• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

बागलुङको रमुवामा : हनी हन्टिङ फेस्टिभल सम्भावना र चुनौती

बागलुङ । जिल्ला प्रकृति, कला सस्कृती र परम्परामा धनी जिल्ला हो । यहाँ निरन्तर यस्ता कार्य भइरहेका हुन्छन् । यी मध्ये हालै गलकोट नगरपालिका–१०, पाण्डवखानीको रमुवामा आयोजित परम्परागत हनी हन्टिङ फेस्टिभल ले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउँदै लगेको छ। भीरको काखमा जोखिमपूर्ण ढंगले गरिने भीर मौरीको महको सिकार केवल साहसिक गतिविधि मात्र होइन, यो स्थानीय समुदायको पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञान, सीप, संस्कृति र प्रकृतिसँगको सहअस्तित्वको अनुपम उदाहरण बनेको छ। यही परम्पराको कारणले हनी हन्टिङ फेस्टिभललाई नेपालका मौलिक पर्यटन उत्पादनमध्ये एकका रूपमा स्थापित गर्ने सम्भावना दिनप्रतिदिन बढिरहेको छ।

नेपाल प्राकृतिक विविधता, जैविक सम्पदा र सांस्कृतिक बहुलताले सम्पन्न देश हो। हिमाल, पहाड र तराईका फरक–फरक भूगोलले अनेक प्रकारका मौलिक परम्परा जन्माएका छन्। तीमध्ये भीर मौरीको मह सिकार विश्वमै दुर्लभ र रोमाञ्चक सांस्कृतिक अभ्यास हो। विशेष गरी पश्चिम नेपालको पहाडी भूभागमा पाइने विशाल भीर मौरीले अग्ला चट्टानमा बनाउने गोलाबाट स्थानीय मह शिकारीहरूले परम्परागत उपकरणको प्रयोग गरी मह संकलन गर्ने अभ्यासलाई अहिले पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ। रमुवामा सम्पन्न भएको यस वर्षको महोत्सवमा स्वदेशीका साथै विदेशी पर्यटकको उल्लेखनीय सहभागिताले यसको अन्तर्राष्ट्रिय आकर्षणलाई समेत पुष्टि गरेको छ। पर्यटकहरूले केवल मह संकलनको दृश्य मात्र अवलोकन गरेनन्, उनीहरूले स्थानीय संस्कृति, खानपान, लोकसंगीत, मौलिक जीवनशैली र सामुदायिक आतिथ्यको अनुभव पनि प्राप्त गरे। यसले पर्यटनलाई केवल भ्रमणमा सीमित नराखी अनुभवमूलक ९भ्हउभचष्भलतष्ब ित्यगचष्कm० र सामुदायिक पर्यटनको रूपमा विकास गर्न सकिने प्रवल सम्भावना देखाएको छ।

हनी हन्टिङ फेस्टिभलको सबैभन्दा ठूलो सम्भावना स्थानीय आर्थिक विकाससँग जोडिएको छ। पर्यटन वृद्धि भएसँगै होटल, होमस्टे, स्थानीय कृषि उत्पादन, हस्तकला, यातायात, गाइड सेवा, सांस्कृतिक कार्यक्रम तथा स्थानीय व्यवसायमा प्रत्यक्ष आयआर्जनको अवसर सिर्जना हुन्छ। ग्रामीण क्षेत्रमा रोजगारीका सीमित अवसरका कारण बढ्दो बसाइँसराइलाई केही हदसम्म रोक्न पनि यस्ता पर्यटन गतिविधिले सहयोग पुर्‍याउन सक्छन्। स्थानीय युवाले गाउँमै स्वरोजगारका अवसर प्राप्त गर्ने वातावरण निर्माण हुन सक्छ।

यससँगै भीर मौरीको महलाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने सम्भावना पनि उत्तिकै महत्वपूर्ण छ। भीर मौरीको मह औषधीय गुणका कारण विश्वबजारमा विशेष मूल्यमा बिक्री हुने गरेको पाइन्छ। यदि वैज्ञानिक परीक्षण, गुणस्तर प्रमाणीकरण, प्याकेजिङ र बजार व्यवस्थापनमा ध्यान दिन सकेमा यसले स्थानीय समुदायको आयमा उल्लेखनीय वृद्धि गर्न सक्दछ। यसले ूएक गाउँ, एक विशिष्ट उत्पादनू अवधारणालाई समेत बल पुर्‍याउने देखिन्छ। सांस्कृतिक दृष्टिकोणबाट हेर्दा हनी हन्टिङ केवल मह संकलन गर्ने प्रक्रिया होइनस यो प्रकृतिसंगको अन्तर सम्बन्ध, परम्पराप्रतिको सम्मान, सामूहिक श्रम, परम्परागत ज्ञान र पुस्तान्तरणको जीवन्त अभ्यास हो। मह सिकारअघि गरिने धार्मिक अनुष्ठान, सामूहिक सहभागिता, स्थानीय विश्वास र संस्कारले यसलाई अमूर्त सांस्कृतिक सम्पदाका रूपमा चिनाउँछ। त्यसैले यसको संरक्षण केवल पर्यटनका लागि मात्र नभई भावी पुस्तालाई सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने एक महत्त्वपूर्ण दायित्व पनि हो।

