एक वर्षअघि भदौ २३ र २४ गते नेपाली सडकमा जे भयो, त्यो एउटा सरकार ढलेको घटना मात्र थिएन । त्यो पुरानो राजनीतिक संस्कारप्रति नयाँ पुस्ताले गरेको कठोर प्रश्न थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्कालीन चिंगारी थियो, तर असन्तुष्टिको बारुद वर्षौंदेखि थुप्रिएको थियो । भ्रष्टाचार, नातावाद, कृपावाद, बेरोजगारी, राजनीतिक अस्थिरता, कमजोर सार्वजनिक सेवा र पहुँचवालाको राज्यप्रति युवाहरूको आक्रोश त्यसै दिन सडकमा विस्फोट भएको थियो । त्यसैले जेनजी आन्दोलनलाई केवल सामाजिक सञ्जाल बन्दको प्रतिक्रिया मान्नु यसको गहिराइलाई बुझ्न नसक्नु हो । यो एउटा पुस्ताको प्रश्न थियो, हामीले कस्तो नेपाल पाउँदैछौँ र कस्तो नेपालमा बाँच्न चाहन्छौँ ? एक वर्षमा नेपालले ठूलो राजनीतिक परिवर्तन देखिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । अन्तरिम सरकार बन्यो । प्रतिनिधिसभा विघटन भयो । निर्वाचन भयो । नयाँ राजनीतिक शक्ति अत्यधिक बहुमतसहित सत्ताको केन्द्रमा पुग्यो । आन्दोलनकै अग्रपंक्तिमा देखिएका केही युवा आज सांसद, मन्त्री र सत्ताका विभिन्न तहमा छन् । हिजो सडकमा रहेका केहीले शासन गर्ने अवसर पाएका छन् । केही अझै सडकमा छन् र सत्तालाई प्रश्न गरिरहेका छन् । यहीँबाट जेनजी आन्दोलनको वास्तविक परीक्षा सुरु भएको छ ।
आन्दोलनले सत्ता बदल्यो, तर के शासन गर्ने संस्कार बदलियो ? यो प्रश्न असहज हुन सक्छ, तर यही प्रश्नबाट भागेर जेनजीको सम्मान हुन सक्दैन । हिजो पुराना दललाई प्रश्न गर्नेहरू आज आफैँ प्रश्नको घेरामा छन् । हिजो अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र जवाफदेहिताको माग गर्नेहरू आज आलोचना सुन्न कति तयार छन् ? हिजो सत्ताको दम्भविरुद्ध सडकमा उभिनेहरू आज सत्ताको सुविधासँगै त्यही दम्भको शिकार त भइरहेका छैनन् ? जेनजी दिवसकै कार्यक्रममा सत्तारूढ पक्षकी सचेतक क्रान्तिशिखा धितालले उठाएको प्रश्नलाई सामान्य असन्तुष्टि भनेर पन्छाउन मिल्दैन । आफ्नै आलोचकलाई धम्की र चेतावनी दिने प्रवृत्ति बढेको हो भने प्रश्न उठ्छ, हिजो जसका लागि सडकमा उत्रिएको हो, आज त्यही अधिकारलाई कमजोर पार्ने काम त भइरहेको छैन ?
सत्ता परिवर्तनको सबैभन्दा ठूलो खतरा यही हो, हिजो सत्ताविरुद्ध उठेको आवाज भोलि आफैँ सत्ता बनेपछि आफ्नै विरुद्धको आवाज सहन नसक्ने अवस्थामा पुग्नु । जेनजी आन्दोलनको शक्ति कुनै एक व्यक्ति, संगठन वा दलमा थिएन । यो स्वतःस्फूर्त असन्तुष्टिको विस्फोट थियो । त्यसैले यसको श्रेय कसैले आफ्नो निजी राजनीतिक सम्पत्ति बनाउन खोज्नु हुँदैन । आन्दोलनका नाममा सांसद बन्नु, मन्त्री बन्नु वा सत्ता प्राप्त गर्नु उपलब्धि हुन सक्छ; तर आन्दोलनको मर्म जोगाउनु त्योभन्दा ठूलो जिम्मेवारी हो ।
अझै एउटा महत्वपूर्ण प्रश्न २३ र २४ भदौको घटनासँग जोडिएको छ । २३ गते शान्तिपूर्ण प्रदर्शनमा राज्यले गोली चलायो । मानवीय क्षति भयो । त्यसपछि २४ गते आन्दोलन उग्र भयो । आगजनी, तोडफोड र सार्वजनिक सम्पत्तिको विनाश भयो । यी दुवै घटनालाई निष्पक्ष ढंगले हेर्नुपर्छ । राज्यको बल प्रयोगलाई आन्दोलनको हिंसाले सही बनाउन सक्दैन । आन्दोलनको हिंसालाई राज्यको दमनले वैध बनाउन सक्दैन । दुवै दिनको सत्य बाहिर आउनुपर्छ । गोली चलाउने आदेश कसले दियो ? राज्यले आवश्यकभन्दा बढी बल प्रयोग ग¥यो कि गरेन ? २४ गतेको हिंसा कसरी फैलियो ? आन्दोलनमा घुसपैठ भयो कि भएन ? भयो भने कसले ग¥यो ? सार्वजनिक संरचना कसरी जलाइयो ? यी प्रश्नको जवाफ नदिई इतिहास