बागलुङ । बागलुङ नगरपालिकाले ग्रामिण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले महिलाहरु तरकारी खेतीमा अग्रसर भएका छन् । बागलुङ नगरपालिकाका १० वडामा सञ्चालित ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत महिलाहरुले ११२ रोपनी जग्गामा प्लाष्टिक टनेल तथा खुल्ला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन् । उनिहरुले गत आर्थिक वर्षमा रु. ३० लाखको तरकारी उत्पादन गरी बजारीकरण समेत गर्न सफल भएका हुन् ।
बागलुङ नगरपालिका, हेफर परियोजना नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रम अन्र्तगत महिला किसानले ११२ रोपनी क्षेत्रफलमा तरकारी खेती गरी ६५ हजार ६६ किलो तरकारी उत्पादन गर्न सफल भएका हुन् । उत्पादनको बिक्रीबाट रु. ३० लाख पाँच हजार आम्दानी भएको परियोजना म्यानेजर ममिता पुनले जानकारी दिनुभयो ।
पुनका अनुसार बागलुङ नगरपालिकाका–५ देखि १४ नम्बर वडा सम्मको ७१ वटा तरकारी महिला समूह गठन भएका छन् । समूहमा एक हजार ७४३ घरधुरी आबद्ध रहेको र उनिहरु तरकारी खेतीमा लागेका हुन् । “नगरपालिकाको आर्थिक सहयोगमा परियोजनाको मुख्य उद्देश्य विपन्न, दलित तथा जनजातिसहितका परिवारलाई स्वावलम्बी समूहमा आबद्ध गराई कृषि तथा पशुपालनमार्फत आयआर्जन बढाउनु रहेको छ” पुनले भन्नुभयो “७१ महिला समूहले प्लाष्टिक टनेलमार्फत तरकारी खेतीका लागि अनुदान दिइएको हो, उनिहरुलाई बिउँ विजनदेखि कृषि उपकरण सहयोग गरी बचत गर्ने बानीको विकास गरिएको छ ।”
परियोजनाले तरकारी उत्पादन तथा जलवायुमैत्री पशु व्यवस्थापन तालिम, प्लास्टिक पोखरी सहयोग, समूह व्यवस्थापन तथा सहकारी सुशासनसम्बन्धी तालिम, कृषि उपकरण तथा मिनिटेलर सहयोग, मासु व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । बानपा–१२ का ३० महिलाहरु परियोजना अन्र्तगत तरकारी खेती, बाख्रापालनमा सहभागी भएको बागलुङ नगरपालिका–१२ तल्लो सराङ्गीका सर्मिला आचार्यले बताउनुभयो ।
परियोजनाअन्तर्गत हालसम्म ३६१ वटा बाख्रा तथा बोका वितरण गरिएको छ । जसमा ६१ वटा बिऊ बोका र ३०० वटा बिऊ पाठी रहेका छन् । विभिन्न वर्षमा वितरण गरिएका पशुबाट हालसम्म ३६१ वटा उत्पादन भएको तथा बोका सेवाबाट रु. आठ लाख ३९ हजार ९५० र बिक्रीबाट रु. १५ लाख २९ हजार आम्दानी भएको छ ।
त्यस्तै, किसानलाई वातावरणमैत्री खोर निर्माण, पशु बीमा, उन्नत बिऊ, मल्चिङ प्लास्टिक तथा विभिन्न प्राविधिक तालिममा सहयोग गरिएको छ । परियोजनाअन्तर्गत पाँच वटा आधारशिला तालिममा १२८ जना, सात वटा जलवायुमैत्री पशु व्यवस्थापन तालिममा १४० जना र दुई वटा तरकारी उत्पादन तालिममा ५५ जना सहभागी भएका छन् ।
समूहमा आबद्ध किसानले बचत तथा ऋण परिचालनसमेत गर्न थालेका छन् । समूहको बचत रु. १२ लाख ८४ हजार ३८७ पुगेको छ भने रु. ११ लाख ६१ हजार १३० ऋण लगानी भएको परियोजनाले जनाएको छ । ऋण मुख्यगरी कुखुराका चल्ला तथा दाना खरिद र किराना पसल सञ्चालनमा लगानी गरिएको छ । बागलुङ नगरपालिकाले आत्मनिर्भर बागलुङ कार्यक्रमलाई कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि, व्यवसायीकरण र किसानको आयआर्जनसँग जोडेर निरन्तरता दिँदै आएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।