बागलुङ । बागलुङमा असला माछामा प्रसिद्ध कमाएको खोला मध्ये एक हो जैमिनी नगरपालिकाको ठउलेखोला । बागलुङका स्थानीय खोलामा पाइने असला माछा लोप हुन थालेपछि स्थानीय सरकारले संरक्षणको योजना बनाएका छन् ।
बागलुङका स्थानीय खोलामा पाइने रैथाने असलामाछा हराउने चुनौती बढेपछि बागलुङमा एकपछि अर्को स्थानीय पालिकाले माछा मार्न कडाई गर्न थालेका छन् ।
बागलुङको गलकोट नगरपालिकाले तीन वर्ष यता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउदै आएको छ । गलकोटको दरमखोलामा पाइने असलामाछा देशभरमै प्रसिद्ध छ । गत वर्ष तराखोला गाउँपालिकाले समेत माछा मार्नमा कडाई गर्न थालेको थियो । ताराखोला गाउँपालिका र बागलुङका काठेखोला गाउँपालिकाले एक वर्ष अघिदेखि माछा मार्न कडाई गर्दै संरक्षणको नीति लियएको थियो । यसवर्षबाट बागलुङको जैमिनी नगरपालिकाले नगरपालिकाको ठेउले खोला लगायतका स्थानीय खोलामा तीन महिना माछा मार्न रोक लगाउदै माछा मार्न अनुमती चाहिने व्यवस्था गरेको छ ।
स्थानीय ठेउलेखोला, टिमुर खोला, कालुङ्खोला, चौरीखोला र लौवा लगायतका स्थानीय खोलामा पाइने असला माछा र अन्य स्थानीय जातका माछा संरक्षणसंगै स्थानीयलाई रोजगारी सृजना गर्नका लागि नगरसभाबाटै नीति तथा कार्यक्रम ल्याएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
“ठेउले खोलाको असला माछा निकै स्वादिष्ट मानिन्छ, रातीको समयमा माछामा विष हाल्ने तथा करेन्ट लगाएर सबै माछा मार्दा माछा उत्पादन घटेको पाइयो, नगरपालिकाले माछा मार्न इच्छुकलाई इजाजत दिएर प्रजनन अवधीबाहेकको समयमा आम्दानी बढाउन सघाउछ” शर्माले भन्नुभयो “माछाले फूल पार्ने तथा माछा उत्पादन गर्ने समयमा माछा मार्दा माछाको बासस्थाननै हराएर जाने र कालान्तरमा रैथाने जातको माछा नै फेला नपर्ने अवस्था आउन नदिन नगरपालिका सचेत रहेको छ, प्रहरीलाई समेत सक्रिय गराएका छौं ।”
खोलामा माछा मार्नुअघि अनिवार्य रूपमा अनुमति (इजाजत) लिनुपर्ने व्यवस्था लागू गरेको गरेको उहाँको भनाई छ । जलचर तथा जैविक विविधताको संरक्षण, दिगो उपयोग र माछा उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले नीति लिएको उहाँको भनाई छ ।
माछालाई परम्परागत शैलीमा मात्र मार्न पाइनेगरी नगरपालिकाले नीति लिएको हो । विद्युतीय उपकरण तथा विषादी हालेर माछा मार्न थालेपछि माछाको अस्तित्वनै संकटमा पर्ने भन्दै स्थानीयले पटक–पटक नगरपालिकाको ध्यानाकर्षण समेत गराउदै आएका थिए । स्थानीय पदम बहादुर श्रीसले जैमिनी नगरपालिकाका ठेउलेखोलामा पाइने असलामाछा चोरी सिकारीका कारण घट्न थालेको बताउनुभयो ।
उहाँले रातीमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको बताउदै संरक्षणमा पालिकाले ध्यान नदिए ठेउलेखोलाका असला माछाको पहिचाननै सकिने उहाँको भनाई छ । “एकरातमै २५ केजी माछा मारेर लैजानेगरी टाढा–टाढाबाट युवाहरु आएको पाइयो, ठेउलेखोलाको स्वादिष्ट असलामाछा सधैभरी चाख्न यहाँकै सथनीयले मार्ने र स्थानीय बजारबाटै बिक्री गर्ने व्यवस्थामा नगरपालिका अघि बढोस, माछा मार्न प्रतिबन्द लगाउने कार्य सह्रानीय छ”श्रीसले भन्नुभयो ।
करेन्ट लगाएर माछा मार्दा माछाको भु्रण समेत मर्ने भएकाले माछा लोप हुने अवस्थामा पुगेको श्रीसले गुनासो गर्नुभयो । जैमिनीको पहिचानको रुपमा स्थापित भइसकेको ठेउलेखोलाको असलामाछा जोगाउन सके स्थानीयलाई रोजगारीसंगै रेष्टुराँको परिकामा थप स्वाद आउने छ ।
नगरपालिकाले माछाको प्रजनन संरक्षणका लागि भदौ, असोज र कात्तिक महिनाभर माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको र यस अवधिमा माछा मार्ने, समात्ने वा अन्य कुनै गतिविधि गरेको पाइए कार्वाही गर्ने चेतावनी दिएको छ । गलकोट नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षमा माछा उत्पादनमा समेत वृद्धि भएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
पालिकाहरुले इजाजत नलिई जलचरको उपयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । जलचर संरक्षण तथा व्यवस्थापन अभियानमा स्थानीयले प्रहरीलाई खबर गरेर सहयोग गर्न समेत नगरपालिकाले ध्यानाकर्षण गराएको छ । माछालाई परम्परागत तरिकाले मात्रै मार्दै व्यावािसयक बनाउदै युवालाई स्वरोजगार गराउन समेत पालिकाले ध्यान दिएको हो ।