पूरा हुँदैन । आयोग गठन गरेर प्रतिवेदन तयार गर्नु मात्रै न्याय होइन । प्रतिवेदन कार्यान्वयन गर्नु न्यायको सुरुवात हो । शहीद परिवारले माला र भाषण होइन, न्याय खोजिरहेका छन् । घाइतेहरूले सहानुभूति होइन, उपचार, सम्मान र राज्यको जिम्मेवारी खोजिरहेका छन् । एक वर्षपछि पनि जेनजीले प्रश्न गरिरहेको छ, भ्रष्टाचार कति घट्यो ? सरकारी सेवा कति सहज भयो ? राजनीतिक नियुक्तिमा योग्यता स्थापित भयो कि पहुँच ? सार्वजनिक खरिद पारदर्शी भयो कि भएन ? युवाका लागि रोजगारी कति सिर्जना भयो ? विदेश पलायन रोकियो कि अझ बढ्यो ? राज्यको पहुँचबाट टाढा रहेका कर्णाली, सुदूरपश्चिम र अन्य भूगोलका घाइते तथा पीडितले न्याय पाए कि पाएनन् ? यी प्रश्नको उत्तर सामाजिक सञ्जालका प्रचार सामग्रीले होइन, सरकारको कामले दिनुपर्छ ।
जेनजीले देशमा रोजगारी चाहेको थियो । सामान्य नागरिकले राज्यका कार्यालयमा जाँदा सम्मान चाहेको थियो। गरिबले कर तिरेर पनि राज्यबाट सेवा चाहेको थियो । योग्य युवाले अवसरका लागि नेताको ढोका धाउन नपरोस् भन्ने चाहेको थियो । भ्रष्टाचार गर्नेले राजनीतिक संरक्षण नपाओस् भन्ने चाहेको थियो । यही सामान्य माग पूरा गर्न नसक्ने हो भने नयाँ अनुहारको सरकार र पुरानो सरकारबीचको अन्तर आखिर कहाँ रहन्छ ? मन्त्रालयमा युवा देखिनु मात्र परिवर्तन होइन । संसद्मा नयाँ अनुहार आउनु मात्र परिवर्तन होइन । सरकारको नेतृत्व परिवर्तन हुनु पनि आफैँमा परिवर्तन होइन । नागरिकको जीवन बदलिनु परिवर्तन हो । भ्रष्टाचारमा सम्झौता नहुनु परिवर्तन हो । योग्यताले अवसर पाउनु परिवर्तन हो । युवाले विदेश जानुलाई बाध्यता होइन, विकल्पका रूपमा हेर्न सक्ने अवस्था बन्नु परिवर्तन हो । सरकारसँग प्रश्न गर्दा धम्की होइन, उत्तर पाउनु परिवर्तन हो । राज्य सबैको हो भन्ने अनुभूति हुनु परिवर्तन हो ।
जेनजी आन्दोलनको अर्को महत्वपूर्ण पाठ हो, सरकार ढाल्नु सजिलो छ, राज्य बदल्नु कठिन छ । नेपालले २००७ सालदेखि अहिलेसम्म अनेकौँ राजनीतिक आन्दोलन देख्यो । व्यवस्था बदलियो, संविधान बदलियो, सरकार बदलियो, नेतृत्व बदलियो । तर नागरिकले खोजेको सुशासन, स्थिरता र न्याय अझै पूर्ण रूपमा प्राप्त गर्न सकेका छैनन् । पुरानो पुस्ताले व्यवस्था परिवर्तनको नेतृत्व ग¥यो; नयाँ पुस्ताले अब शासनको संस्कार परिवर्तनको माग गरेको छ । त्यसैले जेनजी दिवसमा शहीदको तस्वीरमा माला लगाउनु पर्याप्त छैन । उनीहरूको रगतलाई राजनीतिक वैधताको प्रमाणपत्र बनाउनु पनि पर्याप्त छैन । उनीहरूले उठाएका प्रश्नको जवाफ दिनु नै उनीहरूप्रतिको वास्तविक सम्मान हो । आज सडकमा रहेका जेनजी र सत्तामा रहेका जेनजी दुवैलाई एउटा कुरा सम्झन आवश्यक छ, आन्दोलन कुनै व्यक्तिलाई सत्ता दिनका लागि मात्र भएको थिएन । यो राज्यलाई नागरिकप्रति जवाफदेही बनाउन भएको थियो । यदि सत्तामा पुगेपछि आलोचना असह्य हुन्छ, प्रश्न गर्नेहरूलाई धम्की दिइन्छ, नियुक्तिमा योग्यता हराउँछ, भ्रष्टाचारमा सम्झौता हुन्छ र युवाको भविष्य फेरि विदेशको विमानस्थलमा खोज्नुपर्ने अवस्था रहन्छ भने जेनजी आन्दोलनको आत्मा सत्ताकै गल्लीमा हराएको मानिनेछ । एक वर्षअघि सडकमा एउटा प्रश्न जन्मिएको थियो । आज त्यो प्रश्न सत्ताको ढोकामा उभिएको छ, सत्ता फेरियो, अब संस्कार कहिले फेरिन्छ ? जेनजीको रगतले सरकार परिवर्तन ग¥यो । अब त्यही रगतको मूल्य तिर्ने जिम्मेवारी सत्ताको हो । इतिहासले सरकारको नाम होइन, त्यो सरकारले नागरिकका प्रश्नको कति इमानदार उत्तर दियो भन्ने कुरा सम्झिनेछ ।