बागलुङ । ठेकेदार मार्फत सडक मर्मत गर्दै आएको बागलुङ नगरपालिकाले आफ्नै स्रोत तथा साधनमा सडक मर्मत थालेको हो । बागलुङ नगरपालिकाको आपतकालिन शाखाले पहिलोपटक कालोपत्र सडक टाल्ने र खाल्टा पुर्ने काम थालेको छ । यस अघि सम्म निर्माण व्यवसायीसंग सम्झौता गरेर कालोपत्र सडक मर्मत तथा खाल्टाखुल्टी पुर्दै आएको नगरपालिकाले आफै उपकरण तथा कच्चा सामाग्री खरिद गरेर सडकका खाल्टा–खुल्टी टाल्न थालेको हो । नगरपालिकाले बागलुङ बजारलाई खाल्टा खुल्टी मुक्त बनाउने अभियान ठेकेदार मार्फत पुरा नभएको, ठेक्का प्रकृया लामो भएको र ठेकेदारले ढिला गरी काम गर्न थालेकाले नगरपालिका आफैले दैनिक खाल्टा खुल्टी टाल्दै आएको छ ।
नगरपालिकाको आपत्कालिन शाखा मार्फत नगरपालिकामा भएका मौजुदा उपकरणको सहयोग तथा सहायताको सहयोगमा नयाँ उपकरण (रोलर) खरिद गरेर कालोपत्रको काम धमाधम भइरहेको छ । बागलुङ नगरपालिकाले बजार क्षेत्रभित्रका पिच सडकमा रहेका खाल्डाखुल्डी पुर्ने (प्याचिङ) कार्य सुरु गरिरहेको छ । एक महिना यता बागलुङ बजारको टेलिकम चोक,अस्पताल रोड, पुरानो सिनेमा रोड, जिल्ला प्रशासन कार्यालय परिसर र उच्च अदालत अघिको सडकका खाल्टाखुल्टी कालोपत्र गरेर टालिएको आपत्कालिन शाखा प्रमुख दिनेश जिसीले जानकारी दिनुभयो । घाम लाग्दाको दिन उक्त खाल्टा पर्ने अभियानले निरन्तरता पाएको छ ।
शाखाले आफ्नै जनशक्ति, उपलब्ध स्रोतसाधन तथा आफ्नै सीपको प्रयोग गरी सडक मर्मतको काम अघि बढाएको हो । लामो समयदेखि खाल्डाखुल्डीका कारण सवारी आवागमनमा समस्या भोगिरहेका सर्वसाधारणका लागि यो कार्यले केही राहत पुग्ने अपेक्षा गरिएको छ । सडक खाल्टाखुल्टी मुक्त गर्न नगरपालिकाले पटक–पटक ठेक्का लगाएपनि निर्माण व्यवसायीले साना खाल्टा टाल्न नसेपछि नगरपालिका आफै अग्रसर भएको हो ।
नियमित मर्मत–सम्भारले सडकलाई सुरक्षित बनाउनुका साथै सवारी दुर्घटनाको जोखिम समेत न्यूनीकरण हुने विश्वास गरिएको जिसीको भनाई छ ।
“नगरपालिकाले पाँच लाख लागतमा रोलर खरिद गरेको र आवश्यक बिटुमिन, चिप्स तथा बालुवा खरिद गरेर काम भइरहेको छ” जिसीले भन्नुभयो “असारको मात्र काम नभएर १२ महिनै खाल्टा–खुल्टी पर्दासात खाल्टामा पीच टालेर सडकलाई सहज बनाउन आफै लगानी गरेर अघि बढेको छ ।” ठेकेदारले असारमा मात्रै खाल्टा– खुल्टी टाल्दा अघिपछि समस्या पर्ने र सानो खाल्टा टाल्न ठेक्कामा जान नसक्ने र प्रकृया लामो भएकाले समस्या भएकाले उपकरण खरिद गरेर पीच टाल्ने काम थालिएको हो ।
ढिलो भए पनि नगरपालिकाले सडक मर्मतलाई प्राथमिकता दिँदै सुरु गरेको यो कामलाई सकारात्मक लिइएको स्थानीय रुद्र महतले बताउनुभयो । महतले सडक मर्मत कार्यलाई अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी ढंगले निरन्तरता दिन नगरपालिकासँग आग्रह गर्नुभएको छ । नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सानो लगानीमा सडकको करोडौको क्षति कम गर्न आफै पिच टाल्न थालिएको बताउनुभयो । “खाल्टा टाल्न तथा सडक मर्मत गर्न ठेक्का लगाइन्छ, ठेकेदारले काम गर्ने समय भित्र अन्यत्र समेत खाल्टाखुल्टी परिसक्छन्, करोडमा गरेको पीच एउटै खाल्टाले समस्या पारेको हुन्छ” श्रेष्ठले भन्नुभयो “पूर्वाधार एम्बुलेन्स मार्फत आफ्नै ट्याक्टरमा सामाग्री लिएर खाल्टा पिच गर्दै रोलर लगाउदा अन्य सडकको क्षति कम भएर जान्छ ।”