बागलुङ । १२औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बागलुङका विभिन्न विद्यादयमा योग जागरण शिविर सञ्चालन गरिएको छ ।
पतञ्जलि योग समिति, बागलुङ, महिला पतञ्जलि योग समिति बागलुङ र युवा नेपाल समिति बागलुङको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थी माझमा शिविर सञ्चालन गरिएको हो ।
हरेक वर्ष जुन २१ तरिकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने क्रममा पतञ्जलिले शुक्रबार बागलुङ बजारको न्यू ओएसिस एकेडेमीका कक्षा ९ र ११ का १ सय भन्दा बढी विद्यार्थीको बिचमा शिविर सञ्चालन गरेको हो ।
शिविरमा महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठ, महामन्त्री सिर्जना पन्त, उपल्लाचौर साधना केन्द्रका संयोजक तथा महिला पतञ्जलि योग समिति बागलुङका सदस्य अञ्जु विश्वकर्मा, जमुना अधिकारी, सदस्य सिर्जना पन्त, उपल्लाचौर साधना केन्द्रका सचिव कमला मल्ल, सदस्य इन्द्र कंडेल, देवी कार्की, गीता कंडेल, साधक कान्ती गिरीको उपस्थिती रहेको थियो । विद्यालयका शिक्षक र विद्यार्थीलाई यौगिक जगिङ्ग, सुर्य नमस्कार, एकाग्रता, तनाव व्यवस्थापन सम्बन्धी विभिन्न योगका आशन र प्रणायम गराइएको थियो ।
विद्यालयका प्रिन्सिपल नेत्र न्यौपानेले आजको दिनमा योगको अपरिहार्य आवश्यकता रहेको बताउनु भएको थियो । उहाँले बालबालिका देखि वृद्ध वृद्धासम्मलाई योगका अभ्यास, ध्यान र प्रणायमको जरुरत रहेको भन्दै आफ्ना विद्यार्थीको विचमा योगको जानकारी सहित भोग जगाइदिएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम उपल्लाचौर साधना केन्द्रका संयोजक अन्जु विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यसैगरि बागलुङ नगरपालिका वडा नम्बर ९ स्थित तित्याङ माध्यामिक विद्यालयका विद्यार्थीको विचमा पनि शिविर सञ्चालन गरिएको छ । पतञ्जलि योग समिति बागलुङका प्रभारी हिराबहादुर केसी र मन्त्री भुपेन्द्र खड्काले विद्यार्थीलाई योग, ध्यान र प्रणायमका विभिन्न अभ्यासहरु गराउनु भएको थियो ।

समितिले असार ७ गतेसम्म विभिन्न विद्यालयमा शिविर सञ्चालन गरेर दिवस मनाउने तयारी गरेको छ ।