बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागलुङको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा घोषणा गरिएको नयाँ जिल्ला कार्यसमितिलाई निसीखोला गाउँपालिका कार्यसमितिले समर्थन जनाएको छ ।
जेठ २३ गते गलकोट नगरपालिकामा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति घोषणा भएपछि त्यसप्रति असहमति जनाउँदै गलकोट नगरपालिका कार्यसमितिले विज्ञप्ति जारी गरेको थियो । अधिवेशनको प्रक्रिया र नेतृत्व चयनबारे केही असन्तुष्टि सार्वजनिक भइरहेका बेला निसीखोला गाउँपालिका कार्यसमितिले भने नयाँ नेतृत्वप्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेको हो ।
निसीखोला गाउँपालिका कार्यसमितिका उपसभापति तेजेन्द्र कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा गलकोट नगरपालिकामा सम्पन्न जिल्ला अधिवेशनबारे आफूहरू जानकार रहेको उल्लेख गर्दै सम्पूर्ण पालिका सभापतिहरूको सर्वसम्मत निर्णयलाई पूर्ण समर्थन रहेको जनाइएको छ । साथै निर्वाचन समितिबाट गरिएको निर्णयप्रति पनि आफ्नो समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा बाहिर आएका भ्रम र अफवाहको पछि नलाग्न कार्यकर्ताहरूलाई आग्रह गरिएको छ । परिवर्तनको आकांक्षा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अझ बलियो बनाउन सबैले एकआपसमा हातेमालो गर्दै एकताको भावना कायम राख्नुपर्नेमा जोड दिइएको छ । निसीखोला कार्यसमितिले समस्या समाधानका लागि सार्वजनिक आरोप–प्रत्यारोपभन्दा आन्तरिक संवाद, छलफल र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा समेत व्यक्त गरेको छ । संगठनलाई अझ सुदृढ र बलियो बनाउने दिशामा अघि बढ्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरिएको छ ।
विज्ञप्तिको अन्त्यमा पार्टीको हित, एकता र सुदृढ संगठन निर्माणका लागि सबैले सहकार्यको भावना अपनाउने विश्वास व्यक्त गरिएको छ ।
जिल्ला अधिवेशनपछि नेतृत्व चयनको विषयलाई लिएर देखिएको मतभेदका बीच निसीखोला गाउँपालिका कार्यसमितिले सार्वजनिक रूपमा समर्थन जनाएपछि रास्वपा बागलुङभित्र देखिएको बहसले नयाँ मोड लिएको छ । अब जिल्ला नेतृत्वले असन्तुष्ट पक्षसँग संवाद र समन्वयमार्फत संगठनात्मक एकता कायम राख्न सक्ने वा नसक्ने विषयमा चासो बढेको छ ।
अधिवेशनबाट पुनम शर्मा सभापति रहेको कार्यसमिति घोषणा गरिएको थियो । समितिको उपसभापतिमा ढालेन्द्र रायमाझी, सचिवमा लाल बहादुर खत्री ९बबिन०, सहसचिवमा पुष्पा आचार्य र कोषाध्यक्षमा डुक मल्ल चयन हुनु भएको थियो ।
४ जना सदस्यका लागि १३ जनाको उम्मेदवारी परेकोले सहमति भएको छैन, सपथ ग्रहण हुने समयसम्म सदस्यहरुको पनि नाम टुंग्याउने तयारी रहेको निर्वाचन समितिका संयोजक तथा संघीय सांसद सोम शर्माले जानकारी दिनुभएको छ ।