बागलुङ । जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा ७८ प्रतिशत प्रगति गरेको छ । जैमिनी नगरपालिकाका अनुसार चालुतर्फ रु. ५४ करोड ३५ लाख ५६ हजार तथा पुँजीगततर्फ रु. २२ करोड ५६ लाख ५५ हजार २७३ गरी कुल रु. ७६ करोड ९२ लाख ११ हजार २७३ विनियोजन गरिएको थियो । जसमध्ये चालुतर्फ रु. ४७ करोड ७६ लाख ५४ हजार ३२१ र पुँजीगततर्फ रु. १२ करोड ३२ लाख २० हजार ६५९ खर्च भएको छ । यस अवधिमा कुल खर्च रु. ६० करोड ८ लाख ७४ हजार ९८० पुगेको जैमिनी नगरपालिकाका प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो ।
नगरपालिकाले मंगलबार पालिकाको केन्द्र वडा नम्बर १ कुश्मिसेरामा आयोजना गरेको तेस्रो चौमासिक सार्वजनिक सुनुवाईमा नगरपालिकाले चालुतर्फ ८७.८७ प्रतिशत र पुँजीगततर्फ ५४.५७ प्रतिशत वित्तीय प्रगति हासिल भएको उहाँको भनाई । समग्रमा नगरपालिकाको वित्तीय प्रगति ७८.०५ प्रतिशत रहेको पौडेलको भनाई छ । नगरपालिकामा रहेका २८२ साना योजना, २३ ठूला योजना रहेकोमा अधिकांश योजना सम्पन्न भएको बताउनुभयो ।
सार्वजनिक सुनुवाइमा स्थानीयले कुश्मिसेरा बजारमा खानेपानीको समस्या रहेको, बाँदर असमस्याका कारण गाउँमा बस्न समस्या भएको, प्रशासकीय भवन समयमै नबनेको ठेउले खोलाको असला माछा लोप भएको, सवारी भाडादरमा एकरुपता नभएको लगायतका समस्या बताएका छन् । स्थानीय पदम बहादुर श्रीस, विकास नेपाली, काशिराम आचार्य, सक बहादुर क्षकत्री, तिल बहादुर थापा, लगायतले कुश्मिसेरा बजारमा १९ वर्षदेखि खानेपानीको समस्या रहेको बताउनुभयो । उनिहरुले गुणस्तरीय विकासमा ध्यान दिनुपर्ने, बाँदर समस्या नियन्त्रण गर्नुपर्ने, आँखाको चिकित्सक राख्नुपर्ने, ठेउले खोलाको माछा मार्न प्रतिबन्ध गर्नुपर्ने लागयतका समस्या राखेका थिए । उनिहरुले जैमिनीमा विकासले गति लिएको, नगर अस्पतालको सेवा विस्तार भएको, शिक्षक दरबन्दी मिलान भएको र करारका कर्मचारी हटाइएको लगायतका विषयमा सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख नरबहादुर पुनले सुशासन र पारदर्शिता कायम गर्न जनताको सवाल जनताकै अघि दिन सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नगरपालिकाको केन्द्रमा खानेपानी समस्या समाधान गर्न स्थानीय जागरुक भएर खानेपानी उपभोक्ता समिति परिवर्तन गर्नुपर्ने बताउनुभयो । कृषि एम्बुलेन्समार्फत किसानले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न थालिएको, फोहोर व्यवस्थापन थालिएको र असला माछा जोगाउन नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।
त्यसैगरी नगर उपप्रमुख हरिहर शर्माले राजश्व संकलन बढाउदै अनुगमनलाई तिब्रता दिएकाले गुणस्तरीय परिणाम हासिल गर्न तर्फ लागिएको बताउनुभयो । सीमित स्रोतसाधनका बावजुद पालिकाले नागरिकको आवश्यकता पूरा गर्न हरदम प्रयास गरेको बताउदै प्रशासकीय भवन तथा दुई ठूला सडक पुरा गर्न नसक्दा पूँजीगत खर्च कम भएको बताउनुभयो । कार्यक्रममा जैमिनी नगरपालिका–१ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्य लगायत विषयगत शाखा प्रमुखले नागरिकको जिज्ञासा मेटाउने प्रयास गरेका थिए ।
सार्वजनिक सुनुवाईमा नेपाल पत्रकार महासंघका सचिव नारायण रिजालले कार्यक्रममा नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले आचारसंहिता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नागरिक दैनिकका पत्रकार तथा महासंघ बागलुङका सदस्य संगम घर्ती मगरको सहजीकरण तथा सुशासन समितिका संयोजक तथा वडा नं. २ का वडाध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।