बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन आज गलकोटमा हुदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । महेन्द्र खड्का नेतृत्वको कार्यसमितिको आज बिहान बसेको बैठकले ढालेन्द्र रायमाझीको नेतृत्वमा नयाँ टिम सर्वसम्मतीका लागि प्रस्ताव गरेको छ ।
रास्वपा बागलुङको संस्थापन समुहले सभापतिमा ढालेन्द्र रायमाझी, उपसभापतिम पुनम शर्मा, सचिवमा लिल बहादुर खत्री (बबिन), सहसचिवमा बालकृष्ण शर्मा र कोषाध्यक्षमा डुक मल्ललाई प्रस्ताव गरेको छ ।
समितिका सदस्यहरुमा कमल खरेल, देवुजंग बुढा, संगिता भण्डारी थापा र सुनिता विकलाई प्रस्ताव गरिएको रास्वपा बागलुङका सभाति महेन्द्र खड्काले जानकारी दिनुभयो ।
पार्टीको पहिलो जिल्ला अधिवेशन गर्दैछौ, वडा, पालिका लगायत सबै ठाउँमा सर्वसम्मत हुदै आएकोले जिल्ला समितिमा पनि सर्वसम्मत गर्नु पर्छ भन्ने सबैको राय छ, जिल्ला कार्यसमितिको आज बिहान बसेको वैठकले सर्वसम्मतीका लागि टिम घोषणा गरेका छौ, सभापति खड्काले भन्नुभयो, –‘यही टिमलाई सबैले सर्वसम्मत बनाउन सहयोग गर्नुस भनेर प्रतिनिधिहरुसंग अनुरोध गरेका छौ ।’
सभापतिका अर्का दावेदार खिमानन्द पौडेलले अधिवेशन शुरु नै भएको छैन, उद्घाटन र बन्द सत्र सकिएपछि उम्मेदवारी दर्ता गरिने जानकारी दिनुभयो । अधिवेशन शुरु नहुदै उम्मेदवारी दिने कुरा भएन, उम्मेदवारी दिन्छौ, प्रक्रिया शुरु हुदैछ, उहाँले भन्नुभयो । रास्वपाको संस्थापन पक्षले अगाडि बढाएको प्रक्रियाले नेकपा एमालेको दशौ महाधिवेशनमा केपी शर्मा ओलीले चितवनमा टिम घोषणा गरेको झल्को आएको एमालेबाट रास्वपा प्रवेश गरेका एक कार्यकर्ताले बताए ।
गलकोटमा छु, पार्टीको गतिविधि हेर्दा पेलेरै लैजाने अवस्था देखियो, संस्थापनले यही हो टिम भनेर अधिवेशन शुरु नहुदै घोषणा गर्ने र सभापतिका प्रत्यासीले नै सामाजिक सञ्जालमा पोष्ट गरेको देख्दा अचम्म लाग्यो, उनले भने, कम्तिमा अहिलेको कार्यसमितिले बन्दसत्रमा यसरी जाउ, हामीले यो टिम प्रस्तुत गरेका छौ, प्रतिनिधिहरुको राय के छ ? भनेर बुझ्नु पर्नेमा हाम्रो टिम यो हो, सबैले यसैलाई मान्नु पर्छ भन्ने कोणबाट कुरा आयो । उनले थपे, पुरानाले गलत गरे भनेर नया रोजियो,, नयाँहरुको पनि शुरुवात सकारात्मक देखिएन ।