• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

भर्जिनियामा समर बनभोज : मौलिक गीत–संगीतमा झुमे नेपालीहरु

  • २०८३ असार १५, सोमबार

 

बागलुङ : बागलुङ समाज भर्जिनिया, अमेरिकाले आयोजना गरेको वार्षिक समर पिकनिक–२०२६ नेपालीपन, आपसी सद्भाव र सांस्कृतिक उल्लासका बीच भव्य रूपमा सम्पन्न भएको छ । हल्का वर्षाले केही समय कार्यक्रमलाई चुनौती दिए पनि सहभागीहरूको उत्साह र सक्रियताले कार्यक्रमलाई अविस्मरणीय बनाएको आयोजकले जनाएको छन् ।

पिकनिकमा नेपाली मौलिक संस्कृति झल्काउने म्याग्देली पञ्चेबाजा, लोकदोहोरी, नेपाली नृत्य, स्वादिष्ट नेपाली परिकार तथा विभिन्न मनोरञ्जनात्मक खेलकुदले प्रवासमा रहेका नेपालीलाई आफ्नै गाउँघरको अनुभूति गराएको थियो ।
पुरुष खुला भलिबल, म्युजिकल चेयर (तातो आलु) लगायतका खेलमा सहभागीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । मौसम प्रतिकूल भएका कारण छेलो प्रतियोगिता भने सञ्चालन गर्न नसकिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा अमेरिकाको डीएमभी क्षेत्रका साथै नर्थ क्यारोलाइना, पेन्सिल्भेनिया, मेरिल्यान्ड, न्यू जर्सी र कनेक्टिकटसम्मबाट नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । वर्षाको बाबजुद पनि ठूलो संख्यामा सहभागी भएर कार्यक्रमको शोभा बढाएको भन्दै आयोजकले सबैप्रति आभार व्यक्त गरेको छ । बागलुङ समाज भर्जिनियाका अध्यक्ष लाल कुँवरले कार्यक्रम सफल बनाउन करिब एक महिनादेखि निरन्तर खटिने कार्यसमिति, पिकनिक व्यवस्थापन समिति, आर्थिक समिति, खेलकुद व्यवस्थापन टोली, खाना व्यवस्थापन टोली, स्वयंसेवक तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।

उहाले कार्यक्रमलाई सफल बनाउन आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण प्रायोजक, दाता तथा सहयोगी व्यवसायहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैप्रति विशेष कृतज्ञता प्रकट गर्नु भएको छ ।

त्यसैगरी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिदिने सञ्चालकहरू साधना पन्त, भुवन रेग्मी र विष्णु, सांगीतिक माहोल सिर्जना गर्ने म्याग्देली पञ्चेबाजा समूह तथा कार्यक्रमको प्रत्यक्ष प्रसारण र प्रचार–प्रसारमा सहयोग पु¥याउने ई–नेप्लिजका विश्वराज थापा लगायतलाई पनि अध्यक्ष कुँवरले विशेष धन्यवाद दिनु भएको छ ।

‘यहाँहरूको माया, विश्वास र साथ नै बागलुङ समाज भर्जिनियाको सबैभन्दा ठूलो शक्ति हो, आगामी दिनहरूमा पनि यही आत्मीयता र एकता कायम रहने विश्वास लिएका छौं,’ अध्यक्ष कुँवरले धन्यवाद सन्देशमार्फत उल्लेख गर्नु भएको छ ।

प्रवासमा रहे पनि नेपाली भाषा, संस्कृति र मौलिक परम्परालाई जोगाउँदै समुदायबीच आपसी सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको समर पिकनिकले भर्जिनियास्थित नेपाली समुदायलाई एकै ठाउँमा जोड्नुका साथै नेपालीपनको आत्मीय अनुभूति दिलाएको सहभागीहरूले बताएका छन् ।

 

  • २०८३ असार १५, सोमबार