बागलुङ । बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा शनिबार घोषणा गरिएको छ । बागलुङका १० वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप तथा दिगोपना घोषणा गरिएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । घोषणापछि मन्त्री पाण्डेले सबै नागरिकलाई स्वस्थ राख्न पूर्ण खोप आवश्यक रहेको बताउनुभयो । उहाँले खोप नागरिकको अधिकार भएकाले छुट्न नुहुने बताउनुभयो । पूर्णखोपलाई दिगो गराउन स्वास्थ्यकर्मीको भूमिका उल्लेख्य रहने बताउनुभयो ।
जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २७८ जना र १६ महिनादेखि पाँच वर्ष उमेर समूहका १० हजार ९७९ जना गरी कुल १४ हजार २५७ जनालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेकाले बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष सबैभन्दा धेरै बालबालिकाले ढोरपाटन नगरपालिकामा खोप लगाएका छन् । त्यहाँ १५ महिनाभित्रका ६२२ जना र १६ महिनादेखि ५९ महिनासम्मका २ हजार १६ जना गरी २ हजार ६३८ जना बालबालिकाले खोप लगाएका छन् । सबैभन्दा कम ताराखोला गाउँपालिकामा ४५ जना बालबालिकाले खोप लगाएको पाइएको छ ।
स्थानीय तहमा बालस्वास्थ्य र नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा बालमैत्री तथा पोषणमैत्री नगरपालिकाले सघाएको गण्डकी प्रदेशका स्वास्थ्य सचिव युवानीधि बसौलाले बताउनुभयो । पूर्ण खोपले सरुवा रोगलाई घटाएको पाइएको छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमर थापाले स्वास्थ्यकर्मी घर–घरमा समेत पुगेर खोप लगाइएको पाइएको बताउनुभयो । पूर्ण खोप घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमर थापा अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, बागलुङ नगरपालिका का प्रमुख बसन्तकुमार श्रेष्ठ लगायतको उपस्थितिमा भएको थियो । ले जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल सरकारले २०३४ सालमा बिफर रोग उन्मुलन गरेको थियो । त्यसपछि बालमृत्युदर घटेको, सहश्राब्दी विकास लक्ष्य हसिल गर्न सहज भएको, सन् २००५ देखि मातृ तथा नवशिशुमा धनुस्टंकार रोग निवारण भएको, सन् २०१० देखि पोलियो रोग शुन्य भएको सन् २०१८ देखि रुवेला तथा सिआरएस निवरण भएको, हाल दादुरा निवारणको काम शुरु भएको छ । हेपाटाइटिस बि, महिलाको पाठेघरको मुखको क्यान्सर रोग निको पार्न पनि एचपिभी खोप लगाइएको छ ।