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक सेवाको उदाहरणीय इतिहास निर्माण गरेको छ । समाजको देगु शाखाले समेत स्थानीय बागलुङेहरूलाई संगठित गर्दै सामाजिक गतिविधि सञ्चालन गरिरहेको छ ।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने भावनालाई आत्मसात गर्दै बागलुङ समाज दक्षिण कोरियाले रजत जयन्तीमार्फत विगतको गौरवपूर्ण यात्राको समीक्षा गर्नुका साथै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र आपतकालीन सहयोगका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रमको सहआयोजक बागलुङ समाज थेगु शाखा र समन्वय गण्डकी प्रदेश समाज दक्षिण कोरियाले गरेका छन् ।

 

  • २०८३ जेष्ठ २३, शनिबार