नेपालले गत ३०० वर्ष देखि युद्ध लड्नु परिरहेको छैन । नेपालको शत्रु देश कोहि छैन । माउबादीको १० वर्ष बाहेक गृहयुद्ध भोग्नु परेको छैन । खडेरी छैन । मरूभूमी छैन । ज्वालामूखीको केन्द्र छैन । महामारीको प्रकोप छैन ।
उब्जाउ जमीन छ । तीन थरिको मोेसम छ । हरेक किलोमिटरमा भोेगोलिक जैविक र वातावरणीय विविधता छ । हरियाली छ । हिमाल देखि तराइ सम्म मीठो पानी छ । ढुङ्गा छन्,माटो छ,बालुवा छ । झरना,खोला,नदी,नाला,बोट,बिरूवा,जडीबुटी,कन्दमूल,बन,जङ्गल, खेति,पाति सबै छ । नभएको केहि छैन । नागरिकहरूको लागि चारै चोरस सिमा खुल्ला छ । दुनियाँको कुनै पनि कुना पुग्न नागरिक स्वतन्त्र छ । त देश किन बनेन ? ३५ वर्षले खायो । काँग्रेस र कम्युनिष्टले सिध्याए । हैन त ? देशमा जे बनेको छ त्यसलाइ बनेको नमान्ने हो भने के बनाउने हो ? अब बनाउनु परेन ? लाटो सोझो मान्छेलाइ यो बनाउने हो भनेर भन्नु परेन ?
गत ३५ वर्षमा पूर्व,पश्चिम,उत्तर दक्षिण हरेक जिल्ला र गाउँ छिचोल्ने चिल्ला सडक सञ्जालले मान्छेलाइ पुगेन । घर गोठमा झल्झली बलेको बिजुलीले पुगेन । हात हातमा उपलव्ध दूर सञ्चारले मानिसलाइ पुगेन । मोबाइल,टेलिभिजन र ल्यापटपहरूमा पुगेको इण्टरनेटले पुगेन । गाउँ गाउँमा बजेटको टउवा बोकेर पुगेको पालिका सरकारले मानिसलाइ पुगेन । जुठेल्ना जुठेल्नामा बनेका पानी धाराले मानिसलाइ पुगेन । घर घरमा बनेका सफा चर्पीहरूले पुगेन । हरेक वडामा बनेका स्वास्थ्य चोेकी र अस्पतालहरूले पुगेन । टोल टोलमा प्राथमिक विध्यालय र वडा वडामा बनेका माध्यमिक र उच्च माध्यमिक विध्यालयहरूले पुगेन । भारत,गल्फ,मलेसिया,इज्रेल,जापान,कोरिया,अष्ट्रेलिया,युरोप र अमेरिकाले कमाउन पुगेन । बिदेशिएको छोराले सरदरमा ५ वर्षमा ठडाउने एउटा पक्की घरले पुगेन । ८० वर्षको सरदर आयू र ९० प्रतिशत साक्षरताले पुगेन ।
त देश बन्ने र मानिसलाइ पुग्ने के ले हो ? अब भन्नु परेन ? गर्नु परेन ? ३५ वर्षमा तिम्ले के नाप्यो र भनेर पुग्ने हो त ? त्यसैको लागि मास हिस्टरिया फैलाइएको हो ? बाटबाटै मान्छे समातेर थुनेर पुग्ने हो त नेपाली मान्छेलाइ ? ब्यवसायीलाइ धरपकड गरेर उध्योग धन्दा बन्द गराएर पुग्ने हो त ? गरीव सुकुम्वासीहरूलाइ उठिवास लाएर चोँधारा रूवाएर पुग्ने हो त ? देशै भरि डोजर चलाएर देश भत्काएर पुग्ने हो त ? यदि यिनै कामबाट जनतालाइ पुग्ने हो भने नेपाली जात बहूलायो ।
बनेकोलाइ नबनेको भन्ने र भत्केकोलाइ बनेको भन्ने मानिसलाइ बहूलाएकै त भन्नु पर्ला नि । हैन भने ३५ वर्षे अन्धाकारबाट उम्रँदै चम्केका सुकिला,मुकिला करोडपति युवा नेताहरूले देश बनाउने खाका ल्याउनु परेन ? ३५ वर्ष ठगिइयो भन्ने जनताले नयाँ रोडम्यापको माग गर्नु परेन ? गरीवलाइ उठिवास लाएर,घरवस्ति भत्काएर,उध्यमीलाइ थुनेर,राज्यका इन्स्टिच्युसनहरूलाइ थप्पराएर,मिडियाको मूख थुनेर,सँगठीत हुने हक खोसेर,प्रजातन्त्र ल्याउने नेताहरूलाइ झुट्टा मुद्दा लाएर त देश बिग्रन्छ । स्वतन्त्रता गुम्छ । प्रजातन्त्र मासिन्छ ।
म दोधारमा छु, गत ३५ वर्षमा चाकमा धेरै बोसो पलाएको त हैन नेपाली मान्छेलाइ ?
लेखक जैमिनी ४ सर्कुवा बागलुङका हुनुहुन्छ हालहाल बेल्जियम रहनुभएको छ ।