• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

सात महिनाको सम्झौता : दुई वर्षमा सकिएन बाङ्गेचौर–उपल्लाचौर सडक

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवार्ही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ । बागलुङ बजारको रामरेखादेखि उपल्लाचौर सम्मको जम्मा दुई किमि सडक दुई वर्षमा समेत सकिएको छैन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बाङ्गेचौर देखि उपल्लाचौर सम्मको दुई किमि सडक सात महिनामा सक्नेगरी सम्झौतामा भएकोमा दुई वर्ष वित्न लाग्दा समेत अझै सडक कालोपत्र भएको छैन ।

२ किलोमिटर १ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्नेगरी २०८१ फागुनमा २०८२ भदौ १५ गते सम्पन्न गर्नेगरी काम थालिएपनि ठेकेदारको ढिलासुस्तीले काम काम नसकिएको हो । दुई किमि सडक कालोपत्रका लागि दुई पटक म्याद थप्दासमेत सम्पन्न हुन नसकेको हो । सडक डिभिजन कार्यालय अन्तरगत ठेक्कामा लगाइएको उक्त सडकमा बेस र कालोपत्र गर्न अझै बाँकी ।

रु.६ करोड ७२ लाख ६५ हजारमा ठेक्का सम्झौता गरेर एच.सि.बि.जि.सी.एस. कम्पनीले काम गरेपनि अझै सम्पन्न गर्न नसकेको हो । २०८२ भदौ १५ मा काम नसकिएपछि पहिलोपटक २०८३ असार मसान्तसम्म म्याद थपिएकोमा उक्त समयमा समेत काम नसक्दा सरकारको खरिद संसोधन अन्र्तगत नै २०८३ असोज मसान्तसम्म म्याद थपिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

सडक निर्माणको दुई वर्ष बित्नैलाग्दा समेत ८० प्रतिशत भौतिक प्रगति रहेको छ । ‘‘तत्कालका लागि १२ मिटर चौडाको दुई लेन सडकमा नाली निर्माण, टेवा पर्खाल लगाउने र कल्भर्ट बनाउने र शबबेस बनाउने काम सकिएको छ, निर्माण व्यवसायीले विभिन्न समस्या देखाउदै काम गर्न ढिलाई गरेको छ, अब बेस र कालोपत्रको काम मात्रै बाँकी छ’’ इन्जिनियर लामिछानेले भन्नुभयो “निरन्तरको ताकेता भएपनि महङ्गी लगायतका कारण निर्माण व्यवसायीले काममा ढिलाई गरेको हो, वर्खामा कालोपत्र हुँदैन, असोज सम्म कालोपत्र सक्ला ।”

लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १ बोङेचौरको घुम्तीदेखि वडा नं. ४ उपल्लाचौरको जाल्पाचोकसम्मको सडक सडक डिभिजन अन्तरगत ठेक्काको काम भइरहेको हो । दुई लेन सडक कालोपत्र भएपछि बागलुङ बजारक्षेत्रको मुहार फेरिने विश्वास गरिएको छ ।

अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्र गरिने तयारी छ । अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्र गर्दा लामो समय टिकाउ हुने र वर्षेनी सडक मर्मत र खाडल पुर्नुपर्ने झन्झटबाट केही हदसम्म मुक्ति मिल्ने लामिछानेको भनाई छ ।

निर्माण कम्पनी एच.सि.बि.जि.सी.एस.का प्रतिनिधि सुरेश श्रेष्ठले बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको मृल्यवृद्विले कालोपत्रको काम गर्न नसकिएको बताउनुभयो ।
सडक संरचनाको सबै काम सकिएकोले थपिएको समयमा पर्याप्त मजदुर र उपकरण प्रयोग गरेर कालोपत्रको काम सम्पन्न हुने श्रेष्ठले बतानुभयो । सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिको काम रोकिएको थियो ।

लोकमार्ग विस्तार गर्दा घरघडेरी क्षति हुँदा उठिबास हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले संघर्ष समिति नै बनाएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार र कालोपत्रको काम हुन सकेको थिएन । सर्वाेच्चले बाङेचौरदेखि उपल्लाचौरको बुर्तिवाङ चोकसम्म १५ मिटर बाटो कायम गरिदिएपछि स्तरोन्नतिको काम अघि बढेको थियो । सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा असहज भइरहेको छ ।