बागलुङ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि बागलुङबाट राहत सामग्री पठाउने तयारी थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकले राहत संकलन तथा वितरण समिति गठन गरी जिल्लाबाट एकीकृत रूपमा खाद्यान्न र लत्ताकपडासहित अत्यावश्यक राहत सामग्री पठाउन संकलन कार्य थालिएको हो ।
उद्योगी, व्यवसायी, बैंकर्स, राजनीतिक दल, होटल व्यवसायी, गैरसरकारी संस्था र यातायात व्यवसायीलगायतले आफ्नो संस्थाबाट जिन्सी राहत संकलन गरी बागलुङ उद्योग वाणिज्य संघमा जम्मा गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत धादिङको बैरेनी पठाउने तयारी गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजनमा बसेको बैठकले बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको संयोजकत्वमा १० सदस्यीय राहत संकलन तथा वितरण समिति गठन गरेको छ ।
समितिको सदस्यमा यातायात व्यवसायीबाट उमेश केसी, पत्रकार महासंघबाट खेमराज गौतम, गैरसरकारी संस्थाबाट शालिकराम शर्मा, बैंकर्सबाट श्रीजय श्रेष्ठ, औषधि व्यवसायीबाट खगेश्वर पौडेल, रेडक्रसबाट राजेन्द्र आचार्य, होटल व्यवसायीबाट ललिता थापा, प्रहरीबाट यमनारायण अर्याल र जिल्ला प्रशासन कार्यालयबाट खिमबहादुर विक रहनुभएको छ ।

समितिले दुई दिनभित्र एक ट्रक खाद्यान्नसहित लत्ताकपडा संकलन गरी पठाउने निर्णय गरेको संयोजक शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार ४०० बोरा चामल, १०० कार्टुन तेलसहित दाल, सोयाबिन, दालमोट, भुटेको मकै लगायतका तयारी खाद्य सामग्री र आवश्यक लत्ताकपडा संकलन गरी उद्योग वाणिज्य संघमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा राहत सामग्री बैरेनी पठाइनेछ ।
