बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लालाइ १÷१ लाख सहयोग गर्ने भएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि ताराखोला गाउँपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष धन बहादुर वि.क(हिमाल)ले जानकारी दिनुभयो । बुधबार बसेको ताराखोला गाउँपालिका कार्यपालिका बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
बैठकले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले कार्यपालिका बैठकले रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित विपद् व्यवस्थापन कोषमा प्रति जिल्ला रु. १ लाखका दरले कुल रु. २ लाख नगद राहत रकम जम्मा गर्ने निर्णय गरेको र जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत पठाइने प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले जानकारी दिनुभयो ।
प्राकृतिक विपद्का बेला मानवीय सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिकाले प्रभावित क्षेत्रमा राहत र उद्धार मा जुट्न अपिल समेत गरेको छ ।