बागलुङ / बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि राजस्व संकलनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन ‘सूत्र प्रणाली’मार्फत सेवा सञ्चालनमा ल्याएको छ। प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि राजस्व शाखाका कर्मचारी, वडा सचिव तथा कम्प्युटर अपरेटरहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।
अभिमुखीकरणमा सहजीकरण गर्दै पोखरा महानगरपालिकाका सूर्य पौडेलले सूत्र प्रणालीमार्फत करदाताले घरबाटै अनलाइन माध्यमबाट राजस्व बुझाउन सक्ने र संकलित रकम सिधै नगरपालिकाको खातामा जम्मा हुने जानकारी दिए। उनले महालेखा परीक्षकको कार्यालयबाट सिफारिस गरिएको लेखा प्रणाली भएकाले सरकारी कार्यालयहरूले यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रमको समापनमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सूत्र प्रणालीले करदातालाई सहज सेवा प्रदान गर्नुका साथै आर्थिक सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले करदाताको विवरणका आधारमा प्रणालीले तिर्नुपर्ने कर स्वचालित रूपमा गणना गरी कम्प्युटरकृत बिल जारी गर्ने, बैंक स्टेटमेन्ट तथा दैनिक हिसाब मिलानसमेत सहज र पारदर्शी हुने उल्लेख गरे।
उपप्रमुख खड्काले सूत्र प्रणालीलाई आम करदाताको पहुँचमा पुर्याउन तथा यसको उपयोगिता र विशेषताबारे नगरका सबै जनप्रतिनिधि र कर्मचारीले सक्रिय रूपमा जनचेतना फैलाउनुपर्नेमा जोड दिए।