बागलुङ । नेपाली कांग्रेससँगको सत्ता सहकार्य नेकपा एमालेका लागि राजनीतिक रूपमा घातक बनेको निष्कर्ष गण्डकी प्रदेशका एमाले नेता–कार्यकर्ताले निकालेका छन् । निर्वाचन समीक्षा गर्न पोखरामा आयोजित भेलामा सहभागी अधिकांश नेताहरूले दशकौदेखि प्रतिस्पर्धी रहेको पार्टीसंग मिलेर सत्ताको नेतृत्व गर्नु पार्टी जिवनकै कमजोरी भएको निष्कर्ष निकालिएको हो ।
जनताले प्रतिपक्षमा बसेर रचनात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्ने अभिमत दिएका थिए, तर पार्टी नेतृत्वले कहिले प्रचण्डसंग र कहिले शेर बहादुर देउवासंग मिलेर सत्तामा पुग्ने कार्यशैली अगाडि बढायो, नेताहरुको भनाइ छ, सत्ता बाहेक केही नदेख्ने र प्रमुख प्रतिस्पर्धीसंग सरकार निर्माण गरेर अगाडि बढ्नु पार्टी र मुलुकका लागि समेत क्षतिको विषय भयो । २०७९ को निर्वाचन पछि गठबन्धन तोड्ने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत हुनु, प्रचण्डसंग सहकार्य हुदा हुदै शेर बहादुर देउवा दम्पत्तीसंग सहमति गरेर सत्ताको नेतृत्व लिनु कमजोरी भयो, यो निर्णय गर्ने, यो प्रक्रियामा सहभागी हुने र पार्टीलाई कमजोर बनाउने कामको जिम्मेवारी कसले लिने ? पार्टीको मूल नेतृत्वलाई नेताहरुले प्रश्न गरेका छन् ।
पार्टीको नीति, कार्यशैली र नेतृत्वमा व्यापक सुधार आवश्यक रहेको सहभागी नेताहरुले बताएका छन् । एमालेको प्रभाव क्षेत्र मानिएको गण्डकी प्रदेशमा पछिल्लो निर्वाचन परिणामले पार्टीलाई गम्भीर समीक्षा गर्न बाध्य बनाएको छ । गण्डकीबाट उपाध्यक्ष र दुई सचिवसहित एमालेको केन्द्रीय नेतृत्वमा प्रभावशाली प्रतिनिधित्व भए पनि प्रदेशका १८ संघीय निर्वाचन क्षेत्रमा एमाले शून्य परिणाममा सीमित भएको विषयलाई नेताहरूले गम्भीर कमजोरीका रूपमा लिएका छन् । पोखरामा आयोजित निर्वाचन समीक्षा तथा सुझाव संकलन भेलामा प्रदेश कमिटी, जिल्ला अध्यक्ष तथा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय कार्यदलका सदस्यहरूको सहभागिता थियो । भेलामा सहभागी अधिकांश नेताहरूले अब पार्टी पुरानै शैलीबाट अघि बढ्न नसक्ने भन्दै नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
‘विद्यमान नीति र नेतृत्वकै कमजोरीका कारण अपेक्षित निर्वाचन परिणाम आउन सकेन भन्ने आम बुझाइ छ,’ भेलाका एक सहभागी नेताले भने, ‘अब पार्टीलाई नयाँ ऊर्जा दिन नीति र नेतृत्व पुनर्गठन आवश्यक छ ।’ बैठकमा सहभागी नेताहरूको ठूलो हिस्सा पार्टी पुनर्गठनको पक्षमा उभिएको छ । सहभागी नेताहरूका अनुसार करिब ९० प्रतिशत प्रतिनिधिले नेतृत्व परिवर्तन र नीतिगत सुधारको आवश्यकता औंल्याएका छन् । एमाले नेताहरूले कांग्रेससँग गरिएको सत्ता सहकार्यलाई पनि पराजयको प्रमुख कारणका रूपमा विश्लेषण गरेका छन् । स्थानीय राजनीतिक मनोविज्ञान र कार्यकर्ता भावनाविपरीत गरिएको सहकार्यले पार्टीको वैचारिक धार कमजोर बनाएको र संगठनमा उत्साह घटाएको निष्कर्ष उनीहरूको छ ।
‘सत्ता साझेदारीले सरकार त बन्यो, तर पार्टीको आधारभूत राजनीति र जनतासँगको सम्बन्ध बलियो बन्न सकेन,’ एक जिल्ला अध्यक्षले भने, ‘गठबन्धनको लाभभन्दा पनि त्यसको राजनीतिक मूल्य पार्टीले चुकाउनुप¥यो ।’
भेलामा सहभागी नेताहरूले सत्ता प्राप्तिका लागि मात्र गरिने सहकार्यले कार्यकर्ता पंक्तिमा निराशा पैदा गरेको, सरकारमा रहेर पनि पार्टीको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको र जनताको अपेक्षा पूरा गर्न नसकिएको बताएका थिए । स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पर्वत र नवलपुरलगायत जिल्लाका नेताहरूले संगठन बलियो हुँदाहुँदै पनि नेतृत्वको कार्यशैली र आन्तरिक व्यवस्थापनका कमजोरीका कारण निर्वाचनमा क्षति व्यहोर्नुपरेको धारणा राखेका थिए । केही नेताहरूले भने परिवर्तनको नाममा हतार गर्दा पार्टी थप कमजोर हुन सक्ने चेतावनी पनि दिएका छन् । गण्डकीबाट प्राप्त सुझावलाई प्रतिवेदनका रूपमा केन्द्रमा पठाइने प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिनु भएको छ ।
एमालेले देशभरबाट आएका सुझावका आधारमा पार्टी पुनर्गठन, नेतृत्व व्यवस्थापन र नीतिगत सुधारको तयारी गरिरहेको छ । गण्डकीका नेताहरूको निष्कर्ष भने स्पष्ट छ, अब पार्टीले विगतको समीक्षा गर्दै नयाँ नीति, नयाँ ऊर्जा र जनतासँग पुनः जोडिने अभियानसहित अघि बढ्नुपर्नेछ । गण्डकीमा एमालेको कमजोर निर्वाचन परिणाम केवल चुनावी हार मात्र नभई संगठन र नेतृत्वमाथिको प्रश्न बनेको छ । त्यसैले आगामी दिनमा एमालेले गर्ने सुधार र पुनर्गठनले प्रदेश मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि ठूलो अर्थ राख्ने देखिन्छ, भेलाका एक सहभागीले बताए । भेलामा चुनावी समिक्षा तथा पुर्नगठन कार्यदलका संयोजक तथा उपाध्यक्ष राम बहादुर थापा (बादल), उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।