• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

धौलागिरि अस्पतालको ओपीडी बन्द भएपछि आकस्मिक कक्षमा भीड

  • २०८३ श्रावण १३, बुधबार


बागलुङ ।
चिकित्सकको आन्दोलनका कारण बागलुङको धौलागिरि अस्पतालको सेवा प्रभवित हुँदा सयौं बिरामीलाई मर्का परेको छ ।

बागलुङको धौलागिरि अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीको चाप आकश्मिक कक्षमा बढेकोे छ भने नियमित औषधी सेवन गर्ने बिरामीलाई समस्या भएको छ । अस्पतालमा दैनिकजसो आकश्मिक सेवामा बिरामीको चाप बढेको हो । मंगलबार १०३ जनाले आकश्मिक सेवा लिएकोमा बुधबार दिउँसो सम्म बढेर १३० जनाले सेवा लिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा मंगलबारदेखि नेपाल भरका ओपीडी सेवा बन्द भएपछि अस्पतालमा पुगेका बिरामी मर्कामा परेका छन् । नेपाल चिकित्सक संघले दोस्रोदिन समेत ओपीडी सेवा ठप्प पारेपछि विरामीलाई मर्का परेको छ । धौलागिरि अस्पतालको आकश्मिक कक्षमा बीरामीको संख्या ह्वातै बढेपछि चिकित्सकको संख्यामा समेत थप गरिएको छ ।

“अस्पतालमा आएका बिरामीलाई फर्काएका छैनौ, औषधी र नियमित चेकजाँचका बिरामीलाई पछि आउन भनेका छौं, उपचार गर्नुपर्ने बिरामीलाई फर्काएका छैनौ” पौडेलले भन्नुभयो “बिरामीको अवस्था बुझन अन्य चिकित्सक समेत आउनुभएको छ, आकश्मिक सेवामा कुनै कमी भएको छैन, ओपीडी सेवा बन्द भएपछि केही नियमित औषधी बिरामीको चापलाई मध्यनजर गर्दै आकश्मिक कक्षमा समेत चिकित्सक थपेका छौं भने आकश्मिक कक्षको माग अनुसार विशेषज्ञ चिकित्सक समेत पठाएका छौं ।”

गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उपचारमा संलग्न मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण भएको थियो ।

आन्दोलनका कारण धौलागिरि प्रादेशिक अस्पतालको ओपीडी सेवा बन्द हुँदा सयौँ बिरामी नियमित स्वास्थ्य सेवा लिनबाट प्रभावित भएका छन् ।

यता, वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्र भएको तोडफोडको घटनापछि आन्दोलन थप चर्किएको छ । सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत प्रभावित बनाएका छन् ।

धौलागिरि प्रादेशिक अस्पतालकी सूचना अधिकारी शान्ती पौडेलका अनुसार नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएको भन्दै ओपीडी सेवा बन्द गरिएको हो । यसैबीच बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पताल, गलकोट नगरअस्पताल लगायतमा समेत ओपीडी सेवा प्रभावित भएपछि निजी स्वास्थ्य संस्थामा बिरामी जानुपर्ने बाध्यता भएको छ ।

  • २०८३ श्रावण १३, बुधबार