• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

पत्रकार महासंघ बागलुङको १४ औं साधारणसभा सम्पन्न

  • २०८३ असार २६, शुक्रबार

नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको १४औँ साधारणसभा बिहीबार सम्पन्न भएको छ । महासंघले २५ औं वर्षमा एक वर्षभरी मनाइरहेको रजत बर्षलाई समेत साधारणसभाको अवसरमा समापन गरिएको छ । महासंघ परिसरमा बिहीबारनै २५ औं रजत वर्ष लेखेको स्तम्भ अनावरण गरिएको छ । स्थापना दिवसका अवसरमा रजत स्तम्भ अनावरण, ‘अबको पत्रकारिता’ पुस्तक विमोचन तथा पत्रकारितामा योगदान पु¥याउने दुई पत्रकारलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको २६ औं स्थापना दिवस तथा १४ औं साधारणसभाको उद्घाटनपछि बोल्दै आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न भएको बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समाप्त गर्न सरकार उद्दत रहेको छ, राज्यका महत्वपूर्ण निकायहरुको सूचना संकलनमा अवरोध गर्ने, सूचनाको पहुँचमा कडाइ गर्ने लगायतका गतिविधिले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समाप्त पार्नेतर्फ अग्रसर भएको आचार्यको आरोप छ ।

पत्रकारहरुको पेशागत हक अधिकारमाथि हुने कुनै पनि खालका गतिविधिप्रति महासंघ मौन बस्दैन, महासंघले सञ्चालन गरेको आन्दोलनले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र पत्रकारको हकहितलाई सुरक्षित गर्न वाध्य हुने दावी गर्नु भयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापाले जनताको समस्या जस्ताको त्यस्तै उजागर गर्न पत्रकार लाग्नुपर्ने बताउनभुयो । उहाँले प्रेस जगतले लोकतन्त्र, सामाजिक न्याय र विधिको शासनका पक्षमा खबरदारी र पैरवी गर्दै आएको बताउनुभयो । पछिल्लो समय पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएपनि पत्रकारको पेशागत सुरक्षामा जोखिममा रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महासंघ बागलुङ शाखाले महासंघको गरिमा बढाउने गरी रचनात्मक कामहरु गर्दे आएको बताउनुभयो । महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले रजत वर्षलाई स्मरणीय बनाउन वर्षभरि विविध कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले मिडिया मेला पुतक प्रकाशन देखि स्तम्भ निर्माण सम्मको काम गरेको बताउनुभयो । पत्रकारको क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र प्रेस स्वतन्त्रताको पक्षमा महासंघ निरन्तर सक्रिय रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, नरेश कँडेल, सल्लाहकार तारानाथ आचार्य, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा रजत वर्ष विशेष पुस्तक ‘अबको पत्रकारिता’ विमोचनका साथै ‘रजत स्तम्भ’ अनावरण गरिएको थियो ।

साधारणसभाले सचिव नारायण रिजालद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । साधारणसभामा महासंघका गतिविधि र आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो ।

  • २०८३ असार २६, शुक्रबार