• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

क्यानभासमा पोखियो कालिका मन्दिर, २९ कलाकारले उतारे जीवन्त चित्र

  • २०८३ असार २७, शनिबार

बागलुङ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिका भगवती मन्दिर एकै दिन २९ कलाकारका क्यानभासमा जीवन्त रूपमा उतारिएको छ ।

गण्डकी प्रदेशकै उत्कृष्ट मन्दिरको रुपमा चिनिएको कालिका मन्दिरलाई विश्वभर चिनाउन चित्रकला कार्यशाला सम्पन्न गरिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना तथा शनिबारीय चित्रकला कार्यशाला अभियानअन्तर्गत रन्तल आर्ट र मिलन ट्याटुको सहकार्यमा शनिबार ‘बागलुङ कालिका मनसुन स्थलगत चित्रकला (प्लेन एयर पेन्टिङ) कार्यशाला’ सम्पन्न गरिएको हो । कार्यशालामा काठमाडौं, म्याग्दी, बागलुङ लगायतका विभिन्न स्थानक्यानभासमा पोखियो कालिका मन्दिर, २९ कलाकारले उतारे जीवन्त चित्रका कलाकारसँगै भारतका दुई कलाकारको समेत सहभागिता रहेको थियो ।

कार्यशालामा कलाकारहरूले कालिका भगवती मन्दिर, मन्दिर परिसर, सत्तल, घण्टी, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदालाई प्रत्यक्ष अवलोकन गर्दै क्यानभासमा उतारेका थिए । चित्रकार दिवेश प्रधानले नेपालका विभिन्न स्थानको कला दस्तावेज तयार गर्ने अभियानअन्तर्गत बागलुङमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यशालामा तयार भएका चित्रहरू विभिन्न कला प्रदर्शनी तथा कार्यक्रममा प्रदर्शन गरिनेछ । यसबाट कालिका मन्दिरको प्रचार–प्रसारसँगै स्थानीय कला र संस्कृतिको प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बागलुङका चित्रकार मछिन्द्र शाक्यको स्थानीय संयोजनमा सम्पन्न कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ । स्थलगत चित्रकलाले स्थानीय परिवेश, सम्पदा र संस्कृतिलाई कलामार्फत दस्तावेजीकरण गर्न तथा सर्वसाधारणलाई कलासँग नजिक बनाउन सहयोग पुग्ने प्रधानले बताउनुभयो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले चर्चित कलाकारहरूले कालिका मन्दिरलाई क्यानभासमा उतार्नु मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार, पर्यटन प्रवद्र्धन र ऐतिहासिक सम्पदाको संरक्षणका दृष्टिले महत्वपूर्ण भएको बताउनुभयो । उहाँले बागलुङमा शनिबारीय लाइभ पेन्टिङ अभियानलाई संस्थागत गर्दै बागलुङ शाखामार्फत यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

  • २०८३ असार २७, शनिबार