बागलुङ । बागलुङमा गाइजात्रा अवसरमा लोपन्मुख सस्कृतिको रुपमा देखाइने बास्सा नाच देखाइएको छ । गाईजात्राको अवसरमा एक वर्षभित्र दिवंगत भएका सात जनाको सम्झनामा ताया :मचानिकालिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शनिबारदेखि सुरु भएको हो ।
राम, सीता, लक्ष्मण, कृष्ण, राधा र हुनमान लगायतको भेषमा सजिएको शोभायात्रा । बागलुङमा संरक्षित बास्सा नाच प्रदर्शन गर्न अन्य नाचजस्तो सरल र सहज छैन । तर वर्षेनी गाइजात्राको दिन बास्सा नाच देखाइने गरिएको छ ।
कलाकारलाई तालिम, भेषभूषा, नृत्य तथा गीत रचनाका लागि निकै खर्च लाग्ने बास्सा नाच बागलुङका नेवार समुदायले भने जोगाएर राखेका छन् । झण्डै सय वर्ष पुरानो नाच सदस्यको देहान्तमा शोकमा डुबेकालाई मुक्ति दिलाउन गाइजात्राको दिन निकाल्ने एउटा फरक संस्कृतिको रुपमा रहेको छ । बास्सा नाच अन्यत्र हराइसके पनि बागलुङमा संरक्षण गरेर राखिएको छ ।
बास्सा नाच लोप हुन सक्ने भन्दै बास्सा नाचलाई संस्थागत समेत गरेर राधाकृष्ण मन्दिर परिसरबाट ६ वर्ष यता बास्सा नाच निकाल्न थालिएको छ । एक वर्षभित्र मृतकको परिवारको घरबाट शोकलाई शक्तिमा बदल्न निकाल्ने बास्सा नाच अहिले सामूहिक रुपमा निकाल्न थालिएको छ ।
खर्च गर्न सक्ने परिवारले छुट्टै बास्सा नाच समेत देखाउन सक्नेछन् । जयराम भारीका अनुसार खर्चिलो नाच भएकाले एउटै परिवारले बास्सा नाच देखाउन नसक्दा पाँच वर्ष यता मन्दिरबाट सामूहिक रुपमा बास्सा नाच देखाउने गरिएको बताउनुभयो ।स्थानीय काजी गाउँले श्रेष्ठले बास्सा नाच धनाढ्यले मात्र निकाल्न सक्ने नाच भएकाले संरक्षणका लागि संस्थागत गर्दा नाचले निरन्तरता पाएको बताउनुहुन्छ ।
“नेवारी समुदायको एउटै आयस्तर छैन, सक्नेले मात्र निकाल्ने परम्पराले नाचको निरन्तरता भएन, कहिले पाँच वर्षमा त कहिले नौ वर्षमा मात्रै नाच प्रदर्शनमा आयो, मृतकको नाममा गीत लेखेर, कलाकारलाई तालिम दिएर, विभिन्न भगवानको भेषमा उतार्नु निकै चुनौतीपूर्ण हो” श्रेष्ठले भन्नुभयो “सक्ने परिवारले छुट्टै बास्सा नाच देखाउन सक्ने भयो, आफ्ना सदस्यको नाममा, तर संस्थागत रुपमा एउटै बास्सा नाच देखाउन ६ वर्षदेखि निरन्तर भएको छ ।”

दिवंगतको जीवनगाथालाई समेटिएर गीत समेत सृजना गर्ने परम्परा बास्सा नाचमा छ । नेवारी समुदायमा गाईजात्राका दिन वर्ष दिनभित्र दिवंगत भएका व्यक्तिको घरबाट बास्सा नाच निकाल्ने परम्परा हराउन थालेपछि संस्थागत रुपमा निकाल्न थालिएको हो ।
राजा प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीलाई शोकबाट बाहिर ल्याउन बास्सा नाचको चलन बसालेको र स्थानीय नेवार समुदायले संस्कृतिको रुपमा संरक्षण गरेको स्थानीय नेवार समुदायका बुढापाका प्रेम छोटो बताउनुभयो ।
बागलुङमा पहिलो पटक विसं १९८३ मा बास्सा नाच देखाइएको थियो । त्यसयता उक्त नाच र परम्परा संरक्षण गरेर राखिएको छ । नेवारी संस्कृतिमा ऐतिहासिक महत्व राख्ने उक्त नाचमा राम,कृष्ण र विष्णुलीला झल्काउने शोभायात्रा पनि गर्ने गरिन्छ । कलाकारलाई राम, सीता, लक्ष्मण, कृष्ण, राधा, हुनमानलगायत भगवानको भेषमा सजाएर शोभायात्रा निकालिएको जयरा मभारीले जानकारी दिनुभयो । विसं १९८३ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि नारायणचोकबाट तायाः मचा निकालेर बजार परिक्रमा गराउने परम्परा सुरु भएको हो ।