• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

विद्यालयमा दुईदिने बिदा :अभिभावकको गुनासो बढ्यो

सम्पादकीय । नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै विद्यालयमा समेत हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू गरेको छ । तर, यो निर्णय प्रशासनिक हिसाबले सहज देखिए पनि शैक्षिक दृष्टिले भने गम्भीर बहसको विषय बनेको छ । अझ महत्वपूर्ण कुरा, नेपालमा दुईदिने बिदाको अभ्यास यसअघि दुई पटक असफल भइसकेको अनुभव हुँदाहुँदै पुनः त्यही नीति दोहोरिनु आफैंमा प्रश्नको विषय हो । विद्यालय केवल पाठ्यपुस्तक पढाउने संस्था मात्र होइन । यो विद्यार्थीमा अनुशासन, समय व्यवस्थापन, सामाजिक व्यवहार, नेतृत्व क्षमता र जिम्मेवारीबोध विकास गर्ने महत्वपूर्ण थलो हो । विद्यालयमा बित्ने समय केवल पाठ्यक्रम पूरा गर्नका लागि होइन, व्यक्तित्व निर्माणका लागि पनि उत्तिकै आवश्यक हुन्छ । यस्तो अवस्थामा हप्तामा दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ प्रक्रिया, अध्ययन संंस्कार र नियमिततामै असर पर्न थालेको गुनासो अभिभावक र शिक्षकबाट बढ्न थालेको छ ।

विशेषगरी साना कक्षाका विद्यार्थीका लागि सिकाइमा निरन्तरता अत्यन्त आवश्यक हुन्छ । दुई दिनको लामो अन्तरालले उनीहरूको पढ्ने बानी कमजोर बनाउने, सिकेका कुरा बिर्सने र अध्ययनप्रतिको एकाग्रता घटाउने जोखिम रहन्छ । गणित, विज्ञान र भाषाजस्ता विषयमा नियमित अभ्यास आवश्यक पर्ने भएकाले यसको असर अझ बढी देखिन सक्छ । कार्यदिन घटेपछि शिक्षकहरू पनि सीमित समयमा धेरै पाठ्यक्रम सकाउन बाध्य हुन्छन्, जसले शिक्षणको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । दुईदिने बिदाको असर विद्यालयभित्र मात्र सीमित छैन । अभिभावक पनि यसको प्रत्यक्ष मारमा परिरहेका छन् । विशेष गरी कामकाजी अभिभावकका लागि दुई दिन बालबालिकाको व्यवस्थापन चुनौती बन्दै गएको छ । धेरै अभिभावक कार्यालय वा व्यवसायमा व्यस्त हुने भएकाले बालबालिकाको निगरानी कमजोर हुन्छ । यही खाली समयमा मोबाइल, भिडियो गेम, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमको अत्यधिक प्रयोग बढिरहेको गुनासो सर्वत्र सुनिन थालेको छ । बालबालिकाको मानसिक, सामाजिक र शैक्षिक विकासमा यसको दीर्घकालीन असर पर्न सक्ने चिन्ता स्वाभाविक हो ।

ग्रामीण क्षेत्रमा यसको प्रभाव अझ फरक ढंगले देखिन सक्छ । विद्यालय बन्द भएका दिन विद्यार्थीहरू घरेलु काम, श्रम वा अन्य गतिविधिमा बढी संलग्न हुन सक्छन् । यसले पढाइमा निरन्तरता कमजोर बनाउने मात्र होइन, विद्यालयप्रतिको आकर्षणसमेत घटाउन सक्छ । विद्यालयबाट टाढा रहने समय बढ्दै जाँदा अनुशासन, अध्ययन संस्कार र सिकाइ उपलब्धिमा नकारात्मक असर पर्ने जोखिम रहन्छ । सरकारले इन्धन बचत वा प्रशासनिक सहजताका लागि विकल्प खोज्नु स्वाभाविक हो । तर त्यसको मूल्य विद्यार्थीको शिक्षण सिकाइले चुकाउनु हुँदैन । नेपालको शिक्षा क्षेत्र अझै पनि चाडपर्व, प्राकृतिक विपत्ति, आन्दोलन, मौसमजन्य समस्या र पूर्वाधार अभावका कारण प्रभावित हुँदै आएको छ । यस्तो अवस्थामा थप दुई दिन बिदा लागू गर्नु समाधानभन्दा समस्या बढाउने निर्णय बन्न सक्छ । शिक्षा कुनै प्रयोगको विषय होइन । विद्यार्थीको भविष्यसँग जोडिएको निर्णय गर्दा सरकार अझ जिम्मेवार, संवेदनशील र दूरदर्शी हुनुपर्छ । त्यसैले विद्यालयमा लागू गरिएको दुईदिने बिदाको व्यवस्थालाई तत्काल पुनरावलोकन गरी विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षा क्षेत्रका सरोकारवालाको सुझावका आधारमा उपयुक्त निर्णय लिनु आजको आवश्यकता हो । शिक्षा कमजोर बनाउने होइन, बलियो बनाउने नीति नै राष्ट्रको भविष्यका लागि हितकर हुन्छ ।