बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पाँच दिनदेखि ठप्प रहेको छ । बागलुङ खण्ड अन्र्तगत जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको ठूलो पहिरोका कारण सडक साउन एक गते शुक्रबार अबरुद्ध भएको छ ।
शुक्रबारदेखि अबरुद्ध भएको सडक शनिबारदेखिनै खुलाउन थालिएपनि पहिरो ठूलो भएकाले अझै खुल्न नसकेको हो ।
निरन्तर पहिरो पन्छाउने काम भइरहेपनि ठूलो पहिरो भएकाले समय लागेको हो । सडक डिभिजन कार्यालय बागलुङले पहिरो खुलाउन दुई लोडर तथा एक स्काभेटर प्रयोग गरेर पहिरो धमाधम पन्छाइरहेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिनुभयो ।
पानी निरन्तर परिरहेको र पहिरोग्रस्त क्षेत्रमा जोखिम भएकाले समयमै सडक खुलाउन नसकिएको सुवेदीको भनाई छ । साउन एक गतेदेखि करिडोरको बलेवा–गुल्मी सम्मको सडक खण्ड सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको हो ।
जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्माका अनुसार पहिरोका कारण कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथ जाने पर्यटकहरु फर्केका छन् भने बागलुङ हुँदै पाल्पा बुटबल जाने यात्रुहरु समेत फर्किन बाध्य भएका छ ।
पहिरोका कारण जैमिनी नगरपालिका–८ छिस्ती जाने मुख्य सडक पनि अवरुद्ध भएको उपप्रमुख शर्माले जानकारी दिनुभयो ।