यस्ता अनेकौं सम्भावनाकाबिच पनि यसको विकाससँगै केही गम्भीर चुनौतीहरू पनि देखिएका छन्। सबैभन्दा पहिलो चुनौती सुरक्षा हो। भीरबाट डोरीको भरमा झुन्डिएर गरिने मह संकलन अत्यन्त जोखिमपूर्ण कार्य हो। उच्च स्थानमा बढी सावधानीमा गर्नुपर्ने यस कार्यमा बढी जोखिम रहेकोे छ ।उचित सुरक्षा उपकरण, उद्धार व्यवस्था, स्वास्थ्य सेवा तथा आपत्कालीन तयारीको अभावमा दुर्घटनाको जोखिम उच्च रहन्छ। पर्यटकको संख्या बढ्दै जाँदा उनीहरूको सुरक्षामा पनि विशेष ध्यान दिन आवश्यक छ।

अर्को महत्वपूर्ण चुनौती वातावरणीय संरक्षणसँग सम्बन्धित छ। अत्यधिक व्यावसायीकरणका कारण मौरीको प्राकृतिक बासस्थानमा असर पर्न सक्ने, महको अत्यधिक संकलनले मौरीको जीवनचक्रमा नकारात्मक प्रभाव पार्न सक्ने तथा जैविक विविधतामा ह्रास आउन सक्ने सम्भावना रहन्छ। त्यसैले दिगो व्यवस्थापन, वैज्ञानिक अध्ययन र संरक्षणमुखी नीतिलाई समान रूपमा प्राथमिकता दिनुपर्छ।

जलवायु परिवर्तन पनि अर्को चुनौतीका रूपमा देखा परेको छ। तापक्रम वृद्धि, अनियमित वर्षा, वनस्पतिमा आएको परिवर्तन तथा प्राकृतिक विपद्का कारण भीर मौरीको बासस्थान र जीवनचक्रमा प्रभाव परेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यदि मौरीको संख्या घट्दै गयो भने मह सिकारको परम्परा पनि संकटमा पर्न सक्छ। त्यसैले वन संरक्षण, जैविक विविधताको संरक्षण तथा जलवायु अनुकूलन कार्यक्रमसँग यसलाई जोड्न आवश्यक छ।

पूर्वाधार विकासको अवस्था पनि अपेक्षाकृत कमजोर देखिन्छ। रमुवा क्षेत्रसम्म पुग्ने सडक, सूचना केन्द्र, विश्रामस्थल, शौचालय, पार्किङ, डिजिटल सूचना प्रणाली, संकेतचिन्ह तथा पर्यटकमैत्री सेवाहरू अझै पर्याप्त छैनन्। अन्तर्राष्ट्रिय स्तरका पर्यटकलाई आकर्षित गर्न गुणस्तरीय पूर्वाधार अपरिहार्य हुन्छ।

प्रचार–प्रसारमा पनि अझ व्यापक प्रयास आवश्यक छ। सामाजिक सञ्जाल, वृ, अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी, डिजिटल मार्केटिङ तथा अनुसन्धान प्रकाशनमार्फत यस महोत्सवलाई विश्व पर्यटन बजारमा परिचित गराउन सकिन्छ। विश्वविद्यालय, अनुसन्धान संस्था तथा पर्यटन व्यवसायीबीचको सहकार्यले यसको अन्तर्राष्ट्रिय पहिचान अझ सुदृढ बनाउन सक्छ।

स्थानीय समुदायको सक्रिय सहभागिता यस महोत्सवको दीर्घकालीन सफलताको आधार हो। पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायमै न्यायोचित रूपमा वितरण हुनुपर्छ। समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउने, युवालाई तालिम दिने, महिलाको सहभागिता बढाउने तथा स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सके पर्यटनको लाभ दिगो बन्न सक्छ। हनी हन्टिङ फेस्टिभललाई साहसिक पर्यटन, सामुदायिक पर्यटन, सांस्कृतिक पर्यटन र पारिस्थितिक पर्यटनको उत्कृष्ट संयोजनका रूपमा विकास गर्न सकिन्छ। यसका लागि गलकोट नगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, संरक्षणकर्मी, अनुसन्धान संस्था र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक छ। नियमित महोत्सव, अन्तर्राष्ट्रिय प्रचार, अनुसन्धान, वृत्तचित्र निर्माण, स्थानीय गाइड उत्पादन तथा सुरक्षा मापदण्डको विकासले यसलाई विश्वस्तरको पर्यटन गन्तव्यमा रूपान्तरण गर्न मद्दत पुर्‍याउनेछ।

अन्ततः रमुवाको हनी हन्टिङ फेस्टिभल केवल मह संकलनको परम्परा होइनस यो प्रकृति, संस्कृति, साहस, स्थानीय ज्ञान र सामुदायिक जीवनको अद्वितीय संगम हो। यसको संरक्षण र दिगो विकास गर्न सकिएमा यसले बागलुङलाई नेपालको प्रमुख साहसिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। आर्थिक समृद्धि, सांस्कृतिक संरक्षण, जैविक विविधताको संवर्द्धन र ग्रामीण विकासलाई एकैसाथ अघि बढाउने क्षमता यस महोत्सवमा निहित छ। यसका लागि आगामी दिनमा दीर्घकालीन योजना, वैज्ञानिक व्यवस्थापन, स्थानीय नेतृत्व र दिगो पर्यटनको स्पष्ट दृष्टिकोण अती आवश्यक छ ।